भद्रपुरमा भव्यरूपमा छठ पूजा सम्पन्न

भद्रपुरमा भव्यरूपमा छठ पूजा सम्पन्न


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुरस्थित मेचीनदीमा नेपाल तथा भारततिरबाट वारिपारि भव्य रूपमा छठ पूजा सम्पन्न गरिएको छ ।

तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगाली लगायत अधिकांश जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरू गरेको पूजा उदाउँदो सूर्यलाई अर्घ दिएर भव्य स्वरूपमा सम्पन्न गरिएकोे हो ।

नेपाल-भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुरस्थित मेचीनदीमा मनाउँदै आएको छठ पर्वमा एक हजार बढी पूजा स्थल निर्माण गरी तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर साझा पर्व मनाएका छन् ।

पछिल्ला वर्षमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेका पाइएको छ ।

चार दिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुने गर्छ । यो पर्वमा जन सहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका पूर्वअध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए ।

झापामा मेची निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काइ नदी किनारमा भव्य रूपमा सजावट सहित छठ पूजा गरिने गरिएको छ । जन सहभागिकाका दृष्टिले भद्रपुर स्थित मेची घाट बढी व्यस्त हुने गरेको छ

यसैबीच छठ पर्वको अवसर पारेर मेची घाटमा रहेको छठी माता मन्दिर परिसरमा निर्मित कलात्मक चौतारो उद्घाटन तथा गंगा आरतीको आयोजना गरिएको छ । भद्रपुर ५ नम्बर वडा कार्यालयले निर्माण गरेको कलात्मक चौतारोको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशी तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सम्युक्त रूपमा उद्घाटन गरेका थिए भने भद्रपुर नगरपालिकाले आयोजना गरेको गंगा आरतीको समुद्घाटन राज्यमन्त्री भूमिप्रसाद राजवंशीले गरेका थिए ।

कार्यक्रममा कलात्मक चौतारो निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने चौतारोमा कला तथा डिजाइन कर्ता कलाकार सञ्जय प्रधान रहेको जानकारी गराइएको थियो ।