✍ श्याम लम्साल
ठेला उठेका हातहरू
ठेला उठेका पैतालाहरू
ओढेर श्रमको पछ्यौरी
पट्पटी फुटेका अङ्ग प्रत्यङ्गहरूले
ठिङ्ग उभिएको
यसपालिको दशैँलाई पनि
शुभकामना दिइरहेकै छन्
ठेला उठेका हातहरू
खुट्टा पनि
फोका फुट्दा
पानीअमला निचोरिए जसरी
श्रमका, मुल्य मान्यताका थोपाहरू
खस्छन् धरतिमा
एक भुँडी अन्नका लागि
तड्पिरहेको मानव आकृति
आङ ढाक्नकै लागि
बास खोज्नकै लागि
पानीअमलारूपी ठेला उठाउँदै
मानव हुनुको अस्तित्वलाई जिवन्त राख्न
यसपालिको दशैँमा पनि
भनिरहेछ शुभकामना !!
- दिङ्ला भोजपुर
प्रतिक्रिया