‘ट्रमा सेण्टरमा एमआरआई मेसिनको अभाव खट्किएको छ’ : डा मरासिनी

‘ट्रमा सेण्टरमा एमआरआई मेसिनको अभाव खट्किएको छ’ : डा मरासिनी


डा. रुद्रप्रसाद मरासिनी हाल राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख हुनुहुन्छ । प्रमुख मेडिकल सुपरिडेण्डेण्ट डा. मरासिनीले एमबिबिएस, एमएसको पढाइ पूरा गर्नुभएको छ भने स्पाइन सर्जरीको फेलोसिप पनि हुनुहुन्छ । संखुवासभाको खाँदबारीमा जिल्ला अस्पताल प्रमुख, वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा निर्देशक र यही विभागको इपिडिमियोलजि तथा रोग नियन्त्रण्मा महाशाखामा निर्देशक भएर काम गरिसक्नु भएको छ । उहाँसित घटना र विचारका लागि प्रमुख संवाददाता सुरेन्द्र सुवेदीले ट्रमा सेन्टरमा भइरहेका उपचारसमेतका विषयमा गरेको कुराकानीको सम्पादित अंश ।

■ राष्ट्रिय ट्रमा सेण्टरबारे छोटकरीमा प्रकाश पारिदिनुहोस् न !
– राष्ट्रिय ट्रमा सेण्टर नेपालको हाडजोर्नी, नशा तथा स्नायु, वर्न प्लाष्टिकसम्बन्धी समस्याको उपचार सेवा प्रवाह गर्ने एकमात्र केन्द्रिय स्तरको विशिष्टिकृत सरकारी अस्पताल हो । सन् १९९७, जुन ६ तारिखमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल नेपाल भ्रमणमा आउँदा भवनको शिलान्यास भएको र त्यसको ६ वर्षपछि सन् २००३ मा नेपाल र भारतबीच ट्रमा सेण्टर निर्माण गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार निर्माण गरिएको यो अस्पताल ११ वर्षपछि निर्माण सम्पन्न भएको थियो । २०७१ म्ांसिर ९ गते हालका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी नेपाल आएका बखत नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा यो सेण्टर सञ्चालनमा आएको हो ।

■ ट्रमा सेण्टरमा खास कस्ता बिरामीको उपचार गरिन्छ ?
– दुर्घटना, दैवी-विपत्ति, हिंसा, चोटपटकका कारणबाट हुने स्वास्थ्य समस्याहरू हाडजोर्नी, नशा, मुटु, शल्यचिकित्सा, प्लाष्टिक सर्जरी, नाक कान घाँटी, दन्तशल्य-चिकित्साको पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न तथा सवारी दुर्घटनामा परेकाहरूको मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालित यो अस्पतालमा १ सय ५० वटा साधारण शैय्या, आकस्मिक शैय्या ३२ वटा, ११ वटा आइसियु, ९ वटा एचडियू, ७ वटा पोष्टअपमा गरी जम्मा २ सयवटा नेपाल सरकारबाट स्विकृतिप्राप्त शैय्याहरू यहाँ रहेका छन् ।

■ बिरामीको चाप कस्तो छ ?
– हाडजोर्नी सेवाको लागि अझै विशिष्टिकृत आर्थोस्कोपी तथा आर्थोप्लाष्टि सेवाको पनि छुट्टै विभागको व्यवस्थापन गरि सेवा सन्चालन गर्न थालिएको छ । दैनिक ५ सयदेखि ६ सयसम्म बिरामीको चाप रहेको यस अस्पतालमा आवश्यकताअनुसार विशेष सरसल्लाहको लागि वीर अस्पतालबाट मुटुरोग तथा मानसिक रोग अस्पतालबाट मानसिक रोग विशेषज्ञको पनि विस्तारित सेवा कार्यक्रममार्फत बहिरङ्ग सेवा सञ्चालन गरिएको छ ।

चोटपटक लागेका बिरामीहरूको आकस्मिक शल्यक्रियाको लागि इमरजेन्सी विभागमा २ वटा शल्यक्रिया कक्ष र नियमित शल्यक्रिया गर्नको लागि एकैपटकमा ५ जनाको शल्यक्रिया गर्न मिल्ने अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष तथा अर्को एकवटा गरेर जम्मा ८ वटा शल्यक्रिया कक्ष सञ्चालनमा रहेको छ ।

■ गरिव विपन्न बिरामीलाई कस्तो सहुलियत दिने गरिएको छ ?
– आर्थिक वर्ष २०८०/८१मा यस अस्पतालमा सञ्चालित सामाजिक सेवा इकाईमार्फत नेपाल सरकारले तोकेका १२ वटा लक्षित समूहका ५ हजार ६ सय २२ जना बिरामीलाई १ करोड ७६ लाख ३६ हजार २ सय ९९ रुपैयाँवरावरको आंशिक तथा पूर्ण छुट सु्विधामा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

■ अस्पतालले दैनिक कति समय सेवा दिँदै आएको छ ?
– बिरामीलाई सहज तथा सुलभ सेवा दिनको लागि २४ घण्टे इमर्जेन्सी सेवा, विहान साढे ८ बजेदेखि वेलुका साढे ४ बजेसम्म नियमित बहिरङ्गसेवा र साढे ४ देखि ७ बजेसम्म विस्तरित बहिरङ्ग सेवा सञ्चालनमा रहेको छ । लक्षित समूहका विरामीहरूलाई छुट सेवा, स्वास्थ्य बीमा गरेका बिरामीलाइ बीमा, नेपाल सरकारले तोकेका कडा रोग लागेका विपन्न बिरामीलार्ई समेत सुविधा प्रदानगर्न २४सै घण्टा सातैदिन अविच्छिन्न सेवा प्रदान गर्नको लागि सामाजिक सेवा इकाईमार्फत सहजकर्ताको ड्यूटी मिलाएर २४सै घण्टा र विदाको दिनमा पनि एकजना सहजकर्ता रहने गरि व्यवस्था मिलाइएको छ । दुर्घटनामा परेका घाइतेहरूको व्यवस्थापनको लागि असहाय तथा बेवारिसे बिरामीको लागि निःशुल्क आकस्मिक स्वास्थ्य उपचारको व्यवस्थासमेत ट्रमा सेण्टरले मिलाएको छ । सवारी दुर्घटनामा परेका घाइतेहरूको सहज उपचारको गरी प्रारम्भिक आकस्मिक उपचार छिटो, छरितो, प्रभावकारीरूपमा गर्न व्यवस्था मिलाइएको छ ।

■ अस्पतालमा खास के-कस्ता समस्या छन् नि ?
– अस्पतालमा भौतिक पुर्वाधारको अनुपातमा धेरै घाइते तथा बिरामी आउने र अस्पताल शहरको बीचमा अवस्थित भएकोले अस्पताल विस्तार गर्न सम्भव नभएको, साथै दुर्घटनामा परेका बिरामीहरूको उपचारपश्चात पुनर्स्थापनाको लागि सरकारी संस्था पनि नभएको हुँदा समस्या देखिएको छ । दैनिक धेरै संख्यामा चोटपटक तथा दुर्घटनाका उपचारको लागि सेवाग्राही (बिरामी) आउने अस्पतालमा जाँच–पडतालको लागि भरपर्दो साधन एमआरआई मेसिन नभएकोले बिरामीको उपचारमा ढिलाइ हुने तथा जाँचको लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने जस्ता समस्या यहाँ रहेका छन् ।