‘झोले’हरुलाई पत्रकार महासंघमा पठाउने राजनीतिक दल तथा तिनका नेतृत्वका कारण नेपालको इतिहासमै पत्रकार महासंघ भनेको ‘नालायक’ संस्थाको रुपमा चिनिने खतरा बढेको छ ।
✍ सुरेन्द्र सुवेदी
चरम राजनीतिक हस्तक्षेपका कारण नेपालको पत्रकारिता इतिहासमै खुब बदनाम भइरहेको छ । राजनीतिक दलले आफ्ना ‘झोले’ कार्यकर्तालाई पत्रकार महासंघको नेतृत्वमा पठाउँदा अहिले यो ‘वितण्डा’ देखिएको हो । गत जेठ २६ गते तोकिएको पत्रकार महासंघको महाधिवेशन हुन सकेन । फेरि, गत असार २२ गतेका लागि तोकियो । त्यो पनि हुन सकेन र अब कहिले हुने भन्ने मिति तोक्न पनि पत्रकार महासंघको नेतृत्वले सकेन ।
यतिबेला नेपाल पत्रकार महासंघ अवैधानिक भइसकेको छ । तर, त्यसतर्फ प्रेस युनियनको दल नेपाली काङ्ग्रेस, प्रेस चौतारीको दल नेकपा एमाले, समाजवादी प्रेस संगठनको दल नेकपा एस, प्रेस सेण्टरको दल नेकपा माओवादी केन्द्रले केही बोलेको सुनिएको छैन । यी दलले आफ्ना ‘झोले कार्यकर्ता’लाई पत्रकार महासंघमा पठाएर महासंघ नै गैरपत्रकारको कब्जामा पुऱ्याएपछि अहिलेको हविगत निम्तिएको हो ।
पत्रकार महासंघका महासचिव तथा प्रेस सेण्टरका नेता रोशन पुरीले क्रियाशील पत्रकारलाई पाखा पार्दै गैरपत्रकारलाई सदस्यता दिन थालेपछि महासंघमा विवाद सुरु भएको बुझिन्छ । त्यसपछि प्रेस युनियनका नेता तथा पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले महासचिव पुरीको सिको गर्दै गैरपत्रकारहरूलाई सदस्यता दिन थाले । यसरी गैरपत्रकारलाई महासंघको सदस्य बनाएपनि धेरै क्रियाशील पत्रकारको सदस्यता खारेज पनि गरे । जसबाट विवादमाथि विवाद थपिँदै गयो र, तोकिएको समयमा महाधिवेशन हुन सकेन र अब कहिले हुने भन्ने पनि पत्तो छैन ।
सरकार गठनमा एक भएका नेपाली काङग्रेस र नेकपा एमालेले महासंघमा मिलेर नेतृत्व गर्ने बुझिन्छ । जसका लागि एमालेको तर्फबाट अध्यक्षको उम्मेद्वार निर्मला शर्मालाई ल्याउने देखिन्छ भने नेपाली काङ्ग्रेसले महासचिवमा चित्त बुझाउनुपर्ने सम्भावना छ । तर, त्यसो भएको खण्डमा महासंघका उपाध्यक्ष रमेश विष्ट विद्रोही बन्ने सम्भावना छ । प्रेस सेण्टरले साना दलका झोले पत्रकारको समूह बनाएर निर्वाचनमा भाग लिने छनक पाइन्छ ।
यसरी झोलेहरुलाई पत्रकार महासंघमा पठाउने राजनीतिक दल तथा तिनका नेतृत्वका कारण नेपालको इतिहासमै पत्रकार महासंघ ‘नालायक’ संस्थाको रुपमा चिनिने खतरा बढेको छ । प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकका लागि दुई दशकदेखि सक्रिय जन्मदेव जैसी अध्यक्ष, उपाध्यक्ष वा महासचिवमध्ये कुनै एक पदमा उम्मेद्वारी दिने तयारीमा रहेको बताउँछन् । व्यवसायिक पत्रकारको रूपमा कार्यरत श्रमजीवी पत्रकारको महासंघ बनाउने लक्ष्यका साथ आफू उम्मेद्वार बन्न लागेको उनको भनाइ छ ।
महासंघको महाधिवेशन हुन ६ महिना बाँकी रहँदै सदस्यता नवीकरण हुनैपर्ने र नयाँ सदस्यता वितरण बन्द गर्ने विधानको प्रावधानलाई बेवास्ता गर्दा महासंघबाहिरका स्वार्थ समूहलाई महासंघ नेतृत्वले निर्वाचनमा खेल्ने पर्याप्त अवसर दिएको धेरैको बुझाइ छ । महासंघबाट बिदा भएपछि अन्य राजनीतिक लाभका लागि संस्थाको गरिमा नै सिध्याउने काम पनि पछिल्ला अवधिका नेतृत्वले गरे र गरिरहेका पनि छन् ।
‘महासंघको वर्तमान वा पछिल्ला केही नेतृत्व सत्ता स्वार्थका लागि महासंघलाई उपयोग गर्ने यत्नमा तल्लीन रहे । कसैले त पार्टी स्वार्थका लागि महासंघको वैधानिकतामाथि नै प्रश्न उठाउने कार्य गरे’, श्रमजिवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले भने- ‘पत्रकारको व्यावसायिक हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मूलतः श्रमजीवी पत्रकारको पेशा सुरक्षा गर्दै सञ्चार क्षेत्रको समग्र एवम् सम्पूर्ण विकासको मूलध्येय, लक्ष्य र दायित्वका लागि महासंघ चाहिएको हो । त्यसैले नीतिगत तथा व्यावहारिक तहबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्धन गर्ने, पत्रकारको भौतिक, सामाजिक तथा पेशागत सुरक्षा सुनिश्चितता गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।’
जे होस्, बदनाम भएको महासंघमा हाल ९ हजार २७ जना सदस्य रहेका छन् । र, यो संख्या थप हुँदै जाने देखिन्छ । नेतृत्व हात पार्न होटलमालिक, रिक्साचालकदेखि फुटपाथमा नाङ्लेपसल थापेर बसेकाहरू पत्रकार महासंघको सदस्य बनिरहेका छन् । अब तिनीहरूकै मतबाट ‘झोले’हरू नेतृत्वमा पुग्नेछन् । देशका राजनीतिक दलले ‘झोले’ र गैरपत्रकारको समूहलाई महासंघमा पुऱ्याउन चाहेकाले त्यस्तै हुने पक्काजस्तो छ ।
प्रतिक्रिया