- कपिलवस्तु प्रतिनिधि
कपिलवस्तुमा आज (२३ कात्तिक) अस्ताउँदो सुर्यलाई अर्घ दिई छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम तौलिहवास्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत जिल्लाको बाणगंगाको रामघाटनदी र कृष्णनगर सुरइनदी र तालहरुमा अस्ताउँदो सुर्यलाई अर्घ दिई छठ पर्व मनाइएको हो ।
अर्घ दिनुअघि नदी किनारामा पुजास्थल निर्माण गरी प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुडबाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका साथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखैसमेतको अदुवा लगायतका सामाग्री र फलफुलको प्रसाद राखी पुजा गरिएको छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
(फोटो फिचर)




प्रतिक्रिया