कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत प्रवेशका लागि तेस्रो मुलुकका पर्यटकलाई खुला गरिएको छ । कोरोना सङ्क्रमणका बेला भारतले तेस्रो मुलुकका नागरिकलाई गड्डाचौकी नाकाबाट प्रवेशमा रोक लगाएको थियो ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत मङ्गलबार (१६ साउन)देखि सीमावर्ती बजार वनबासामा रहेको अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई यो नाकाबाट प्रवेश अनुमति दिएको हो । यसअघि यो नाकाबाट विदेशी पर्यटक नेपाल भित्रिन मात्रै सक्थे भने यही नाकाबाट फर्किन पाउँदैनथे । आवागमन खुला भएपछि सात जना पर्यटक यो नाका भएर भारत प्रवेश गरेको अध्यगमन कार्यालय गड्डाचौकीका प्रमुख पदमराज भट्टले जानकारी दिए ।
‘भारतको उत्तराखण्डका विभिन्न पर्यटकीयस्थलमा पुग्ने तेस्रो मुलुकका पर्यटक नेपालमा पनि घुम्न आउँछन्, कोरोनापछि भारतले यो नाकाबाट बाहिरिन दिने तर भित्रिन नदिने गरेका कारण तेस्रो मुलुकका पर्यटक नेपाल आउन बन्द भयो’- भट्टले भने ।
भारतीय अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई आगमन अनुमति दिन थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साही भएका छन् । ‘नजिकको दुरीमा रहेका ऋषिकेश, बद्रीनाथ र केदारनाथलगायत पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटक नेपालमा पनि आउँछन्’ स्थानीय पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने, ‘यो हाम्रा लागि खुसीको कुरा हो । अब पक्कै पनि यहाँ आउने तेस्रो मुलुकका पर्यटक बढ्ने छन् ।’
ज्ञातव्य छ, यसअघि भारतले भैरहवा नाकाबाट मात्रै विदेशी पर्यटकलाई प्रवेश अनुमति दिएको थियो ।
प्रतिक्रिया