इतिहासको एक प्रतीकात्मक विम्ब (महाराजको भूत)

इतिहासको एक प्रतीकात्मक विम्ब (महाराजको भूत)


साहित्य जीवनको अभिव्यक्तिको माध्यम हो । यसले समाज बोलेको हुन्छ । समय बोलेको हुन्छ । ऐतिहासिक दस्तावेज पनि हो साहित्य । वर्तमानको प्रमाण हो, भविष्यको खाका पनि । यसको प्रस्तुतकर्तामात्र लेखक हो, जसले भोग्छ, देख्छ, छाम्छ, चाख्छ, महसुस गर्छ, कल्पना गर्छ । कतिपय कल्पना त्यहाँ गएर यथार्थमा बदलिन्छ जहाँ उसले साँच्चै देखेको हुन्छ, जसको लागि लेखेको हुन्छ । कतिपय घटना जुन उसले भोगेको हुन्छ । चाखेको हुन्छ । जहाँ ऊ डुबेको हुन्छ । तिनै कुरालाई पात्रमा बदलेर उसले त्यही समाजलाई, त्यही समाजका सामु उजागर गरिदिन्छ । जुन उसले देखेको हुन्छ, अरूले नदेख्न पनि सक्छन् । देखेर पनि वास्ता नगरेको हुन सक्छ वा देखेको घटनालाई के गर्ने, कसो गर्ने ? केही थाहा नभएर भित्रभित्रै उकुसमुकुस भएर बसेको हुन्छ । लेखक जसले आफैंभित्रको उकुसमुकुसलाई त सहेर बस्दैन–बस्दैन, अरूभित्रको उकुसमुकुसलाई पनि बोध गर्छ, छाम्छ, मुसार्छ, आँकलन गर्छ अनि त्यसको सत्यतथ्य सकेसम्म बाहिर ल्याउँछ, सबैलाई बाँड्छ अनि दङ्ग पर्छ । आफैं मात्र होइन, दुनियाँलाई दङ्ग पार्छ ।
दुनियाँसँग आफ्नो भोगाइ, देखाइ, महसुस गराइलाई बाँड्नकै लागि प्रस्तुतकर्ता भएर यहाँ ठिङ्ग उभिएका छन् साहित्यकार राजेश्वर देवकोटा । हुन त उहाँको परिचय अथाह छ । एक विचारपुरुष, एक राजनीतिज्ञ, जसले देशका सबैजसो राजनीतिक घटनाको साक्षी बन्न पाएको छ, एक दार्शनिक अनि ती सबै मिलाएर पनि एक साहित्यकार । यस्ता साहित्यकारको अनेक उत्कृष्ट कृतिहरूमध्ये एक कृति महाराजको भूत, जसमा इतिहास ह्वाङ्ग भएर उघ्रिएको छ एउटा परिवेशभित्र । जसले यसलाई देख्न सक्छ, उसले एउटा ऐतिहासिक प्रमाणको रूपमा लिन्छ, वर्तमान बोलेको पाउँछ अनि भविष्यको रूपरेखा देख्छ । अनि नदेख्नेलाई त के भन्न सकिन्छ र ? मात्र सकिन्छ यी हेर्नुस्, यो यसरी प्रस्तुत भएको छ । यसरी बगेको छ, बेरोकतोक बाटो देखाउनेगरी । हेर्न नचाहनेका लागि अब केही भन्न सकिन्न । हेर्न चाहनेका पक्कै आँखा ठूला हुन्छन्, तीखा हुन्छन् ।
महाराजको भूत वास्तवमै भूत बनेर आएको छ तर्साउनेगरी । त्यो तर्सन्छ, जसले कालो खाएको छ । प्रमाणको रूपमै कालो नै बाहिर आउँछ । लेखकले आपूूmले देखेका, भोगेका, छामेका, आँकलन गरेका कुराहरूलाई जस्ताको तस्तै राखेका छन्, खाली पात्रमात्र फरक हुन्, घटना सत्यतथ्य । लेखक आफैं भन्छन्, ‘तनोट यथार्थ हो, बुनोट मेरो हो, हेर्नेले आफ्नो र आफ्नो कालको अनुहार देख्न सकोस् । कोही मिसिन्छन्, कुनै निस्कन्छन्, जात्रा जानेको लर्कन चलिरहन्छ । कथा चलिरहन्छ । पात्र बदलिइरहन्छन् ।’
साहित्यिक विद्वान् हड्सनको भनाइलाई यस उपन्यासले उजागर गरिदिएको छ । हड्सनको भनाइमा उपन्यास भनेको इतिहास नै हो । खाली उपन्यासमा नाम र तिथिबाहेक अरू सबै कुरा सत्य हुन्छन् र इतिहासमा नाम र तिथिबाहेक अरू सबै कुरा असत्य हुन्छन् ।’ हड्सनको भनाइले यस उपन्यासलाई कसी लगाउनुपर्ने अवस्थाले यो भनिएको होइन तर उपन्यासले बोलेको सत्यलाई नकार्न नसकिने अवस्थाले नै यो भनाइलाई यहाँ सान्दर्भिक ठानिएको हो । खासमा उपन्यास ‘महाराजको भूत’ एक उपन्यास नै हो, विशुद्ध उपन्यास नै ।
उपन्यास सुरु हुन्छ ठमेलमा तरकारी पसल थापी बस्ने कान्छाको ढल्किँदै गएको जवानीबाट । नेवारी परिवेशले उपन्यासलाई अगाडि बढाएको छ, सबैको प्रतिनिधित्व हुनेगरी, जहाँ ज्यापूले तरकारीको चाङ लगाउँछन् । कसैलाई केही लोभ देखाएर फनफन घुमाइन्छ रोटेपिङ घुमाएझंै गरी किनकि कसैको कमजोरी थाहा पाउनु, स्वार्थीहरूका लागि स्वार्थ लुट्ने उत्तम उपाय नै हो । त्यहीँ शान्तिको जवानी पनि ढल्किन्छ, सम्पत्तिका लागि काका भनौदो गणेशबहादुरको लोभी नजरमा । तर, टिक्न सक्दैन गणेशबहादुरको लोभी नजर धेरै दिन, विद्रोही शान्तिको कदममा । चकनाचुर हुन्छ ¥याले सपना अनि फनफनाउँछ घुमाउने लागेको पशुझैं विद्रोहीको पदचाप पछ्याउँदै, चाहे त्यो असफल प्रयास नै किन नहोस् । लाखौँ गणेशबहादुर समाजमा छन् तर खाँचो छ विद्रोही शान्तिको । आवश्यकता टट्कारो देखाएका छन् लेखकले ।
यसरी पोयो लगाएको उपन्यासले साहु, महाजन र किसानका बीचलाई छोएको छ । साना उद्यमीलाई खर्लप्पै पार्ने सोचले अवैध महाजनहरू भनौँदाहरूले कम्मर कसेको कुरालाई पनि उठाएको छ । जातथरको होडबाजी चलेको बेला पर्खालभित्र जन्मिएर पर्खालबाहिर फ्याँकिएका नाबालकहरूको पीडालाई सुमसुम्याएको छ । कुर्सी र भत्ताका पिपासुहरूका सामु एउटा पोडे जसलाई समाजले पछाडिबाट गन्छ, उसको छोटो भनाइले झापट हानेको छ यसरी ‘पेन्सन ! पेन्सन ! बाँकी जिन्दगी पनि पापको पेन्सन खाएर बाँचौँ ? छीः, जति पाप गरेँ, अब त्यो धुनुपर्छ ।’ निमुखा कर्मचारी वर्गलाई पनि अङ्गालेको छ ‘जहान छोराछोरी र पेट त सिपाहीहरूको र तिम्रो उस्तै होला, तिमी २०० खाने, सिपाहीलाई ७ रुपैयाँले पुग्छ ?’ चाकडी सभ्यतालाई देखाएको छ ‘कसको भाग्य कति बेला पल्टन्छ के थाहा । सम्भावनाबाट को वञ्चिन रहन चाहन्छ ?’ शक्ति दुरुपयोगलाई दर्शाएको छ ‘म पनि त सर्दारको भाइ यस्तै उपद्रव गर्थें तर तिनताक महाराज थिएँ ।’ वर्तमान भनेको भूतबाटै आएको हुन्छ ‘महाराज गए पनि म भूत यहीँ छु ।’
एउटी नारीको अतुलनीय भूमिका, नारीका बफादारिता, एउटी अबला नारीलाई भूमरीमा पारेर अवैद्य सन्तानको माता बनाउँदा पनि भरोसा दिन सक्ने अर्की नारीको सकारात्मक विचार, जस्तोसुकै सिद्धान्तको रटान लगाए पनि चिल्लोपिरो, सुरा र सुन्दरी, भुवादार गद्दा, कवाव र पुलाउमा भुल्ने नाटकी मानव, सामाजिक परिवर्तन, क्रान्तिका नाटकहरू, हराएको संस्कृति, आधुनिकीकरणका नाममा अपच परसंस्कृतिग्रहण, कलात्मकताको लोप, कुलतको संस्कृति, परिवर्तन गर्छु भन्नेहरू नै आफैं–आफैं लड्दै ठिक्क भएको यथार्थलाई सलल बगाउँदै कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिरका मानिसलाई व्यङ्ग्य गर्दै इतिहास कहिल्यै मर्दैन । अभियान कथा चलिरहन्छ, पात्र मात्र बदलिइरहन्छ भन्ने सत्यलाई उजागर गरेको यो उपन्यास इतिहासको एक प्रतीकात्मक विम्ब हो । – यशु श्रेष्ठ