शिक्षालाई यसरी ध्वस्त पारिँदैछ !

शिक्षालाई यसरी ध्वस्त पारिँदैछ !


राष्ट्र तथा समाजको जग, शिक्षा जस्तो अत्यन्त महत्वपूर्ण क्षेत्रलाई समेत भ्रष्टाचार र अनियमितताले खोक्रो बनाउँदै छ, खुलेआम, बेरोकटोक । जिम्मेवार निकायहरूले यो थाहा नपाएका हुन् भन्न सकिन्न, यो खुला रहश्य सबैलाई थाहा छ । मिलेमितो त होइन ? शंका गर्नुपर्ने अवस्था छ ।

ध्वस्त बनाइँदै गरेको सार्वजनिक शिक्षाप्रति चिन्तित तर सिङ्गो भ्रष्ट समाजसँग सोझै भिड्न नसक्ने एउटा नागरिक, प्राध्यापक म । त्यसैले छद्मरूपमा ‘उजुरी’ दिएँ शिक्षा मन्त्रालय, शिक्षा मन्त्री, विभाग, विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग लगायत लगभग सबै सरोकारवालालाई । उहाँहरूले ‘केही’ गर्नुहुन्छ कि भन्ने झिनो आशा थियो । महिनौँ बित्दा पनि कुनै प्रतिक्रिया समेत देखिएन । त्यसैले ‘मिडिया’लाई प्रभावकारी उपाय ठानेर शिक्षामा भैरहेका मनपरीका केही उदाहरण, नमूनासहित यो मेल लेखेँ । राष्ट्र तथा समाजप्रति जिम्मेवार ‘चौथो अङ्ग’ले केही त गर्ला भन्ने आशा छ ।

यस्तो गरिँदैछ शिक्षामा-

१. एउटा क्याम्पसमा विद्यार्थी भर्ना गर्ने, अन्यत्रै पढाइने ! सके पढाउँदै नपढाउने । भर्नालगायत शुल्क बाँडिचुँडी खाने ।

२. यसरी भर्ना भएकाको अभिलेखसहित, विद्यार्थी संख्या धेरै देखाएर विश्वविद्यालय अनुदान आयोग, सरकारका विभिन्न निकाय, दातृसंस्था आदिबाट वार्षिक दशौँ लाख रूपिञा अनुदान, छात्रवृत्ति आदि लिएर कागज बनाएर आपसमा ‘मिलाउने’ ।

३. मधेशको कुनै एउटा निजी क्याम्पसमा ताप्लेजुङदेखि दार्चुलासम्मका विद्यार्थी भर्ना हुने, धेरै हजार । वहालवाला कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत एकै समयमा क्याम्पसमा उपस्थित भएर नियमित पढेको छ, परीक्षा दिएर पास पनि भएको छ, जागीरमा पनि हाजीर छ ! कसरी हुन्छ ? तर भैरहेको छ ! यसो गर्ने कर्मचारीको जागीर खुस्काउनुपर्ने होइन ?

४. अधिकांश कलेजहरूमा परीक्षाका नाममा डकैती चल्छ, देशैभर । ‘सेण्टर सेटिङ’ त सुन्नु भएकै होला ! परीक्षाका बेला वर्षेनी करोडौँ रूपिञाको लेनदेन हुन्छ ।

५. कक्षा ११ र १२ को परीक्षामा अनियमितता होइन डकैती गरिँदैछ । अभिभावकसँग पैसा लिएर खुलेयाम चोरी गराइन्छ । ‘सेण्टर सेटिङ’ भन्ने गरिन्छ ।

६. ३-४ कक्षाको स्वीकृति लिएर १० कक्षा सम्म पढाउने निजी विद्यालय प्रत्येक पालिकामा कम्तिमा ५-७ वटा छन् । यसरी भर्ना भएका विद्यार्थी नजिकको सरकारी विद्यालयमा भर्ना भएर परीक्षा दिएको अभिलेख हुन्छ, EMIS मा ।

७. निजी स्कूलमा पढेर सरकारी विद्यालयबाट कक्षा १० र ११-१२ को परीक्षा दिनेले गरीबलाई मारमा पर्दैछन् । सरकारी विद्यायलमा पढेका विद्यार्थीले मात्र पाउने छात्रवृत्ति लगायतका सुविधा निजी स्कूल पढ्ने धनीका छोराछोरीले लिइरहेका छन् । गरीब र निमूखा जनताका छोराछोरी जसरी पनि झन् पछाडि पारिँदैछन् ।

८. स्नातकोत्तर नै उत्तीर्ण नगरेका शिक्षक, पदाधिकारी छन्, कतिपय निजी र सामुदायिक कलेजमा ।

९. विश्वविद्यालयबाट सम्बन्धन लिएर, विद्यार्थी भर्ना गर्ने, परीक्षा दिलाउने तर कहिल्यै नपढाउने कलेज छ्यापछ्याप्ति छन् । उसबेला बिहारमा जस्तै ‘झोला’मा हुन्छन् कतिपय स्कूल, कलेज !

१०. परिणामतः स्नातक प्रमाणपत्रधारीको ज्ञानको स्तर ८ कक्षा जति पनि छैन । शीप केही जानेको छैन ।

११. राजनीतिक कार्यकर्ता र अदक्ष मजदूर उत्पादन कतिञ्जेल गर्न दिने ?

१२. केही भ्रष्टहरूलाई लूट्न दिइरहने ?

१३. जिम्मेवार निकायहरूले केही नगर्ने ?

धेरै मिहिनेत गर्नै पर्दैन यी बदमासी खोजेर ठेगान लगाउन ! प्रत्येक पालिकाका ‘शिक्षा शाखा’का पदाधिकारीलाई यी सबै बदमासी थाहा छ । तर मिलेर खाएका छन् । नेता, शिक्षक, समाजसेवी, सरकारी अधिकारी, निजी क्षेत्र, पत्रकार, सबैलाई थाहा छ । तर दूर्भाग्य, कसैले केही गरिराखेको छैन । किन ?

  • अझ पनि आशा राख्ने एउटा निरीह नागरिक