लोकमान मास्केको ‘मनभित्रको हलचल’ सर्सरी नियाल्दा

लोकमान मास्केको ‘मनभित्रको हलचल’ सर्सरी नियाल्दा


संखुवासभाको खाँदबारीमा जन्मनुभएका लोकमान मास्के नेपाल विद्युत प्राधिकरणको उच्च तहसम्म पुगेर अवकासको जीवनमा विगतका अनुभवहरूलाई सँगालेर कविता कोर्न तल्लीन हुनुहुन्छ । कवि मास्केले यसअघि ‘क्रेडिक कार्डको जिन्दगी’ र ‘मनमा नअटेका कुरा’ कविता संग्रह प्रकाशन गरिसक्नुभएको छ भने कविता सिर्जनाकै क्रममा उहाँको नयाँ कृति ‘मनभित्रको हलचल’ (कविता संग्रह) हालै प्रकाशनमा आएको छ ।

जागिरे जीवनबाट अवकाश पाएपछि एकपछि अर्को कविताका पुस्कत-कृतिहरू प्रकाशित गर्दै जाने लक्ष्य लिनुभएका कवि÷साहित्यकार मास्केले हालैमात्र ‘मनभित्रको हलचल’ प्रकाशनमा ल्याउनुभएको हो । खास गरेर विगतदेखि नै देखापर्दै आएको विकृति/विसंगति र भ्रष्टाचारप्रति उहाँले आफ्ना कवितामार्फत कसिलो प्रहार गर्नुभएको छ । उदाहरणका लागि एक कविताको अंश हेरौँ-
‘सबै कार्यालयमा सुन्दर नागरिक बडापत्र टाँगिएको छ,
त्यसकै अगाडि भ्रष्टाचार मुसुमुसु हाँसिरहन्छ !’

आफ्ना कवितामा कवि मास्केले भोगेका दुःख-सुख, पीडा, हर्ष जस्ता अनुभूतिलाई सरल तथा साहित्यिक भाषामा व्यक्त गर्नुभएको छ । साथै उहाँले आफ्नो जन्मभूमिका गाउँठाउँ, परिवेश, ऐतिहासिक स्थल आदिको सम्झना पनि कवितामा पस्कनुभएको छ ।

सामाजिक तथा राजनीतिक बेथितिप्रति प्रहार गर्न पनि कवि चुक्नुभएको छैन । ‘जेलजीवनको लाभांश’ शीर्षकको कविताको एउटा अंश हेरौँ-
‘राजनैतिक झगडियाहरू
देशको बागडोर आफ्नै बिर्ता झैँ
मोहियानी हक झैँ,
आफैमात्र देश विकासको ठेकेदार भइरहने
अरुलाई केही दिन पनि देशविकासको ठेकेदार हुन नदिने
शासन गर्ने तर शासित हुन नचाहने
जेलजीवनको लाभांश खोजिरहेछन् !’

कविता संग्रहभित्रको ‘अर्थहीन भावना’ शीर्षकमा कवि कसरी भइन्छ र कविता कसरी लेखिन्छ भन्ने कुरा यसरी कवि मास्केले यसरी व्यक्त गर्नुभएको छ –
‘न त जून हेरेर कविता फुर्छ
न त तारा हेरेर नै !
हिमाल देखेर पनि कविता लेख्न आउँदोरहेनछ
कविता त आफूभित्र आफै पो जन्मिँदोरहेछ !’

यसरी नै कवि मास्केले ‘आनन्द’ शीर्षकको कवितामा आनन्दको परिभाषा राम्ररी पोख्नुभएको छ, हेरौँ-
‘उसलाई अरुलाई खुवाउनमा आनन्द
मलाई मैले मात्रै खानुमा आनन्द !
उसलाई दिनुमा आनन्द
मलाई लिनुमा आनन्द !
कस्तो आनन्द हो यो ?
एउटै कुराको फरक-फरक आनन्द !’

भ्रष्टाचारका प्रायः चर्चित काण्डहरूप्रति पनि कवितामार्फत आवाज आउन पछि नपर्ने कवि मास्केले पछिल्लो चरणमा सामाजिक सञ्जालको प्रयोगले पैदा गरेको विकराल परिवेशप्रति पनि चिन्ता प्रकट गरेका छन् । ‘अनलाइनको जिन्दगी’ नामक शीर्षकको एक अंशमा ‘यो अनलाइनको बढ्दो प्रयोग/उपयोगले हाम्रो सामाजिक सद्भाव, भेटघाट वा सामिप्यतालाई कहाँ पु¥यायो’ भनी उहाँले कवितामार्फत् यसरी दुःखेसो पस्कनुभएको छ-
‘सामाजिक जीवन अनलाइनमय बन्दै गयो
भौतिक भेटघाट कम हुँदै गयो
हाटबजार किनमेल हराउने भयो
छरछिमेकको सामिप्यता पनि पर-पर हुने भयो
अब त जीवन अनलाइनमय पो हुने भयो !’

‘मनभित्रको हलचल’मा कवि मास्केले ३९ वटा कविताको संग्रह गर्नुभएको छ । एकपछि अर्को पढ्दै जाँदा नसकिन्जेल छोड्न मन नलाग्ने ! समाजमा हामीले देखेका, भोगेका, सुनेका सबै प्रकारका पीडा, यातना अनि राजनीति, समाज, देश कता गइरहेको छ, चल्तापुर्जा व्यक्तिहरू कसरी फस्टाइरहेका छन् र निमुखा-निरीह जनता कसरी पीडित भइरहेका छन् भन्ने यथार्थ चित्रण यस पुस्तकमा समेटिएका कवितामा पाइन्छ । पुस्तक पठनीय छ, यसका लागि लेखक मास्केलाई बधाई र सधुवाद भन्नैपर्छ ।

  • भरत कोइराला