पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवबाट भुटानको विशेष भ्रमण हुने भएको छ । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकको विशेष निमन्त्रणामा पूर्व श्री ५ बाट भुटानको भ्रमण गर्न लागिबक्सेको हो ।
थिम्पुस्थित हाम्रो समाचार सूत्रका अनुसार मौसुफलाई दुई महिना भन्दा पहिले नै भ्रमणको लागि निमन्त्रणा गरिएको थियो । तर, पूर्व श्री ५ बाट लामो मौनतापश्चात् भ्रमणको निमन्त्रणालाई स्वीकार गरिबक्सेको हो । मौसुफको भ्रमण चार दिनको हुने र असोजको तेस्रो सातामा थिम्पुतर्फ प्रस्थान हुने बुझिएको छ ।
भुटान र नेपालको राजपरिवारबीच पहिलेदेखि नै घनिष्ट सम्बन्ध रहिआएको छ । त्यसमाथि वर्तमान भुटानी राजा खेसरको जन्म नेपालमै भएको हो । इन्द्रराज्य लक्ष्मी प्रसुती अस्पतालमा मौसुफको जन्म भएकोले पनि नेपालप्रति भुटानी राजाको विशेष प्रेम र सम्मान रहेको बताइन्छ ।
दशैँको मुखमा हुन लागेको यो भ्रमण राजनीतिक दृष्टिले कति महत्वपूर्ण छ भन्ने कुरा परिणामहरूले मात्र बताउने विश्वास गर्न सकिन्छ । जे होस्, राजाको यो भ्रमण विशेष महत्वको हुने जानकारहरूको भनाइ छ।
प्रतिक्रिया