✍ श्याम लम्साल
बेसाहा बेसाउँदै
रगत बेचेर खुशी मनाउँदै
पसिनाको गन्धबाट टाढा भाग्ने
मेरो गाउँमा
पोहोरपरार झैँ
यसपाली पनि आएछ तिहार !
पुर्खाहरू
मानो रोपेर मुरी फलाउँथे
घट्ट, कोल र ढिकी जाँतो
आफै चलाउने
आफ्नै अन्नपातका मालिक आफै थिए
आफ्नै पौरख, पुरूषार्थ र दशनङग्राका परिश्रमको फल
ग्रहण गर्थे आफै
आफ्नाहरूलाई पनि तृप्त पार्थे
कर्मबाट थाकेको ज्यानलाई
आराम र पोषण भर्न
तिहार मनाउँथे उहिले उहिले,
आफ्नै सन्तानको रगत बेचेर
खेतबारी बाँझो भएपनि
मुग्लानिनेहरूका इतिहासलाई
जीवन्त राख्दै
विप्रेषणको उत्साह र उमङ्गको पसिना अनि रगतको आडमा
मुस्कुराउदै, फाइँफुट्टी लगाउँदै
आइपुगेछ यसपालिको तिहार पनि
■ भोजपुर दिङ्ला
प्रतिक्रिया