- विकास रौनियार, धादिङ
धादिङको सदरमुकाम धादिङवेसीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रोशनी विक गत बुधबार (२३ साउन) बिहान सदाझैँ विद्यालय जान्छु भनी हिँडेकी थिइन् । १४ वर्षीया रोशनी साँझ घर नफर्किएपछि परिवारले सोधखोज सुरु गऱ्यो । रोशनीका विषयमा सोधीखोजी हुँदैगर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । हराइरहेका तीनैजना कक्षा ९ मा अध्ययनरत छन् भने लगभग समान उमेर छ । रोशनीसँगै हराउनेमा सुशीला तामाङ र अस्मिता गुरुङ छन् ।
बालिकाहरू सम्पर्कविहीन भएपछि बुधबार नै प्रहरीमा खोजीका लागि परिवारले निवेदन दिएको छ । निवेदन प्राप्त हुनासाथ खोजी थालेको प्रहरीले विद्यालय जान हिँडेका बालिकाले धादिङवेसीको बीचबजारमा किनमेल गरेको र ब्यूटीपार्लर पनि छिरेको सीसीटीभी फुटेजमा देखिएको छ । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कोइरालाका अनुसार स्कुलयुनिमर्फमा घरबाट हिँडेका किशोरीहरूले किनमेलपछि नयाँ गेटअपमा हिँडेको भेटिएको छ ।
यसरी किशोरीहरू बेपत्ता भएपछि तिनका साथीसङ्गीसँग सोधीखोजी गर्दा दिल्ली जान लागेको बताएकाले उनीहरूलाई कसैले ललाइफकाइ दुरुत्साहन तथा बेचबिखन गर्न लगेको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले सुरु गरेको खोजतलासका क्रममा मोवाइल नम्बर ट्रयाकिङ गर्दा बिहीार दिउँसोसम्म धादिङकै घाटबेसी र गल्छीको लोकेशन देखिएको छ । तीन किशोरी अझै पनि नेपालभित्रै भेटिन्छन् कि भन्ने आशा रहेको खोजी कार्यमा लागेको परिवारजन, प्रहरी र विद्यालय परिवारको आशा छ । उनीहरूको खोजीका लागि सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङको भनाइ छ ।
हराइरहेका तीनै जना किशोरीका बुबाहरू वैदेशिक रोजगारीमा रहेका छन् भने घरायसी आर्थिक अवस्था कमजोर रहेको छ । हराइरहेका किशोरीहरूमध्ये सुशीला तामाङका बुबा तीर्थ तामाङ साउदीमा प्लास्टिक कम्पनीमा कार्यरत छन् । पाँच छोरा र दुई छोरीमध्येकी सुशीला हराएपछि परिवार मर्माहत भएको छ भने विदेशमा रहेका तीर्थ पनि तनावमा परेका छन् ।
त्यस्तै, रोशनी बिकका बुबा विष्णु बिक पनि वैदेशिक रोजगारीका क्रममा दुबईमा कार्यरत रहेकोमा हालैमात्र घर आएका थिए । दुई महिनाको बिदा लिएर आएका उनी केही दिनपछि दुबई फर्किने तयारीमा थिए । तर अचानक छोरी हराएपछि विष्णु पनि विछिप्त बनेका छन् ।
यसैगरी, अस्मिता गुरुङका बुबा पनि वैदेशिक रोजगारीमा साउदी अरबमै छन् । तीन छोरी र एक छोरा रहेकोमा अस्मिता साहिँली छोरी हुन् । छोरी हराएको खबरले अस्मिताका बुबा पनि चिन्तित रहेको परिवारका सदस्यहरू बताउँछन् ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटक, इमो, भाइबर लगायतबाट आर्कषक नोकरी तथा अन्य प्रलोभन देखाउँदै किशोरीहरूलाई बेचबिखन गर्ने क्रम बढ्दो छ । कतिपयको उद्धार भएपनि कतिपय लामो समयदेखि बेपत्ता नै रहेका छन् । यसरी बेपत्ता भएकाहरूलाई छिमेकी भारतदेखि चीन र अरब मुलुकका साथै विभिन्न अफ्रिकी मुलुकमा पुऱ्याएर श्रम श्रोषण गर्नुका साथै यौन व्यवसायमा लाग्न बाध्य पारिने गरेको बुझिन्छ ।
धादिङवेसीबाट हराएका बालिकाहरूलाई कहीँ कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय वा विष्णु विक ९८४०७७९३२७, निरमाया तामाङ ९८६६२६२६५८, सुस्मिता गुरुङ ९७६९७६४८१० मा सम्पर्क गरिदिन सम्बन्धित परिवारले आग्रह गरेको छ ।
प्रतिक्रिया