नेपालको औपचारिक भ्रमण गर्दै भारतीय विदेशसचिव

नेपालको औपचारिक भ्रमण गर्दै भारतीय विदेशसचिव


मित्रराष्ट्र भारतका विदेशसचिव विक्रम मिस्रीले यही साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।

यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिस्री साउन २८ गते काठमाडौंबाट स्वदेश प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

उहाँको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने विश्वास लिइएको छ । नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, संस्कृतिक र जनता-जनताबीचको सम्बन्ध रहेको छ ।