दुई कविता– जेबी खत्री

दुई कविता– जेबी खत्री


१ प्रश्नहरू
पहिले पनि त
खुल्लै थियो नि
सिंहदरबारको ढोका
किन रगतको खोला
बगाएर आयौ तिमी ?
नयाँ बिहानी ल्याउँछौँ भन्थ्यौ
किन उही दिन लिएर आयौ तिमी ?
अझै बाँकी थियो युद्ध भने
किन हरेश खाएर आयौै तिमी ?
नगर्नु सुरु गरेकै थियो युद्ध
किन विवेक गुमाएर आयौ तिमी ?
भनन भन
भन्न हुन्छ होला अब ता
युद्धका लासहरू कहाँ फालेर आयौ तिमी ?

२ आशाहरू
टाउको जतिसुकै ठूलो भए पनि
गिदी र मथिङ्गल रहने खोपडी सानो भएपछि
मुखले जतिसुकै दर्शन छाँटे पनि
मानिस व्यवहारमा सङ्कुचित नै हुँदो रहेछ ।
टाउको ठूलो भएकाहरू भाग्यमानी हुन्छन् भन्ने सुनेको थिएँ ।
साँच्चै हो कि क्या हो ।
तर टाउको ठूलो भएर मात्र पनि के गर्नु बुद्धि भएन भने
चतुर्‍याइँले मात्र पनि हुँदैन बुद्धि पनि चाहिन्छ ।
बुद्धि मात्र भएर पनि हुँदैन चतुर्‍याइँ पनि चाहिन्छ
यी दुईमा एक मात्र भएको मानिस
लाटो देशको गाँडो तन्नेरी मात्र हुने रहेछ
बुद्धि र चतुर्‍याइँ दुवै भएको मानिस नेपालमा
अब फेरि कहिले जन्मेला ?
अचेल : झापा

पथिकको आरम्भ– मुक्तिनाथ शर्मा
मलाई स्वर्ग चाहिन्न भन्ने आरम्भका कवि
जस्ले आरम्भ नाउँको दिए कृति अजम्बरी
कवितासङ्ग्रह यस्मा पद्य शास्त्रीय छन्दका
उच्चा भाव र शैलीका कविता छन् मीठा–मीठा ।।

कवि श्री हरि पाण्डेय पथिक श्रेष्ठ साधक
ठूला विद्वान् हुन् भन्ने बुझ्नेछन् अब पाठक
बन्दना कालीको गर्दा लाग्छ यी कालीभक्त हुन्
आफ्नै पाखा–पखेराको भक्तिले देशभक्त हुन् ।।

लेखेछन् कविता बीस थपे तीन, बिटो पुग्यो
धेरै छन्द जुटाएका हुँदा सुन्दर यै भयो
छन्द मात्र पनि हैन रस शिल्प सुरम्य छ
सजावट पनि त्यस्तै हुँदा महत्वपूर्ण छ ।।

हाम्रा राष्ट्रकवि भन्छन् कविता छन् परिष्कृत
रामप्रसाद ज्ञवाली बुझ्छन् वेदान्त साधक
कलिलै छ अनुहार विचार वर्णनीय छ
तसर्थ म त यै भन्छु कविजीमा कवित्व छ ।।

भयो ऐले त आरम्भ यस्तो धेरै भइरहोस्
पुग्नु है कविजी चाँडै लक्ष्य उच्च भइरहोस्
तिमीले अझ लेख्नु छ लेख लेखिरहु सधैं
लेख्नुमा पनि मज्जा छ मान मज्जा सधैं–सधैं ।।

नारी, आँधी जुनै लेख राष्ट्र–राष्ट्रियता भर
कोपिला फुल्नद्यौ त्यस्मै फल फलाउने गर
जति सक्छौ तिमी लेख बाटो बनाऊ सुन्दर
तिम्रो जीवनको ज्योति बन्नेछ तब उज्ज्वल

शुभेच्छा म त यै गर्छु कविजीमा निरन्तर
मान–सम्मान भैराखोस् कविता अझ उज्वर
बाँचिराखून् कवि धेरै यस्ताले बाँच्नुपर्दछ
कविले कविताबाटै संसार हाँक्नु पर्दछ ।।
नयाँबानेश्वर, काठमाडौं