स्थानीय तह सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज (१० असोज) देखि दल दर्ता खुला गरेको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचना प्रकाशित गरेको छ ।
आयोगले असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गते मतदान गर्ने लगायतको निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।
प्रतिक्रिया