लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ


रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।

सिरहाको लहान नगरपालिका-४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेको अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान-२३ का ४२ वर्षीय रमाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको छ । यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिएका छन् ।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले जानकारी दिए ।