काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो

काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो


काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार ६ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग बिहीबार (२० असार) छिचोलिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअलमाध्यमबाट अवलोकन गर्नुभयो । उहाँले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनुभएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिनुभयो ।

उहाँले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।