रारा तालमा डुबेर युवकको मृत्यु

रारा तालमा डुबेर युवकको मृत्यु


रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका-५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर मृत्यु भएको छ ।

मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीसँग घर फर्कने क्रममा उनीसहित अरु साथीहरुसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको यनका काका नरेन्द्र रावललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो ।

घटनाको मुचुल्कापछि शव परीक्षणका लागी जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।