परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठ्यारोप्रति जानकार रही उहाँहरूको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिनुभएको छ ।
मन्त्री डा. राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएपछि त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिनुभएको हो ।
त्यसअवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराउनुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री डा. राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि उहाँहरूको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिनुभयो ।
सोमबार बङ्गलादेशमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम् सतर्कता अपनाउन ढाकास्थित नेपाली दूताबासले सूचना जारी गरेको छ । सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका र हाल त्यहाँ करिब चार सय विद्यार्थी रहेका र उनीहरू सुरक्षित रहेका जानकारी पनि दिइएको छ ।
नेपाल फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको मन्त्रालयले जनाएको छ ।
file photo: rss
प्रतिक्रिया