अब त सालिकको फेशन नै चलेको छ । भानुको सालिक नेपालको विभिन्न ठाउँमा थप नयाँ बनेका छन् । यसका साथै भारतका विभिन्न नेपाली रहेका ठाउँमा पनि भानुको सालिक बनाइएको छ । दार्जिलिङबाट शुरु भएको भानुको सालिकको अभियान सिलिगुडी, सिक्किम, आसाम, कलकत्तानजिकै कल्याणी आदि विभिन्न शहरसम्म पुगेको छ ।
✍ सुनिल उलक

आज असार २९, आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । २११ वर्षअगाडि वि.सं. १८६९ असार २९ गते आषाढ कृष्ण अष्टमी आइतबारका दिन जन्मनुभएका भानुभक्त आचार्यले संस्कृत काव्य रामायणको नेपाली भाषानुवाद गरेका थिए । सरल नेपाली भाषामा गरिएको यो अनुवादले गर्दा हिन्दुहरूको प्रख्यात आख्यान आम नेपालीको लागि बुझ्न सहज भयो ।
मोतीराम भट्टले उनका रचनाहरूको पाण्डुलिपि खोजेर वि.सं. १९४८ मा प्रकाशित नगरेका भए भानुभक्त त्यसै हराउन सक्थे । मोतीरामको खोजी र त्यसपछिका साहित्यकारहरूको साथले अझ भानुभक्तलाई चर्चामा पुऱ्याइदिए । भानुभक्तलाई आदिकविका रूपमा सम्मान गरिए पनि नेपाल सरकारबाट उपाधि दिइएको थिएन । मोतीराम भट्टले वि.सं. १९८१ मा वहाँको जीवनी प्रकाशित गर्ने समयमा आदिकवि भनेर सम्बोधन गरिएपछि सबैले आदिकविका रूपमा सम्मान गरिएको थियो ।
यसरी नेपाली भाषाको साहित्यिक आकाशमा ठूलो योगदान गरिएको भए तापनि भानुभक्तलाई नेपालमा खासै सम्झने गरिँदैनथ्यो । भारतको दार्जिलिङमा रहेका नेपाली भाषाप्रेमी तथा साहित्यप्रेमीहरूको समुहले दार्जिलिङमा २००४ सालमा नेपाली साहित्य सम्मेलनले सालिक स्थापना गर्ने निर्णय गरिएको थियो । दार्जिलिङमा रहेका नेपाली भाषाका साहित्यकार सूर्यविक्रम ज्ञवालीको सत्प्रयासमा दार्जिलिङको चौरस्तामा २००६ सालको असार ३ गते अर्धकदको सालिक स्थापना गरिएको थियो । यस सालिकको निर्माता भने सेन्टपाल स्कुलका ई.एफ. थमसन थिए । यसरी चौरस्तामा भानुको सालिक स्थापना भएपछि बालकृष्ण समले भानुको सो सालिकको तस्विर खिचेर ल्याए । उनले नेपाल आएपछि छोरी ज्वाला समलाई तस्बिरबाट भानुको चित्र बनाउन लगाए । चित्र तैयार भएपछि समले त्यसमा हल्का केही मिलाए । यो भानुको चित्र बोकेर सम कलकत्ता पुगे । त्यहाँबाट पाँच हजार कपी भानुको चित्रको पोष्टर बनाएर ल्याए । सो चित्र नेपालमा रु १ प्रति फोटोको दरमा बिक्री भयो । यसरी समले भानुलाई सबैका सामु चिनाउन सफल भएका थिए । पछि साझा प्रकाशनले पनि टेकवीर मुखिया द्वारा कोरिएको भानुको चित्र बिक्रीका लागि राखेको थियो ।
दार्जिलिङका नेपालीभाषीहरूले यसरी भानुको सम्मान गरेको देखेपछि नेपालमा रहेका साहित्य अनुरागीहरूका साथ-साथ नेपाली शिक्षा परिषदले नेपालमा पनि सालिक स्थापना र भानु जयन्ती मनाउनु पर्दछ भन्ने छलफलको थालनी गरे । दार्जिलिङमा भानु जयन्ती मनाउन थालेको ४ वर्षपछि २०१० सालको असार २९ गते नेपालमा पनि भानुजयन्ती मनाउन थालियो, तर सालिक भने बन्न सकेन । सालिक बनाउने तैयारी भएपछि बालकृष्ण समले नै अमर चित्रकारलाई यसको जिम्मा दिएका थिए । अन्ततः २०१६ सालको असार २९ गते राजा महेन्द्रबाट भानु जयन्तीको अवसरमा दरवार हाइस्कुलमा भानुको सालिक अनावरण गर्नुभयो ।
यसरी भानु र उनको योगदानको चर्चा बर्सेनी हुन थाल्यो । काठमाडौंमा भानुको सालिक अनावरण भएको केही वर्ष पछि पोखराको पृथ्वीनारायण कलेजभित्र पनि भानुको सालिक स्थापना गरियो । त्यसपछि उनकै जन्मस्थल चुँडी रम्घामा, वीरगञ्जमा, धरानमा, जनकपुरमा, दमकमा, भद्रपुरमा, बिराटनगरमा राखिएको थियो । मधेश आन्दोलनमा जनकपुरको सालिक भने तोडिएको थियो । पछि बनाउने भनिए पनि बनाउन सकेका छैनन् । अब त सालिकको फेशन नै चलेको छ । भानुको सालिक नेपालको विभिन्न ठाउँमा थप नयाँ बनेका छन् । यसका साथै भारतका विभिन्न नेपाली रहेका ठाउँमा पनि भानुको सालिक बनाइएको छ । दार्जिलिङबाट शुरु भएको भानुको सालिकको अभियान सिलिगुडी, सिक्किम, आसाम, कलकत्ता नजिकै कल्याणी आदि विभिन्न शहरसम्म पुगेको छ ।
२०४९ सालको साउन २४ गते दार्जिलिङमा चर्किएको गोर्खाल्याण्डको आन्दोलनका क्रममा केही उच्छृंखल युवाहरूले चौरस्तामा रहेको भानुको सालिक पनि तोडे । यसरी भानुको सालिक तोडिएपछि तत्कालै अर्को नयाँ ९ फिट अग्लो उभिएको सालिक तैयार गरेर त्यही चौरस्तामा २०५३ सालमा राखियो । अहिले दार्जिलिङको चौरस्तामा रहेको भानुको सालिक सामु दार्जिलिङ पुग्ने हरेकले तस्बिर लिने गर्दछन् ।
असार २९ गते भानु जयन्तीका दिन सिक्किममा सार्वजनिक बिदा नै दिने गरिन्छ । तर नेपालमा भने बिभिन्न अनावश्यक बिदा दिइए पनि भानुप्रति सम्मान राख्दै बिदा दिने गरिएको छैन । वि.सं. १८६९ असार २९ मा भानुभक्तको जन्म भएको थियो भन्दै वि.सं. १९४८ मा मोतीराम भट्टले उनको जीवनी लेखे र, उनको जन्म मिति १८६९ लेखियो । तर पछि जन्ममिति सच्याइयो र, १८७१ लाई मान्यता दिन थालियो । पेश गरिएको जन्म कुण्डली, जो भानुभक्त आफैले लेखेको भनिएको छ, मा प्रस्तुत भाषाशैली तथा जटिल श्लोक भानुभक्तको होइन भन्ने पनि धेरै छन् ।
श्री शालीवाहन्का समय षडत्रिंशत् भइकन ।
अनी आषाड् मास्को दिन पनि उनन्तिस् गइकन ।।
घटी एक्तिस् माँहा विघटि पनि वत्तिस् परिकन ।
नवांशक् कंठीरव् धनुष परि जो वेस लगन ।।१।।
मिथुन्मा सूर्यै छन् निवनिलय मीन्का विधु अनी ।
महीसुत् बुध् राहू शशि सदनकार् इ तिन पनी ।।
गुरू भाग्यस्थान्का रविभवनमा गैकन वस्या ।
भृगूजी ता आफ्नै सदन वृषमा गैकन पस्या ।।२।।
मकर्मा सौरी छन् ध्वजसहितका स्वगृहि यहाँ ।
वतायाका क्रम्ले ग्रह हरू वस्या कुण्डलि महाँ ।।
नेपाली साहित्यप्रति असिम योगदान पुऱ्याउनुहुने आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धान्जली !
प्रतिक्रिया