ब्यंग्योक्ति
‘… न हवाइभाडा तस्करी रोक्न सक्यौ न त हवाइयातायातमा न्युनतम सुधार गर्न सक्यौ ! कालु पाँडेको विरासत थामौला भन्ने अपेक्षा राखेको ब्यक्ति आलु पाँडे सावित भयौ…’
✍ ज्ञानमणि भुर्तेल
उहिले मेची क्याम्पसमा प्राध्यापक मोहनराज शर्माले दाजुहरूलाई पढाउँदा मैले झ्यालबाट सुनेको- ‘यो दुनियाँ जे छ बारुदको ढेरमा खडा छ । और पागलहरू बिडी पिएर बगलबाट गुज्रिरहेछ !’ उहाँको लवजमा बनारसी टोन मिसिन्थ्यो ।
अर्को प्रसङ्ग- हाम्रो आलोक साप्ताहिक समयमा नपुग्दा धुलाबारीका ब्यापारीले पत्रिका रुमालझैँ हल्लाउँदै दाजुतिर हेरेर भनेका थिए- जमाइँ बाबु ! यो जो कागजको दुकानदारी गर्दैहुनुहुन्छ.. तरिका से गर्नुस् नत्र ताला मारिहाल्नुस् !’ उनले पत्रकारितासमेत भनेनन्, कागजको दुकानदारी भन्दिए !
भोगाइ अलिक पुरानो भएपनि प्रासंगिक छ !
गत फागुन १३ गते बुद्ध एयरको ब्यवस्थापनले यी दुई प्रसङ्ग स्मरण गराइदियो । १३ गते दिनभरी पुर्वाञ्चल विश्वविद्यालयले दिएको परीक्षाको जिम्मेवारीको बर–बुजारथका लागि विराटनगर पुगेर साँझ ६.३० सम्म काम सक्ने अनि १४ गते काठमाडौंमा भतिजीको विवाहमा सामेल हुने सोचले ७.१५ को अन्तिम जहाजको टिकट लिइयो ! परीक्षाको लामै झन्झट भएकोले अन्तिम उडान चैँ भ्याइएला भन्ने सोच बनाएकोमा बिहान १० बजेतिर काठमाडौंबाट फोन आयो- सर नमस्ते ! हजुर ज्ञानमणि भूर्तेल हो ?
ओहो ! कोकिलकण्ठ !! महिला स्वर !!
दङ्ग पर्दै जवाफ फर्काइयो- हो हजुर ! को बोल्नुभो होला ?
म बुद्ध एयर सस्तो टिकटबाट !
उत्साह अलिक खस्कियो, तैपनि सोध्नैपऱ्यो- भन्नुस् के थियो होला ?
तपाईंको ७.१५ को टिकट ५.१५ मा सार्दिएका छौँ ! तपाईं ५ बजेभित्र एयरपोर्ट आईपुग्नुपर्ने भो !
दिमाग चकरायो ! आफू ७ बजे भ्याउने-नभ्याउने टुङ्गो छैन ! उता झन् दुई घण्टाअघि एयरपोर्ट पुग्नुपर्ने उर्दी !
कसलाई सोधेर सारेको नानी ?
सर ! हाम्रो लाष्ट फ्लाइट केन्सिल भयो, त्यै भएर अगाडि सारेको हो ! कसैलाई सोध्नैपर्दैन नि !
उनको जवाफले रन्का छुट्यो– सरी नानि ! म दिउँसो सबै काम सकेर बेलुका काठमाडौं पुग्ने सुरले टिकट लिएको हो । अगाडि आउन त भ्याउँदिनँ ! अहिले झापा छु, म सात बजे एयरपोर्ट आइपुग्छु ! अरु कुरा जान्दिनँ.. तिमीले कोसँग के कुरा गर्नुपर्छ, गर ! यस्तो व्यावसायिक मजाक नगर मसँग ! मेरो चर्को स्वरले नानी अलिक नरम हुँदै बोलिन्– ओके सर ! म माथि कुरा गरेर हजुरलाई कलब्याक गर्छु ! मैले पनि नारीजातिसँग पंगा लिएर खतरा मोल्न चाहिनँ ! अभियन्ताहरू छ्याप्छ्याप्ति भेटिने काठमाडौकी मैयालाई तर्साएर कडेल हुनु थिएन ! जय नारीको नारा गुन्जिन सक्ने सम्भावना पनि उत्तिकै ! फोन राखियो ! उनको कलब्याक पनि आएन कलफ्रण्ट पनि आएन ।
करिब १५ मिनेटपछि फोन आयो- सर नमस्ते ! म विराटनगर एयरपोर्टबाट… चौधरी ! कुरो उही…, ७.१५ को टिकट ५.१५ मा सारियो ! ५ बजे एयरपोर्ट आईपुग्नुपर्ने उर्दी !
ए भाइ ! मजाक नगर न हौ !! अघि एउटी नानीले पनि यसैगरी फोन गरेकी थिइन् । म ७ बजेभन्दा अघि आउन सक्दिनँ ! सबै काम सकेर बेलुका प्लेन चढ्ने भनेर समय मिलाएको पो हो त ! अहिले ५ बजे साऱ्यौ ! केहीबेरमा ४ गरौला अनि फेरि ३ गरौला ! तिमीले जतिबेला बोलायो त्यतिबेला म कसरी आउन सक्छु भाइ ?
सर प्लिज ! हाम्रो प्रोब्लेम बुझिदिनु पऱ्यो हजुरले ! लास्ट फ्लाइट केन्सिल भएर यो रिक्वेस्ट गरेको हो ।
तिम्रो रिक्वेस्ट तिमिसँगै राख भाइ ! तिम्रो रिक्वेस्ट सुन्ने म रिक्वेस्ट अधिकारी हो र ? म सात बजे आइपुग्छु अरु कुरा जान्दिनँ ! मेरो स्वर अलि चर्को नै भएछ क्यारे भाइ बोल्यो– सर बिस्तारै बोल्दा पनि म सुन्दैछु त ! यसरी नहप्काउनुस् न !
तिमीहरूलाई त हप्काउने मात्रै हैन ठटाउनैपर्ने पो रैछ त ! यस्तो व्यवहार गरेपछि हप्काइले मात्रै पुग्दैन भाइ !
हुन्छ सर ! तपाईंले मलाई हप्काउँदा पिट्दा हजुरको चित्त बुझ्छ भने म केही भन्दिनँ ! कोढि गोरु जोत्दाजोत्दै सुतेझैँ उ पनि सुतिदियो ! मनमनै हाँसो उठेपनि हाँस्न भएन !
अब के उपाय छ त भाइ ? तिमी नै भन !
म तपाईंको टिकट रिफण्ड गर्दिन्छु सर ! मैले गर्न सक्ने त्यही हो !
ओके.. अँ.. ! यदि म सात बजे नआइपुगेर प्लेन छुटेको भए या मैले जान्न पैसा फिर्ता देउ भनेको भए तिमी फिर्ता गर्थेउ त ?
त्यो त हुँदैनथ्यो सर ! सस्तो टिकट रिफण्ड हुँदैन !
अनि ! तिमीले गर्दा चैँ मैले फिर्ता लिनुपर्ने मैले गर्दा चैँ नदिने ? मानौँ मैले फिर्ता लिएँ रे ! फिर्ता गर्दा चैँ कति गर्छौ भाइ ?
तपाईंको टिकटबराबरको फिर्ता गर्ने हो सर !
मैले अर्को खोचे थापेँ- मैले नर्मल टिकट लिएर केन्सिल गरेको भए तिमीले पूरै पैसा फिर्ता दिन्थेउ कि काट्थ्यौ भाइ ?
काटिन्छ नि सर ! हाम्रो रुल्स नै यस्तै छ !
ओके.. म पैसा फिर्ता लिन्छु तर तिमीले मलाई एक लाख फिर्ता गर्नुपर्छ ! है त ?!
त्यो त कसरी सम्भव छ र सर ? हाम्रो रुल्समा यस्तो छैन !
मेरो रुल्स अब यस्तै बन्छ ! तिमीहरूले मनपरी गर्न हुने ! मैले लाख रुपैयाँ दाबी गर्न किन नहुने ? लाख रुपैया क्षतिपूर्ति देउ.. म हेलिकप्टर मगाएर काठमाडौं जान्छु ! दिएनौ भने मेरो दाबी लिएर अदालत जान्छु, तर छोड्नेवाला छैन !
यो मेरो हातमा छैन सर ! म त सानो कर्मचारी मात्र हो ! म के भनौं हजुर ?
तिमिले केही भन्नुपर्दैन ! तिम्रो एमडीको नम्बर देउ ! म उहाँसँगै कुरा गर्छु ! वीरेन्द्र बस्नेत हैन त तिम्रो एमडी ?
उहाँले पनि दिनुहुन्न सर ! मसँग नम्बर पनि छैन ! प्लिज सर !!
नदिएर हुन्छ ? तिम्रो पो बोस होलान्, मेरो त काका हुन् ! बुवाको साथी ! पुर्ख्यौली घर भोजपुर हैन त ? ठुलो बुवाबाट उहाँको बारेमा हल्काफुल्का सुनेको थिएँ ! न कहिल्यै भेट्नु न कहिल्यै देख्नु ? अन्दाजिफिकेसन झापाली गफ हानियो !
न त्यो भाइले नम्बर दिनु न मेरो एमडीसँग भेट हुनु ! न उनले एक लाख दिनु न म हेलिकप्टर चढेर काठमाडौं पुग्नु !! सबै ‘मुङ्गेरिलालके हसिन सपनें’ मात्रै थियो !
सर ! हजुरलाई १४ गतेको बिहे एटेन्ड गर्नुपर्ने हो ! म १४ को आठ बजे फर्स्ट फ्लाइटको टिकट गर्दिन्छु ! ९ बजे त पुगिहाल्नुहुन्छ ! प्लिज सर !!
अनि ! अघिल्लो दिनको रमाइलो चैँ छुट्यो नि त भाइ ! ओके.. तिम्रो कुरो मान्छु ! मेरो विराटनगरमा बस्ने ठाउँ छैन ! फाइभस्टार होटलमा बस्छु ! मासुभात खान्छु, दारु खान्छु ! मुजरा नाच हेर्छु ! मनपरी गर्छु अनि बिल पेस गर्छु ! हुन्छ कि हुन्न ?
सर प्लिज ! यस्तो त मिल्दैन ! बरु हजुरलाई म मेरो घर लगेर राख्छु ! माछाभात ख्वाउँछु !
अब हाँसो रोक्न कठिन भो ! २५ मिनेट गलफत्तीमा बितेछ ! जति लामो डोरी भए नि गाँठो एउटै भनेझैँ भयो ! कुरो बिट मार्ने हिसाबले म बोलेँ– यसो गरौं भाइ ! म आइपुगे ठिकै छ ! भएन भने भोलि फर्स्ट फ्लाइट गर्देउ है त !
बिचरो भाइलाई मेरो यो बोली खडेरीको पानीझैँ भएछ ! दङ्ग पर्दै बोल्यो- सर ! आइपुग्नु भन्दा पाँच मिनेटअघि फोन गर्नुस् ! म कफी बनाएर राख्छु !
परीक्षा शाखाको सबै काम छोट्याएर साढे चारमा फोन गरेँ- भाइ.. म आउँदैछु है ! करिब पाँच बजे काउन्टरनजिक पुगेर उभिएपछि एउटा भाइले सोध्यो– के थियो होला सर ?
म ज्ञानमणि भुर्तेल !
अरु केहि भन्नैपरेन ! सेनापतिको स्वागतमा सिपाहीले गरेझैँ गर्दै ‘ओहो ! सर आउनुस्’ भन्दै कुर्सी र कफी एकैपटक हाजिर हुँदा आफैंलाई लाज लाग्यो ! कफी पिउँदै गर्दा अर्को भाइ आएर हतार लायो ! सबै जहाजमा बसिसकेका, ममात्रै बाहिर थिएँ ! ‘हैन सर ! हतार नगर्नुस् ! आरामले कफी पिउनुस् ! म जहाज पर्खाउँछु !’ बिहानकै भाइ बोल्यो !
मेरो कारणले अरुलाई ढिलो गराउनु हुन्न भाइ ! बाँकी कफी छोड्दै म उठें !
बोलीमा जे बोलेपनि मनमनै चैँ ‘बल्लतल्ल एयरपोर्ट आइपुगेको छुचुन्द्रेलाई अब धेरै चलाउनु हुन्न ! यो काउछो पन्छाउन पाए पुग्यो’ भन्दैथियो होला ! कफी सँगसँगै हल्काफुल्का रमाइलो गफगाफ पनि भयो ! चौधरी भाइ जहाजको गेटसम्मै छोड्न आयो ! बिदाई हात मिलाउँदै बोल्यो- सर बिहान फोनमा मात्रै रिसाउनुभएको रहेछ ! मान्छे त रमाइलो पो हुनुहुँदो रैछ ! शुभयात्रा सर ! फेरि भेट होस् !’
सरी भाइ ! मैले पनि बिहान तातेको बेला के-के बोलेँ ! सकेसम्म रमाइलै हुन खोज्छु ! बिहानै तिमिहरूले नै चुकुल खुस्काइदिएर अलि तातियो डोन्ट माइण्ड है !
भाइ किच्च हाँस्यो ! जहाज चढियो !
जहाजले भुइँ छोडेको केहीबेरमा ‘खलासी नानी’ पानीको बोतल र एकतुर्को पानी अट्ने कागजको कप लिएर आइन् ! मलाई जोरी खोज्ने मसला मिलिहाल्यो ! मैले पूरै बोतल मागेँ ! उनी बिस्तारै बोलिन्– मिल्दैन सर !
‘किन मिल्दैन ? टिकटको ६४०० तिरेको छु ! एक बोतल पानी दिन किन कन्जुस्याइँ ? म त पानी खाइरहने मान्छे हो ! मलाई त यतिले पुग्दैन नानी ! कसले बनायो यो नमिल्ने नियम ?’ मेरो प्रतिप्रश्नमा उनले ‘सर… जतिपटक मागेपनि म दिन्छु हजुरलाई’ भन्ने नम्र निवेदनमा आका गर्नु भन्ने मौनतोक लाउनुको विकल्प थिएन ! नारिजातिसँग धेरै वाणिपङ्गा लिनु इज्जतका लागि हानिकारक थियो !
एककप पानी लिइयो ! उनी अर्कोतिर लाग्नेबित्तिकै स्वाट्ट पारेर फेरि मागेँ ! प्यास लागेको थिएन जोरी खोज्नु न थियो– त्यसैगरी सात कप पानी तन्काइयो ! मनमनै खुबै सरापिन् होला तर व्यक्त गरिनन् ! जहाज अवतरण सँगसँगै केही बेरअघि मेरो पेटमा प्रवेश गरेको पानीले आपतकालीन द्वार खोज्यो ! बाउको बिहे भनेको के हो ? भन्ने कल्पना त्यतिबेला मज्जाले गरियो ! बसबाट उत्रेर दायाँबायाँ कतै नहेरी शौचालय दर्शन गरेपछि राहतको सास फेर्दै आफ्नो उपद्रोप्रति मनमनै हाँसियो ! भरसक बुद्ध एयर नचढ्ने प्रण पनि सँगसँगै गरियो !
छिमेकी दाइ विनोद पोख्रेलको अन्तेष्टीमा आर्यघाटमा सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलसँगको भेटमा यो रमाइलो प्रसंग कोट्याउँदा– अब मेरो प्लेन चढ्नुस् ! पानी पनि पाइन्छ खाजा पनि पाइन्छ भनेपछि मैले थपेँ- चढ्न त प्रायः तपाईंकै चढ्ने हो तर यसपटक समय नमिलेर मात्र हो ! फर्किंदा सौर्यमै आइयो ! खाजाको सानो पोकोसँगै पानी पनि पाइयो ! सानै भएपनि सौर्यको यात्रीप्रतिको व्यवहार ठिकै थियोे ! खलासी पनि बुद्धका जस्ता कर्कस थिएनन् !
असारमा फेरि काठमाडौं यात्रा गर्नुपर्ने भो ! सौर्यले खेत जोत्न पुगेपछि भद्रपुर-काठमाडौ उडान थिएन ! बाध्यताले फेरि बुद्ध नै भेटियो ! ४.२५ को समय दिएर ५.४५ मा उड्न पाउनुलाई भाग्यमानी नै मानियो ! यसपटक पानी पिउने छुल्याइँ गरिएन ! फोन अफ गर्नुपर्ने उर्दी नमानी कलब्रेक खेल्दैगर्दा भान्जेज्वाइँको फोन आयो ! १६५०० मिटरमाथि आकाशमा कसरी फोन बज्यो ? ज्वाइँले सोध्नुभो- मामा कता ? मैले जवाफ दिएँ- आकाशमा ! स्वर अलि चर्कै भएछ कि क्याहो ? खलासी नानी आँत्तिदै आएर बोलिन्- अंकल फोन बन्द गर्नुस् ! अघि भनेको सुन्नुभएन ? निकै अघि बसको खलासीसँग विवाद गर्दा पथरीको जङ्गलमा उतार्देको घटना याद आयो ! यी नानिले पनि १६५०० मिटर माथिबाट उतार्दिन् भने त ज्ञान एकातिर मणि अर्कोतिर भूर्तेल खै कता ? होला भन्ने त्रासले चुपचाप मोबाइल अफ गरेर ज्ञानमणि इज अ गुड ब्वाय भएर बसेँ !
बुद्ध एयरको गिद्धे यात्रा यत्तिमै सकिएन ! काठमाडौंबाटै जनकपुर जानुपर्ने भो ! बिहान आठ बजेको टिकटमा ९ बजे उड्न पाउनुलाई गणतान्त्रिक उपलब्धि नै मानियो ! बेलाबेला राजधानी आउनुपर्ने बाध्यताअनुसार अस्ति शनिवार पनि बुद्धकै ४.२५ को टिकट लिएर ४ बजे देखि कुरेर ६ बजे काठमाडौंका लागि भुइँ छोडियो ! काठमाडौं आइपुगेर पनि १५ मिनेट अझै उड्नुपर्ने खलासी नानीको उर्दिअनुसार फन्को मार्दै मोबाइलमा टाइपिङ पनि गर्दै समय काटिँदैछ ! १५ मिनेट बढी उडेको अतिरिक्त पैसा माग्ने हुन् कि भन्ने त्रास पनि सँगै छ ! तर उत्रिने बेलामा ‘कति पैसा थप्नुपर्ने हो नानी ?’ भन्दा किच्च दन्तप्रदर्शन गर्दै ‘पर्दैन अंकल’ भनेपछि त्रास भने मेटियो ! एकजना यात्रीले ढिलाइबारे गुनासो गर्दा– ‘अरु पनि फ्लाइट छन् त’ भन्ने मुहारविपरितको बचन चैँ पाच्य थिएन ! यो कर्कस वाणी पनि बुद्धको रुल्सभित्रकै हो कि के हो ? बुझिएन !
बुद्ध एयर चढ्दिनँ भनेर जतिसुकै घमण्ड गरेपनि नियतिले घरीघरी बुद्ध नै चढाउँदैछ मलाई ! काङ्ग्रेसका खोरेत नेतालाई भोट हाल्दिनँ भन्दा पनि तिनै खोरेतका पछि लाग्नुपर्ने बाध्यताझैँ ! अनि बुद्ध एयरको अव्यवस्थित ब्यवहारले धुलाबारीका ती ब्यापारीको ‘कागजको दुकानदारी तरिकासे गर्नुस् नत्र ताला मारिहाल्नुस्’ स्मरण गर्दै वीरेन्द्र बस्नेत जस्ता ‘उद्योगपति’ विभुषणधारकलाई ‘जहाजको दुकानदारी तरिकाले गर्नुस् नत्र ताला मारिहाल्नुस्’ भनेर अर्ति दिन थालियो भनें मुलुक संकटमा रहेका बेला भाडा बढाएझैं अझै बढाइदिनु होला ! अझ ‘तँ लिखे मलाई अर्ति दिने ?’ भन्दै बुद्ध चढ्न प्रतिबन्ध लाइदिनुहोला ! चढ्न दिएपनि डबल भाडा असुल्नुहोला ! यसैपनि अस्ति शनिबार आउँदा ६४ सयमा आएकोमा यो लेखुन्जेल ८ हजार सात सय पुऱ्याइसक्नुभएको छ । केन्द्रीय खोरेत काङ्ग्रेस पकेटमा राखेर हिँड्ने हैसियतका बस्नेतजीले म जस्ता लिखुरेलाई कच्याककुचुक पारेर खैनीको बट्टामा हालेर मेची कटाइदिनुहोला ! त्यसकारण उहाँ जस्तो ‘समाजसेवी उद्योगपति’लाई यस्ता सुधारक अर्ति दिन पनि जाँगर चलाइएन !
न त मोहनराज सरले भनेझैँ बारुदको ढेरको छेउबाट बिँडी पिउँदै हिंड्ने पागलहरूले चलाएको सरकार नामको नौटङ्कीको पर्यटनमन्त्री पदधारक पात्रलाई कालु पाँडेको इतिहास पढेर हुर्केको म र पर्यटनमन्त्रीको कुर्सीमा विराजमान बद्री पाँडेबाट पर्यटन सुधारको अपेक्षा राखेको निरीह प्राणीले ‘तिमीले न त हवाइभाडा तस्करी रोक्न सक्यौ न त हवाइयातायातमा न्युनतम सुधार गर्न सक्यौ ! कालु पाँडेको विरासत थामौला भन्ने अपेक्षा राखेको ब्यक्ति आलु पाँडे सावित भयौ’ भनेर अर्तीको पोको बोकाउने हिम्मत नै गरियो ! यस्तो अर्ती पस्किन थालियो भने उनको गणतन्त्रमा भ्वाङ्ग पारेको आरोप लाग्न सक्ला ! गणतन्त्र खतरामा पर्न सक्ला ! मुद्धा-मामिला ब्यहोरेर जेल यात्रा गर्नुपर्ने हुनसक्ला !!
आ !!! जेसुकै खतरामा परोस् ! जोसुकै खतरामा परोस् ! जसले जतिसुकै लुटुन् ! जसले जसलाई कुटुन् ! केही लेखिन्न ! केही बोलिन्न ! भाँड्मे जाए मुलुक ! भाँड्मे जाए पार्टी !
बङ्गालीमा एउटा कथन छ- ना बोले तो भालो ! अर्थात्, नबोलेकै बेस ! हैन त ??
प्रतिक्रिया