झापा बसेरै गायन र समाजसेवामा रमाइरहेका अर्जुन खरेल

झापा बसेरै गायन र समाजसेवामा रमाइरहेका अर्जुन खरेल


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

झापा जिल्लाको साविक गरामनी ४ कृष्णभिट्टामा वि.सं. २०३५ फागुन १४ गते बलराम र विष्णुमाया खरेलका पाँचौं पुत्रका रूपमा जन्मिएका अर्जुन खरेल पेशाले गायकको पहिचान बनाएर स्थापित व्यक्ति हुन् ।

हाल भद्रपुर १० चन्द्रगढीका स्थायी बासिन्दा खरेलको औपचारिक संगीत यात्रा वि सं २०६० बाट तिम्रो आगनम सँगै… गीतको रेकर्डबाट सुरू भएको हो ।

दुई चुल्ठी… गीतसम्म आइपुग्दा दुई दर्जनबढी चर्चित गीत श्रोता माझ ल्याइसकेका खरेलको स्वरले देश विदेशसम्म पहिचान पाइसकेको छ । पछिल्लो समय चलचित्र गायनमा समेत सक्रि खरेलले फर्मुला लगायत चलचित्रका लागि स्वर दिइसकेका छन् । खरेलले भिडियो बन्नुअगाडि नै दुई चुल्ठी गीतको माध्यमबाट निकै चर्चा कमाइसकेका छन् ।

सानै उमेरबाट शोखका रूपमा गायन क्षेत्रमा लागेका खरेलले कालान्तरमा पेशा बनाएर गीत संगीतमै जीवन समर्पण गर्न पुगेका छन् ।

वि.सं २०६५ मा हल्दिवारीकी नमिता दंगालसित वैवाहिक जीवनमा प्रवेश गरेका खरेलका एक छोरा एक छोरी गरी दुई सन्तान रहेका छन् । पारिवारिक दायित्व तथा जिम्मेवारी बहनका लागि समेत गायन कलाको उपयोग गरिरहेका खरेलले झापा, इलाम, मोरङ लगायत प्रदेश १ देखि नेपालभित्रका अधिकांश सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् ।

उनको कलाको उच्च मूल्याङ्कन गर्दै २०७४ सालमा उपराष्ट्रपतिको हातबाट राष्ट्रिय प्रतिभा सम्मान समेत प्राप्त गरेका छन् । त्यसयता खरेलले स्थानीय, क्षेत्रीय तथा प्रदेश स्तरीय सयबढी सम्मान तथा नगद सहित पुरस्कार प्राप्त गरिसकेका छन् ।

पछिल्लो पटक खरेलले चलचित्र गायन वापत छाँया छवि सम्मान समेत प्राप्त गरेका छन् । गायन कला प्रस्तुत गर्न उनले नेपाल बाहिर विभिन्न देशमा समेत जाने अवसर पाइसकेका छन् ।

अर्जुनको गायनसित गाँसिएको अर्को पक्ष समाजसेवा पनि हो । स्थानीयदेखि राष्ट्रि स्तरसम्मका आपत विपतमा सहयोगका लागि उनले हरतरहले सहयोग गर्ने गरेका छन् । अनाथलय, बृद्धाश्रम जस्ता संस्थामा हरेक वर्ष केही न केही सहयोग गर्नु उनको नित्य कर्म बनिसकेको छ । खरेलले संगीत, नाट्य तथा समाज सेवा जस्ता काम समान गतिमा अगाडि बढाइरहेका छन् ।

पछिल्ला केही वर्षयता पुष्पखेतीमा समेत सकृय खरेलले आफ्नो उर्वर समय माटोमा रमाउने तथा उन्नतिका लागि कृषि कर्ममा युवा सहभागिताका लागि पुष्प व्यवसाय गरिरहेका छन् । अर्काको देशका अनाज उपजमा भर पर्नु हुँदैन भन्ने मान्यता बोकेका खरेलले अवको क्रान्ति व्यवसायिक कृषि भएको महशुस समेत गरिरहेका छन् ।

२०७० सालमा मेरो गीत.. नामक एकल गीति संग्रह प्रकाशन गरेका खरेलले सन् २०१४ मा प्रवासी नेपाली सङ्गीत प्रतियोगितामा वेष्ट पर्फर्मेन्सको उपाधिसमेत जितेका थिए । झापामै बसेर सामाजिक गतिविधि र गायन सेवा प्रवाह गरिरहेका खरेलको असल मान्छे बनेर बाँचुञ्जेल देशका लागि केही न केही गर्ने इच्छा छ । झापाली भूगोलमा भेटिने खरेललाई गायक मात्र नभएर सामाजिक अभियन्ताका रूपमा चिन्ने मानिसहरूको संख्या पनि निकै ठूलो छ ।

लोकभाकालाई गायनको मूल श्रोत मान्ने अर्जुन खरेल हरेक पटक केही न केही नयाँ सोचका साथ गायनमा रमाउने गर्छन् । खरेलले पछिल्लो पटक मारवाडी भाषाको राष्ट्रिय गीतमा स्वर दिएर रेकर्ड गरिसकेका छन् । अग्रजको सम्मान र नयाँको संरक्षण गर्नुपर्छ भन्ने सोच भएका खरेलले झापामै रहेर नेपाली गीत संगीतमार्फत नेपाल चिनाउने महत्वकांक्षा पालेका छन् । राम्रो गायक बन्न काठमाडौं धाउनुपर्छ भन्ने मान्यताविपरीत मोफसलमा रहेर पनि सबैले चिन्ने गायक बन्न सकिने विश्वास पालेका खरेललाई अब बिस्तारै समाज र देशले पनि चिन्ने वातावरण भने उनका गीत–संगीतले बनाउन थालेका छन् ।