नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा आइतबार भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल-भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो ।
भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार नै काठमाडौं आइपुग्नुभएको हो । यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिव मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रचण्डनिवास खुमलटारमा भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् । त्यस अवसरमा उहाँहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।
सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको जनाइएको छ । विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी सोमबार (२८ साउन) काठमाडौंबाट प्रस्थान गर्नुहुने जनाइएको छ ।
प्रतिक्रिया