शक्ति उपासनाको पर्व विजयादशमी

शक्ति उपासनाको पर्व विजयादशमी


वैैदिक शास्त्रअनुसार एक वर्ष (संवत्सर) मा चारवटा दशैँ हुन्छन् । ती सबै दशैँमा नवदुर्गा भवानीको पूजा–अर्चना गरिन्छ । आषाढ शुक्लमा ग्रीष्मकालीन नवरात्र, आश्विन शुक्लमा शारदीय नवरात्र, माघ शुक्लमा शिशिरकालीन नवरात्र र चैत्र शुक्लमा वसन्तीय नवरात्र पर्दछन् । ती सबै दशैँको आफैंमा ठूलो महत्व हुन्छ । तर, समाजमा शारदीय नवरात्र र वसन्तीय नवरात्रलाई मात्र मान्ने चलन चलिआएको छ ।

शास्त्रीय मान्यताअनुसार चारवटै दशैँको महत्व रहेको छ । मध्ययुगसम्म चारवटै दशैँ धुमधामले मनाउँदै आएकोमा अहिले शारदीय र वसन्तीय नवरात्र मात्र मनाउने गरिन्छ । आषाढ शुक्लमा पर्ने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा पर्ने शिशिरकालीन नवरात्र मनाउने गरिएको छैन । चारवटै दशैँंमा पूजा-अर्चना नवदुर्गाकै गरिन्छ । यी सबै नवरात्रको आ-आफ्नै विशेषता छन्, जसमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्नाभिन्नै रहेको छ । तथापि, अहिलेसम्म पनि अत्यन्तै नियममा रहने तान्त्रिकहरूले भने नियमित चारै नवरात्र दशैँं मनाउने गरेका छन् ।

अहिले आश्विन शुक्लमा मनाइने बडा दशैँलाई शारदीय नवरात्र र चैत्र शुक्लमा पर्ने चैतेदशैँलाई वसन्तीय नवरात्र मनाउने गरिन्छ । चैते दशैँ भनेर चिनिने चैत्र शुक्ल पक्षको १० दिन चैतेदशैँं अहिले पनि मनाउँदै आएका छौँ । वैदिक सनातनीहरूको मौलिक पर्व दशैँको महत्व ठूलो रहेको छ । ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्णपक्ष भनेको राति हो । यी सबै किसिमका दशैँंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्री पूजाबाहेक अरू सबै पूजा दिउँसोमा गर्ने गरिन्छ । विश्वमा १ अर्ब ५० करोडभन्दा बढी हिन्दु धर्मावलम्बी छन्, जसमध्ये ९६ प्रतिशत दक्षिण एसियामा बसोबास गर्छन् ।

नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, मौरिसस, फिजी, सुरिनाम, गयाना, ट्रिनिडाड र टोबागो, संयुक्त अधिराज्य, क्यानडा र संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा हिन्दु धर्मावलम्बीहरू उल्लेखनीय संख्या पाइन्छ । सबै हिन्दु धर्मावलम्बीका आस्था विश्वास त्रिदेव ब्रह्मा, बिष्णु, महेश्वर, दुर्गा भवानी, देवी देवता, तेत्तिस कोटीमा समान छ । आस्था र विश्वास समान भए पनि स्थानअनुसार चाड पर्व मनाउने संस्कृति फरक-फरक छन् । जबमुद्वीप आर्यवर्त क्षेत्र मानसरोवरदेखि कन्याकुमारीसम्म वैदिक भूमि हो । यस भूमिमा बसोबास गर्ने सबै मानवको साझा चाड विजयादशमी हो । धार्मिक र सांस्कृतिकरूपमा सनातनीहरूले पुजाआजाका लागि धान-चामल, जौ, तील र विभिन्न रंगका रंगहरू, फलफूल प्रयोग गर्छन् । ती सबैलाई भगवानका प्रतीकरूपमा प्रयोग गर्ने गरेका छन् । संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ ‘शाश्वत धर्म’, ‘अनन्त मार्ग’ भन्ने बुझिन्छ । परम्परादेखि चल्दै आएका पर्व संस्कृति मनाउँदै आएका छन् । कतिपय पर्वहरू लोकविश्वासका आधारमा मनाउँदै आएको सर्वविदितै छ ।

यसैक्रममा वैदिक सनातनीहरूको महान् पर्व आश्विन शुक्लपक्षको प्रतिपदादेखि पुर्णिमासम्म मनाइने पर्व दशैँ हो । यो चाड १५ दिनसम्म मनाइन्छ । प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजा-आराधना गरिन्छ । त्यसैले यसलाई नौरथा, नवरात्र अथवा नवरात्री पनि भनिन्छ । यी देवीहरू हुन्- शैलपुत्री, ब्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने जनविश्वास छ । नौवटी देवीको पूजा-आराधना गरेपछि नौरथाको नौ दिनमा नवग्रह पूजा गर्ने परम्परा रहेको छ । प्रतिपदामा मङ्गल द्वित्तीयामा राहु, तृतीयामा बृहस्पति, चतुर्थीमा शनि, पञ्चमीमा बुध, षष्ठीमा केतु, सप्तमीमा दिन शुक्र, अष्टमीमा सूर्य एवं नवमीमा चन्द्रमाको ग्रहशान्ति पूजा गर्ने चलन चल्दै आएको छ ।

‘नवरात्र’ शब्दले नौ अहोरात्र (रातहरू) भन्ने जनाउँछ । यस समयमा शक्तिका नौ स्वरूपहरूको पूजा गरिन्छ । ‘रात’ शब्दले सिद्धिलाई जनाउँछ । हाम्रा ऋषिमुनिहरूले दिनलाई भन्दा रातलाई बढी महत्त्व दिएका छन्, त्यसैले दीपावली, शिवरात्री र नवरात्री जस्ता चाडहरू रातमा मनाउने परम्परा छ । हाम्रो शास्त्रमा वर्षमा चार नवरात्रको बारेमा बताएको भएपनि दुई नवरात्र धेरै प्रचलनमा रहेको छ र आषाढ र पुषमा आउने नवरात्र त्यति धेरै प्रचलनमा रहेको छैन, त्यसैले आषाढ र पुषको नवरात्रलाई गुप्त नवरात्र पनि भन्ने गरेको पाइन्छ । नेपालीहरूले विशेष गरेर शारदीय नवरात्र अर्थात् शरद् ऋतुको आश्विन शुक्लपक्षमा आउने नवरात्रलाई विशेष गरेर मनाउने परम्परा रहेको छ । नवरात्रमा विभिन्न यज्ञ-अनुष्ठान, मन्त्र जप, दुर्गा पुजा, दुर्गा शप्तशती पाठ, तान्त्रिक सिद्धिको लागि उपासना गरिन्छ । त्यसैले नवरात्रमा शक्तिको उपासना हुने भएकाले देवीलाई शक्ति स्वरुप मानिएकाले गर्दा नवरात्रमा देवी पुजा गर्ने गरिएको हो । शक्तिको उपासना भनेको आफूमा रहेको शक्तिलाई जगाउनु हो । त्यसैले आफ्नो भित्रको शक्ति उजागर गर्न चाहने जो-कोहीले नवरात्रमा शक्तिको उपासना गर्नुपर्छ र यदि उपासना गर्न सकिँदैन भने पनि तामसी भोजन त्यागेर शाहाकारी भोजन गरेर शक्ति जगाउनु पर्दछ ।

नेपालीहरूले यो नवरात्रलाई देवीले महिषासुरमाथि विजय प्राप्त गरी देवता र मानवको रक्षा गरेको खुसीमा मनाउने गरिएको जनविश्वास छ । आश्विन शुक्ल प्रतिपदाको दिन देवीको घटस्थापना गरी जमरा विधिपूर्वक छरेर नौ दिनसम्म नियमित जमराको पुजा गरेर नवौँ दिनको दिन त्यसलाई देवीमा अर्पण गरेर दशमी दिन त्यो जमरा लगाइन्छ । यो पर्वको नवरात्र सकिएपछि दशमी तिथिलाई देवीले महिषासुरमाथि विजय प्राप्ति गरेको दिनमा आफ्नो मान्यजनबाट टीका-जमरा लगाउने र आशीर्वाद लिने चलन चल्दै आएको छ । भारतमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूले विजयादशमीलाई रामले रावणलाई मारेको सम्झनामा मनाउने र त्यसलाई दशहरा भन्ने गर्दछन् ।

वास्तवमा चाडपर्व मानवजीवनको एक साधनामय महोत्सव हो । सम्बन्धभित्र लुकेको आत्मीयता साटासाट गर्ने भातृत्व र एकताको पर्व हो । संस्कृति, रीतिरिवाज र चाडपर्व हाम्रो सभ्यता, संस्कार र परम्परा हो । यही सभ्यता, संस्कार र परम्पराले गर्दा नै हामीले विश्वमा छुट्टै अस्तित्व कायम राख्न सफल भएका छौँ । दशैँका बेला आफूभन्दा ठूला, मान्यजन अनि अग्रज आफन्त दशैँमा टीका लगाउँदा यसरी पुरुषलाई र महिलालाई छुट्टाछुट्टै मन्त्र उच्चारण गरी आशीर्वाद दिने चलन चल्दै आएको छ । पुरुषलाई दिइने आशीर्वाद-

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वयं नहुषे गतिश्च पवने मानंच दुर्योधने ।।
सौर्य शान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुते ।
विज्ञानं विदेरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसमा अष्ठचिरञ्जीवीको जस्तो दीर्घायू, राजा दशरथको जस्तो धनसम्पत्ति, रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति, भीष्मका पराक्रम अनि कृष्णका दाजु बलरामको शक्ति, युधिष्ठिरको सत्यवादिता, विदूरको ज्ञान-विज्ञान अनि नारायणको अविनाश कीर्तिहरूको सन्देश गाँसिएको छ । महिलाहरूलाई दिइने आशीर्वाद मन्त्र यस्तो रहेको छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमस्तुते ।।

नारीलाई देवीशक्तिका रुपमा पूजा गर्ने हाम्रो सनातन परम्पराअनुसार नारीलाई देवीकै अवतारका रूपमा लिइन्छ । यसरी दशैँँले मानव सभ्यता र यसको सृष्टीलाई धर्मका माध्यमद्वार बलियो गरी बाँधेको हुन्छ ।

जे होस्, अनेक संस्कृतिले भरिपूर्ण हाम्रो देशमा यस्ता हरेक पर्वले सामाजिक सद्भाव, भ्रातृत्व अनि हरेक समुदाय र समाजलाई प्रेमिल बनाउन सघाइरहेका हुन्छन् । हर्षोल्लासका साथ पर्व मनाउने गरिन्छ । एक उत्साहपूर्ण र अर्थपूर्ण पर्व विजयादशमी सांस्कृतिक अभ्यासहरू वैदिक परम्पराका गहिरा आध्यात्मिक र दार्शनिक शिक्षासँग जोडिएको छ । शक्तिको उपसना, भक्ति, समपर्ण, प्रेम र सद्भाव बोकेको यो पर्वमा सबै मानव समुदायलाई दशैँ, तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।