नसर्ने रोगहरूको वर्तमान अवस्था सम्बन्धमा ‘निरी नेपाल’को विशेष गोष्ठी

नसर्ने रोगहरूको वर्तमान अवस्था सम्बन्धमा ‘निरी नेपाल’को विशेष गोष्ठी


नेक्सस इन्स्च्युचुट अफ रिसर्च एण्ड इनोभेसन (NIRI) नेपालले हरेक वर्ष कोभिड समयबाहेक निरन्तर वार्षिक गोष्ठीहरू गर्दै आइरहेको छ । यस वर्षको वार्षिक गोष्ठी यसै जुलाई महिनाको १३ तारिखका दिन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त गोष्ठीको मुख्य विशेष ‘नेपालका नसर्ने रोगहरू, आजका चुनौतिहरू र समाधानका उपायहरू’ रहेको थियो ।

भर्च्अल गोष्ठीको प्रमुख छलफलको विशेषमा विश्वभरी छरिएका ८ जना विशेषज्ञ/विज्ञहरू, नसर्ने रोगहरूले निम्त्याएका समस्या र तिनका समाधानका विशेषमा छलफल भएको थियो, छलफलका विशेषहरू विशेषगत रूपमा नेपालसङ्ग सम्बन्धित भएको भएतापनि विश्वब्यापीरूपमा विश्व जनसमुदायको जनस्वास्थ्यको अवस्थासङ्ग मिल्ने खालका थिए । यस वेबीनारमा विभिन्न विशेषगत विज्ञहरूले आ-आफ्नो क्षेत्रको अनुसन्धानको विशेषमा आ-आफ्नो भनाइ/प्रस्तुति दिनुभएको थियो ।

दुःखाइसम्बन्धी विज्ञ डा. नम्रता राउतले लामो समयसम्मको दुखाइ (क्रोनिक पेन)लाई धेरै जनमानसले राम्रोसङ्ग नबुझेको र दुखाइ ‘रोगहरू बिना’ नै आउन सक्ने भएको कारण नसर्ने रोगहरूको समुहमा राख्न मिल्ने प्रस्ट्याउनुभयो । धेरै नसर्ने तथा सर्ने रोगहरूमा र कतिपय बिनाकारण देखापर्ने दुखाइलाई ज्ञानको कमीको कारण छुट्टै समस्याको रुपमा नलिनु नै उपचार नहुनु र धेरै मानिसहरू उपचारविहीन अवस्थामा पीडाभोगी बन्नुपर्ने बाध्यता नेपालमा रहेको बताउँदै दुखाइसम्बन्धी चेतना जगाउन र बिरामीलाई दुखाइ कम गराउने या हटाउन सक्ने उपचारहरू गर्नुपर्ने औंल्याउनुभयो । यसका लागि स्वास्थ्यकर्मीहरूलाई तालिम दिनुको साथै गाउँ-गाउँसम्म दुखाइको उपचार विधि पुऱ्याउनुपर्ने आवश्यकता रहेको तर आर्थिक समस्याका कारण सम्भव नहुने गरेको प्रस्ट्याउनुभयो ।

मृगौला रोगका चुनौतीहरूका बारेमा आफ्नो अनुसन्धान प्रस्तुत गर्दै मृगौलारोग विशेषज्ञ डा. तारा सिग्देलले सबैभन्दा भयावह स्थिति ९० प्रतिशत बिरामीहरूलाई मृगौला रोग छ भन्ने थाहा नहुनु नै यसको जटिल कारण भएको उल्लेख गर्दै बेला-बेलामा आफ्नो स्वास्थ्य जाँच गरी उक्त रोगको निदान बेलामै गर्नुपर्ने आवश्यकता महत्वपूर्ण रहेको, र यदि यस्तो जनचेतना नभएको खण्डमा मृगौलाले काम नगर्ने अवस्था हुन आउने प्रस्ट पार्नुभयो । रोगको शुरुको अवस्थामै रोगको पहिचान र रोकथाम गर्न सके अत्याधिक बिरामीहरूको मृगौला बचाउन सकिने कुरामा उहाँले जोड दिनुभयो । आजको दिनसम्म धेरै प्रकारका डायग्नोस्टिक प्रक्रियाहरू/विधिहरू आइसकेकोले विभिन्न विधिहरू प्रयोग गरी मृगौला स्वस्थ भए/नभएको थाहा पाउन सम्भव भएको र पहिचान गर्ने विधिसम्बन्धी ज्ञान आदानप्रदान गरि नेपालमा पनि बाहिरी देशमा भैरहेका नयाँ विधिहरू स्थापित गर्न सकिने तर त्यसको लागि सरोकारवाला निकायसँगको सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

मुटुरोग सम्बन्धी विशेषमा बोल्दै मुटुरोग विशेषज्ञ डा. कौशल तिवारीले मुटुरोग नेपालको मात्र नभै विश्वकै सबैभन्दा ठूलो नसर्ने रोग भएको प्रस्ट्याउनुभयो । आजभोलि नेपालमा धेरैभन्दा धेरै मानिसको जीवनशैलीमा परिवर्तन गरिनु नै नेपालमा बढ्दै गएको मुटुरोगको पहिलो कारण रहेको प्रष्ट पार्नुभयो । धेरै मानिसहरूको मृत्यु मुटुरोगको कारण भएको भएतापनि भौगोलिक विकटता भएका ठाउँहरूबाट र जनचेतनाको अभावका कारण रिपोर्ट नगरिने गरेको औंल्याउनुभयो । मुटुको शल्यक्रिया कमै अस्पतालमा हुने भएकोले शल्यक्रिया हुने अस्पतालको संख्या बढाउनुपर्ने तर नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्रमा एउटा पनि मुटुरोग उपचारार्थ अस्पताल नहुनु दुखद रहेको र सरकारले पनि त्यसमा प्राथामिकता नदिएको गुनासो उहाँले गर्नुभयो । मूख्यगरी मुलुकमा गरिबी धेरै हुनु, असमानता बढी हुनु र राज्यको नीति राम्रो नहुनु नै मुटुरोगसंग सबन्धित अस्पतालहरू नबन्नुका मुख्य कारण रहेको उल्लेख गर्दै सरकारले यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । शिक्षाको कमी भएका ठाउँहरूमा धेरैलाई मुटुरोग निको हुन सक्छ भन्ने सम्म पनि ज्ञान नहुने गरेको र जनचेतना विकाश गरि समयमै मुटुको उपचार गर्न जनसमुदायलाई प्रेरित गर्नुपर्ने र, प्राथामिक रोकथामका कुराहरूमा नेपाल सरकारले नीति निर्माण र त्यस्ता नीतिहरूको कार्यनयन आवश्यक रहेको बताउनुभयो ।

अर्का वक्ता वातावरणविज्ञ भूषण तुलाधरले वायुप्रदुषणले नसर्ने रोगहरूमाथि पारेको असर भयावह रहेको र वायुप्रदुषण मुख्यगरी धेरै नसर्ने रोगहरूको प्रमुख कारक बनेको औंल्याउनुभयो । वायुप्रदुषणको कारण विश्वभरमा बालबालिकाको मृत्युदर दोस्रो प्रमुख मृत्युको कारण रहेको जानकारी उहाँले दिनुभयो । वायुप्रदुषणले फोक्सोमा पुऱ्याउने समस्या धूम्रपान गर्नेको भन्दा पनि जटिल रहने उदाहरण प्रस्तुत गर्दै नसर्ने रोगहरू दम, मुटुरोग, स्ट्रोक, फोक्सोको क्यान्सर र मधुमेह-२ जस्ता रोगहरूको मुख्य कारक पनि वायुप्रदुषण रहेको अनुसन्धानबाट देखिएको बताउनुभयो । नेपालको हकमा विश्वको भन्दा अझ बढी खतराजन्य रहेको उहाँको भनाइ थियो ।

नेपालमा दिनानुदिन विशेषगरी शहरी क्षेत्रहरूमा वायुप्रदुषण बढ्दै जानु चिन्ताजनक रहेको र विश्व स्वास्थ्य सङ्गठनले दिशानिर्देश गरेको वायुप्रदुषण कम गराउने उपायहरू अपनाउने हो भने छिटो र छोटो समयमै जनसमुदायको स्वास्थ्यमा सुधार र मृत्युदर कम गराउन सकिने प्रस्तुति उहाँले दिनुभयो । अहिले काठमाडौ महानगरपालिकाले रोकथामका उपायहरू अपनाइरहेको उदाहरण प्रस्तुत गर्दै जनचेतना, तालिम र शिक्षामुलक कार्यहरू गरेर स्थानीय तहबाट बिस्तारै माथिल्लो तहमा जानुपर्ने दृष्टिकोण राख्दा वायुप्रदुषणलाई कमी पार्ने उपायको साथै प्राथमिक रोकथामका कार्यहरू गर्न सहज हुने उहाँको धारणा थियो ।

उक्त गोष्ठीमा दुर्घटना र चोटपटकसम्बन्धी विशेषमा बोल्दै उपप्राध्यापक समेत रहनुभएका सडक-दुर्घटना तथा चोटपटकविज्ञ भगवती सेढाईंले सडक दुर्घटना नेपालको मृत्युको दोश्रो कारण रहेको बताउनुहुँदै सडक दुघर्टनाको असर धेरै नकारात्मक रहेको र पछिल्ला वर्षमा अत्याधिक सडक दुर्घटना बढिरहेको उल्लेख गर्नुभयो । सडक दुर्घटनामा धेरै मानविय क्षति हुने गरेपनि नेपाल सरकारले दुर्घटनासम्बन्धी तथ्याङ्क सङ्कलनमा केही काठमाडौंलगायतका ठुला शहर र तराईका भु-भागमा तथ्यांक सङ्कलन भएको देखिएतापनि हिमाली र पहाडी जिल्लाहरूको तथ्यांक भेट्न गाह्रो भएको जनाउनुभयो ।

विभिन्न अनुसन्धानबाट दुर्घटना र चोटपटक रोकथामसम्बन्धी सामाजिक चेतनाका परीयोजनाहरूले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्दै उहाँले खासगरी तथ्यांकहरूको अभावमा दुर्घटना र चोटपटक अनुसन्धानमा बाधा पुगेको बताउनुभयो । दुर्घटना र चोटपटक रोकथामको लागि केही रणनीति तयार भएको तर ती रणनीति पनि पारित हुन र कार्यान्वयनमा ल्याउन समय लागिरहेकोले नेपाल सरकारले दुर्घटना रोकथाममा छिटोभन्दा छिटो प्राथमिकताका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो ।

उक्त वेबिनारको अर्को महत्वपुर्ण प्रस्तुति नसर्ने रोग ‘क्यान्सर’ थियो, जसलाई निरी नेपालका अध्यक्ष तथा डा. राजेन्द्र पँगेनीले प्रस्तुत गर्नुभएको थियो । नेपालमा क्यान्सरको अवस्थाको बारेमा बोल्दै डा. पँगेनीले विश्व समुदाय, एसिया महादेश र नेपालमा क्यान्सरको अवस्था, उपचारविधि र रोकथामका उपायहरू फरकरुपमा कार्यन्वयन भैरहेको बताउदै विकसित देशहरूमा क्यान्सरको पहिचान र निदान बढिरहेको भएता पनि राम्रा उपचारविधि अपनाइने र रोकथाममा यी राष्ट्रहरूमा पहिचानका विविध तरिकाहरू अपनाइने भएकोले समयमै उपचार हुन पाएको कारण मृत्युदर घटिरहेको विशेषमा प्रस्तुति दिनुभयो । नेपालको हकमा भने क्यान्सर रोग बढ्दै गैरहेको साथै मृत्यु हुने सङ्ख्या पनि वृद्धि भैरहेको पछिल्लो तथ्यांकले देखाएको उहाँले जानकारी दिनुभयो ।

फरक देशहरूमा फरक-फरक क्यान्सर देखापर्ने गरेको तथ्यांक उद्धृत गर्दै उहाँले नेपालमा देखापरेका क्यान्सरहरू फोक्सोमा, आन्द्रामा अनि विशेषगरी मुखमा धेरै देखापर्नुले यो बाहिरी विकसित मुलुकहरू भन्दा फरक खालको क्यान्सर रहेकोले फरक र विशेष किसिमका अनुसन्धान आवश्यकता रहेको औंल्याउनुभयो । किन हामीलाई नेपालमा विशेष प्रकारका क्यान्सरहरू लाग्ने गर्दछन् भन्ने कुरालाई पत्ता लगाउन आधुनिक पद्दति अवलम्बन गरी यसका पहिचानका तरिकाहरूमा डिएनएसम्बन्धी अनुसन्धान, रोकथाम र निदान गर्ने प्रक्रियालाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।

स्वास्थ्यसेवाको लागि प्रविधिको प्रयोग र आवश्यकताको विशेषमा बोल्दै डा. विजय जिसीले नसर्ने रोगहरू उपचार अनि नियन्त्रण गर्नको लागि प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । डिजिटल हेल्थ टेक्नोलोजीहरूको प्रयोगले विभिन्न नसर्ने रोगहरूको, सही भरपर्दो र दीगो सूचना छोटो समयमा प्रदान गर्न सकिने भएकोले पनि यस्ता प्रविधिको प्रयोगले नसर्ने रोगहरूलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने आशय व्यक्त गर्नुभयो । बिरामीहरूको उपचार र स्वास्थ्य सेवामा सुदृढीकरण गर्न गराउन, बिरामी तथा स्वास्थ्यकर्मीलाई शिक्षा र तालिम प्रदान गर्न, स्वास्थ्यमा समान पहुँच बढाउन, स्वयम् मुल्यांकनको अवसर प्रदान गर्न, स्वास्थ्य प्रवर्द्धन गर्न, बिरामी र स्वास्थ्यकर्मी दुवैलाई सजिलो, भरपर्दो र सस्तो प्रविधि प्रयोग गर्न सकिने बताउँदै नेपालमा डिजिटल टेक्नोलोजीको प्रयोगको कार्यन्वयन भने गर्न समय लाग्ने देखिएको उहाँको धारणा थियो ।

वेबिनारको अन्तिम प्रस्तुतिको विशेष थियो मातृस्वास्थ्य । स-साना बालबालिकाका आमाहरूको पोषण र मानसिक स्वास्थ्य अवस्थाको अनुसन्धानको नतिजा प्रस्तुत गर्दै निशान्त तामाङले बच्चा जन्माउने आमाहरूको मानसिक अवस्था बिग्रन सक्ने भएकोले बच्चाको हेरविचार गर्ने क्रममा आमाको स्वास्थ्यबारे भुल्न नहुने बताउनुभयो भने एसिया र नेपालमा बालबालिकामा कुपोषण हुने समस्या र आमाहरूमा भयानक डिप्रेसन देखिने गरेको तथ्यांक उद्धृत गर्दै बालबालिकाको कुपोषण निवारण गर्न धेरै कार्यक्रमहरू आउने भएतापनि आमाको स्वास्थ्यस्थितिमा सुधार ल्याउन त्यति खासै परियोजनाहरू नआएको गुनासो गर्दै उहाँले धेरै आमाहरूको नकारात्मक मानसिक स्वास्थ्यस्थितिले बालबालिकाको स्वास्थ्यस्थितिमा झनै गहिरो प्रभाव पर्ने भन्दै कुपोषणमा आमाको नकारात्मक मानसिक स्वास्थ्य पनि मुख्य रहेकोसम्बन्धी अनुसन्धान प्रस्तुत गर्नुभयो ।

स्वास्थ्यकर्मीहरूलाई तालिम, समुदायभित्र शिक्षाको आधारमा जनचेतना वृद्धि गर्ने, बढ्दै गएको प्रविधिलाई स्थानीय तहका वडा-वडा हुँदै माथिल्लो स्तरसम्म वृद्धि गर्नुपर्ने आवश्यकता उक्त वेबिनारले गर्दै, नेपालमा सही र भरपर्दो तथ्यांक सङ्कलनमा जोड दिनुपर्ने, अनुसन्धानहरूलाई तीव्र गतिमा अघि बढाउनुपर्ने, बाहिरी विकसित देशहरूले अनुसन्धानपछि प्रयोगमा ल्याउँदै गरेका उपचार र रोकथामका विधिहरूलाई नेपाली अनुसन्धानकर्ता र विज्ञहरूबाट प्रतिस्थापन गर्नुपर्ने र नयाँ उपचार विधिहरू, अनुसन्धानहरूलाई नेपाल भित्र्याउनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको र नेपाल सरकारले यस्ता विशेषहरूलाई मुख्य प्राथमिकता साथ अघि बढाउनुपर्ने उक्त कार्यक्रमको निष्कर्ष रहेको थियो ।