सुक्खा पहिरोको जोखिमले बिपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक कायमै

सुक्खा पहिरोको जोखिमले बिपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक कायमै


गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फि सञ्चालनमा ल्याइएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको सडकखण्डमा लगाइएको रोक कायमै राखिएको छ ।

उक्त सडकखण्डमा जोखिमका कारण गत असोज ३० गतेदेखि राति १० घण्टा यातायात सञ्चालनमा लगाइएको रोक कायमै राखिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

सुक्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो । सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको जानकारी दिए । करिब आठ किलोमिटर उक्त सडकखण्डका विभिन्न स्थानमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फि यातायात सञ्चालन हुने गरी अस्थायी सडक निर्माण गरिएको छ ।

उक्त सडकखण्डमा ट्रयाक मर्मत-सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य गर्नुपरेकाले पनि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउँदै आएको बताइएको छ । गत असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवहाक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

पूर्वी नेपाल जोड्ने छोटो दुरिका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन् । बाढीपहिराले राजमार्गको कूल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुऱ्याएको कार्यालयले जनाएको छ ।

file photo: rss