बालिकाहरुलाई यौनधन्दामा बाध्य तुल्याएको अभियोगमा मसाज सेन्टर सञ्चालिका पक्राउ

बालिकाहरुलाई यौनधन्दामा बाध्य तुल्याएको अभियोगमा मसाज सेन्टर सञ्चालिका पक्राउ


मसाज सेन्टर सञ्चालनको बहानामा बालिकाहरुलाई प्रयोग गरी बेश्याावृत्ति धन्दा चलाएको भन्दै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले एक महिलालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका वडा नं. १६ सातघुम्टीमा हिमालयन आयुर्वेदिक स्पा सञ्चालन गर्दै आएकी लमजुङ बेसीशहर घर भइ काठमाडौं रहँदै आएकी ३८ वर्षीया सपना खवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मसाज सेन्टर सञ्चालिका खवासले युवतीहरुलाई ललाइफकाइ यौनधन्दामा लगाउने गरेको, ग्राहकसँग पन्ध्रसय असुल गरी युवतीलाई पाँच सय दिने प्रलोभन दिएपनि रकम नदिएको र दिनमै चार-पाँच जनासँग यौन सम्पर्क गर्न लगाउनुका साथै महिनावारी भएको बेलासमेत बाध्य तुल्याएको भन्दै पीडित बालिकाहरुले प्रहरीम उजुरी गरेका थिए ।

उजुरी प्राप्त भएपछि अनुसन्धान गर्दा मसाज सेन्टरमा ‘एक्स्ट्रा सर्भिस’ भन्दै अलग कोठामा यौन धन्दा गराउने गरेको खुलेको प्रहरीले जनाएको छ ।