✍ बंशीकुमार शर्मा

जम्बूद्वीप भारतवर्ष आर्यवर्त क्षेत्र बसोवास गर्ने वैदिक सनातनीहरूको दशैँपछिको सबैभन्दा ठूलो पर्व हो तिहार । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वित्तीयाको दिनसम्म पर्दछ । यस पर्वलाई यमपञ्चक र दिपावलीको नामले पनि पुकारिन्छ । चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वित्तियासम्मको अवधि तिहार हो । तिहारको पाँच दिन क्रमशः काग, कुकुर, लक्ष्मी (गाई), गोबर्धन पूजा (गोरु) र भाइटीका पर्दछ ।
वैदिक सनातनीहरूले पूजा-अर्चना, उपासना गर्ने, आस्था र विश्वास राख्ने सबैको प्रमाणिक ग्रन्थ वेद हो । सबै हिन्दु धर्मावलम्बीका आस्था विश्वास त्रिदेव ब्रह्मा, बिष्णु, महेश्वर, महाकाली, महालक्ष्मी, महासरस्वती, भवानी, देवीदेवता, तेत्तिस कोटीमा समान छ । आस्था र विश्वास समान भएपनि स्थानअनुसार चाडपर्व मनाउने संस्कृति फरक-फरक छन् । जम्वुद्विप आर्यवर्त क्षेत्र मानसरोवरदेखि कन्याकुमारीसम्म वैदिक भूमि हो । यस भूमिमा बसोवास गर्ने सबै मानवको साझा चाड तिहार हो ।
धार्मिक र सांस्कृतिक रुपमा सनातनीहरूले पूजाआजाका लागि धान चामल, जौ, तील र विभिन्न रंगका फलफुल प्रयोग गर्छन् । ती सबैलाई भगवानको प्रतीकका रुपमा प्रयोग गर्ने गरेका छन् । संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ ‘शाश्वतधर्म’, ‘अनन्तमार्ग’ भन्ने बुझिन्छ । कतिपय पर्व लोक विश्वासका आधारमा मनाउँदै आएको सर्वविदितै छ । सबै सनातनीहरूले मान्ने पुज्ने भगवान् एउटै हुन् । नेपालभूमिमा बसोवास गर्ने सनातनीहरूले सदियौँदेखि नै अविच्छिन्न रुपले पर्वहरू मनाउँदै आएका छन् । वैदिक सनातनीहरू सबैको महान् पर्व हो तिहार ।
सनातनी धर्मावलम्बीहरू प्रकृतिपुजक हुन् । जल, जमिन, जंगलदेखि स्थलचर, जलचर, उभयचर र सरिसृप सबैलाई भगवानकै रुप ठानेर सम्मान तथा पूजाअर्चना गर्ने गर्दछन् । तिहारमा काग, कुकुर, गाई, गोरु, तथा मानिसको समेत पूजा हुन्छ । नेवार संस्कृतिमा आफ्नो पूजा आफै अर्थात् म्हः पूजा गर्ने चलन छ । घर लिपपोत गरी घरको चारैतिर दीपावली गरी लक्ष्मी र गोवर्द्धन पर्वतको समेत पूजा-उपासना यस पर्वको थप विशेषता हो । आरोग्यताका देवता धन्वन्तरीको कात्तिककृष्ण त्रयोदशीका दिन धन्वन्तरी जयन्ति मनाउने गरिन्छ । धन्वन्तरी देवता देवासुर सङ्ग्रामका बेला समुद्र मन्थन गर्दा अमृतघडाका साथमा प्रकट भएका हुन् भन्ने पौराणिक शास्त्रमा उल्लेख छ । दीपावलीको अन्तर्य पनि आयु र आरोग्यसितै सम्बन्धित छ, जसले तन र मनलाई सफा र उज्यालो पार्नुपर्ने सन्देश दिएको छ ।
शास्त्रीय मान्यताअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बसेको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमराज बहिनीका घरमा पाँचदिनसम्म बस्दा बहिनी यमुनाको व्यवहारले निकै प्रसन्न भइ यमराजले बहिनी यमुनालाई इच्छाअनुसारको वरदान माग्न आग्रह गरेपछि बहिनी यमुनाले हरेक वर्ष आजकै दिन आफूलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै बरदान दिए । दिदीबहिनीले मनसा, वाचा, कर्मणा र शुद्धचित्तले भ्रातृपूजा गर्दा सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने बरदान दिए भन्ने शास्त्रीय मान्यताअनुसार प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको छ ।
तिहारले एकातिर मानव तथा पशुपंक्षीबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गरेको छ भने अर्कोतिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ । यमराज वैदिक सनातनीहरूका आदर्शका देवता हुन् । गोवर्धन पहाडले घनावृष्टिबाट मानवलाई रक्षा गरेको कारणले पूजा गर्ने चलन चल्दै आएको छ । पौराणिक शास्त्रअनुसार भगवान् कृष्ण र स्वर्गका देवता इन्द्रसँग सम्बन्धित छ । भगवान इन्द्र गोकुलवासीसँग रिसाएर घनघोर वर्षा पारेपछि भगवान कृष्णले गोकुलमा रहेका मानव पशुपंक्षी सबैको रक्षाको लागि गोवर्धन पर्वत उचालेर रक्षा गरेको शास्त्रीय मान्यता छ । यसैगरी दानबिर बलीराजाले बालबालिकालाई नाचगान गरेर खुसियाली मनाउन पठाएको त्यही नाचगान भैलीको रुपमा आजसम्म रहेको किम्वदन्ती छ । काल गणना सुरु भएको ३५०० पूर्व बस्ने गोपालहरूको प्रसङ्ग र सिंजा राज्यको १४औं शताब्दीका बलीराजाको प्रसङ्ग सँगसँगै आउने हुँदा तिहार पर्व हजारौं वर्षदेखि मनाउँदै आएको देखिन्छ ।
यमपञ्चकका पाँच दिन
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्तै चलाख पंक्षी हो । कागलाई विशेषगरी सन्देश प्रवाह गर्ने पंक्षीका रुपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार धर्मत्मा यमराजले पृथ्वीलोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म-मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । कागलाई हिन्दूधर्ममा सन्देशवाहकको रुपमा लिइन्छ ।
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ । मानव-सभ्यतादेखि नै कुकुर मानवसंग अत्यन्त नजिक रहेको भनिन्छ । वैदिक सनातन हिन्दू परम्पराअनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ । कुकुर भगवान भैरवको वाहन पनि हो । कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
तिहारको तेस्रो दिन गाईको पूजाआजा गरी गाई तिहार मनाइन्छ । हिन्दु धर्मालम्वीहरूले गाईलाई लक्ष्मी र गौमाताका रूप मान्दछन् । धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने संस्कार छ । गाईलाई लक्ष्मी र माताको रुपमा पुजिन्छ । त्यसदिन साँझ दीपावली गरि धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक उपसना गरि पूजाअर्चना गर्ने चलन छ ।
तिहारमा गाई, गोरुको पूजा पनि गरिँदैछ । गाई, गोरुको पूजा गरी जौ चामल मिसाएर नुन हाली खुवाउने चलन छ । यसलाई पिरो खुवाउने भनिन्छ । नेपाली समाजमा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधेको डोरो (रक्षासूत्र) यो दिन गाईका पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि वैतरणी नदी तर्न सजिलो हुन्छ भन्ने जनविश्वास छ ।
कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा गर्ने परम्परा छ । गोवरको पाहाडको प्रतीक बनाएर पूजा गरिन्छ । द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाउँदै आएको जनबिश्वास छ । गोवर्धनपूजाका अवसरमा देवालय तथा बाटाघाटामा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने चलन चल्दै आएको छ । गोबर्धन पूजाको दिन बलिराजाको पनि पूजा गरिन्छ ।
यम पञ्चका अन्तिम दिन भाइटीका लगाउने परम्परा रहेको छ । भाइतिहार (भाइटीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । स्थानअनुसार हिन्दु धर्मावलम्बीहरूले पनि आ-आफनै तरिकाले तिहार मनाउने गर्दछन् ।
प्रतिक्रिया