पूर्वउपाध्यक्ष सैँजुको निधन

पूर्वउपाध्यक्ष सैँजुको निधन


राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैँजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन रोगसम्बन्धी समस्या झेल्दै आएका सैँजुको सानेपास्थित आफ्नै निवासमा मङ्गलबार (१३ कात्तिक) साँझ निधन भएको हो ।

दिवंगत सैँजुले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गर्नुभएको थियो ।

सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रवल त्रिशक्ति पट्टबाट सुशोभित हुनुहुन्थ्यो सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । उहाँका श्रीमती, एक छोरा, एक छोरी हुनुहुन्छ । उहाँको आगामी शुक्रबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।