केपी-देउवा भेटले ल्याएको तरङ्ग : सत्ता समिकरण परिवर्तनको सङ्केत

केपी-देउवा भेटले ल्याएको तरङ्ग : सत्ता समिकरण परिवर्तनको सङ्केत


  • सुरेन्द्र सुवेदी

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा धर्मपत्नी आरजु राणासहित एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगी तीन घण्टा लामो छलफल गरेपछि नेपालको राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । दहीच्यूरा खाएर ‘असार पन्ध्र’ मनाउनका लागिमात्र देउवा दम्पत्ति बालकोट पुगे होलान् भनी मान्न कोही तयार छैनन् । आरजुसहितको देउवा-ओली भेटघाटले सत्ता-गठबन्धनमा ठूलै उलटफेर ल्याउनसक्ने आँकलन गरिन थालिएको छ ।

हुन पनि बाँकीअवधि वर्तमान गठबन्धन नै निर्वाध अघिबढ्ने भनी माओवादी र एमालेका शीर्ष तहबाट गरिँदै आएको दाबी पछिल्ला केही सातायता पानीको फोका सावित भएको छ । खासगरी प्रधानमन्त्री प्रचण्डका विश्वासपात्र अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटप्रति एमाले अध्यक्ष केपी ओलीलगायका नेताले सार्वजनिक तवरमा प्रकट गर्दै आएको असन्तुष्टिले सत्ता-गठबन्धनको जग हल्लिन थालेको अनुभूति सचेत तप्काले गर्दैआएका छन् । आफै संलग्न सरकारले ल्याएको बजेटप्रति एमालेले चर्को असन्तुष्टि देखाउनुलाई सामान्यरूपमा लिन सकिँदैन । यस्तैमा, प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीसँग संसदमा ‘जादुवाला नम्बर’ रहेको भनी दिएको सार्वजनिक अभिव्यक्तिप्रति पनि केपी ओली असन्तुष्ट रहेका थिए ।

यसरी प्रचण्ड सरकारको निरन्तरताप्रति आशङ्काका बादल मडारिन थालेको सन्दर्भकै बीच गृहमन्त्री रवि लामिछानेको विशेष ‘इन्टेन्सन’मा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि सत्ता-समीकरणमा फेरबदल आउन सक्ने सम्भावना बढेर गएको थियो । प्रतीक पक्राउ पर्नुको अर्थ कांग्रेसनेतृ आरजू राणासम्म ‘लामिछानेको हात लम्किन सक्ने’ आँकलनका आधारमा कांग्रेसको देउवा गुटमा हडकम्प नै मच्चिन पुगेको थियो । समयमै लामिछानेलाई रोक्नका लागि पनि एमालेको साथ लिएर सत्तामा पुग्नु खासगरी देउवाका लागि अपरिहार्य नै हुन पुगेको बुझ्न सकिन्छ । देउवा-ओली बालकोट भेटघाटको अन्तर्य यसैमा लुकेको छ । केपी ओलीलाई प्रधानमन्त्री बनाएर भएपनि आफ्नो रक्षा गर्नैपर्ने बाध्यतामा देउवा दम्पति पुगेका हुन् भन्न सकिने आधारहरू छन् । सरकार सञ्चालनमै एमालेको असन्तुटि छताछुल्ल हुन थालेको सन्दर्भलाई कांग्रेसले ‘अवसर’ ठान्नु अस्वाभाविक होइन ।

यो सबै घटनाक्रमको पृष्ठभूमिमा अब सत्ता समिकरण परिवर्तनको मार्गतिर एमाले गएको त होइन ?- अहिले राजनीतिक वृत्तमा यो प्रश्न मडारिरहेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा देउवा पत्नी आरजुलाई पक्राउ गरिन सकिने डरबीच एमाले र कांग्रेसबीच बढेको सामिप्यतालाई एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताले शुभ संकेतका रुपमा लिएका छन् भने माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्ड तर्सिएको अनुभूति हुन थालेको छ ।

उपप्रधानमन्त्री लामिछानेले भूटानी नक्कली शरणार्थी प्रकरणमा थन्किएको फायल खोल्न लगाएर भारत र नेपाल दुवै देशको नागरिकताधारी बेचेन झा र प्रतीक थापालाई पक्रेपछि कांग्रेस पार्टीमा भित्रभित्रै खैलाबैला नै मच्चिएको थियो । यो प्रकरणमा मुसिएकी देउवा पत्नी आरजुलाई पनि लामिछानेले पक्रन सक्ने भन्दै एमाले अध्यक्ष ओलीलाई गुहार माग्न पुगेको एकपाटो हो भने योसँगै सत्ता समिकरण परिवर्तनको पाटो पनि देखिएको छ ।

कांग्रेस र एमालेनिकट स्रोतहरुका अनुसार केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने र तत्काललाई सानो मन्त्रिपरिषद् बनाएर सकिएको खण्डमा त्यही सरकारलाई राष्ट्रिय सरकारको रुप दिने विषयले देउवा-ओलीको भेटमा प्रवेश पाइसकेको छ । संसदको अबको बाँकी समय ओली र देउवाले आधा-आधा समय नेतृत्व गर्ने पनि छलफलमा कुरा उठेको स्रोतहरुको दाबी छ । ‘केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव कांग्रेस सभापति देउवाले गरिसकेका छन्, तर अन्य केही विषयमा सहमति हुन बाँकी रहेकोले तीन/चार दिनभित्र कुनै अस्वाभाविक घटना नभएमा हालको समिकरण परिवर्तन हुने देखिन्छ’, देउवानिकट कांग्रेसका एक नेताले बताएका छन् ।