उपत्यकाको फोहर व्यवस्थापन : सबै फोहोर ल्याण्डफिल साइटमा लैजान रोक्नुपर्ने

उपत्यकाको फोहर व्यवस्थापन : सबै फोहोर ल्याण्डफिल साइटमा लैजान रोक्नुपर्ने


सबै प्रकारको फोहर झ्यापझुप उठाएर ल्याण्डफिल साइट पुऱ्याउने क्रम तत्काल रोकिनु पर्ने देखिएको छ । बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि गएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सदस्यहरु भुवन लामा, वीरेन्द्र प्रजापती र वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठसहितको टोलीले यस्तो बताएको हो ।

वर्षा सुरुभएसँगै ल्याण्डफिल साइट, साइटमा पुग्ने सडक तथा अन्य पूर्वाधार र सामाजिक पक्षको व्यवस्थापनका सम्भावित जोखिम अवलोकनका लागि टोली साइट गएको थियो । सम्भावित समस्या अनुमान गर्ने र समस्या सिर्जना हुन नदिने उपाय अबलम्बन अध्ययनका लागि टोली गएको हो ।

अध्ययनका क्रममा उनीहरुले साइट व्यवस्थापनमा काम गर्ने कर्मचारी, फोहर ढुवानी गर्ने चालक र स्थानीयहरुसँग अवस्थाका विषयमा जानकारी लिएका थिए ।

‘साइटमा पुऱ्याइने फोहरको मात्रा धेरै भएपछि ल्याण्डफिल साइट उपयोगिताको अवधि घट्दै गएको छ । अहिलेको मात्रामा फोहर लैजाने हो भने यसको अवधि १५ बर्षमै सकिने अनुमान गर्न सकिन्छ ।’ अवलोकनपछि प्रवक्ता मानन्धरले भने, ‘काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर स्रोतमा फोहर घटाउने कामलाई अभियानका रुपमा सञ्चालन गरेको छ । यसलाई अरु पालिकाले पनि अनुसरण गर्नुपर्छ ।’

‘फोहर व्यवस्थापन चक्रमा उत्पादकदेखि व्यवस्थापनसम्मका सबै जोडिनु पर्छ । हरेकले प्रत्येक चक्र पूरा गर्न सहयोग गर्नुपर्छ । नत्र, विगतका अभ्यासबाट सिकेको अनुभव पनि खेर जान्छ’, वातावरण समितिका संयोजक महर्जनले बताए ।

फोहर उत्पादन, संकलन, ढुवानी, व्यवस्थापन र साइटको पूर्वाधार निर्माण गर्ने सबैले आफ्ना आफ्ना ठाउँमा जिम्मेवारी लिनुपर्छ । समितिका सदस्य एवं वडा-६ का अध्यक्ष भुवन लामाले भने, नेपाल सरकारले पूर्वाधार दायित्व तत्काल पूरा गर्नुपर्ने देखियो ।

व्यक्तिको आचरण परिवर्तनदेखि फोहरको व्यवस्थापनसँग सम्बन्धित विषयमा एकैपटक काम गर्नुपर्छ ।