पूर्वाग्रहीले दुराग्रह पाल्छ । क्लोन मान्छे छ्यासछ्यासती । परपीडन रुचाउने । स्वार्थ पुरा नहुञ्जेल साथी, स्वार्थ पुरा भएसि कुसाथी । लठभङ्गाहरू विकासको बाधक । नकारात्मकजीवीको दिमाग केले पो सफा गर्ने हो ?
✍ बलराम उपाध्याय सिलवाल
भ्रष्ट, भ्रष्टाचार र भ्रष्टाचारीको विषयमा कति लेख्नु ? पटक्कै सुध्रेको होओइन । यस्तो दिन आउँथ्यो भने २०४६/२०६२ मा जनता किन आन्दोलित हुन्थे र ? दुर्भाग्य भनूँ वा के भनूँ- हाम्री नेपाल माता कहिले इष्ट इन्डिया कम्पनी त कहिले भारत , अम्रिका र चीनको सुक्ष्म व्यवस्थापनमा पर्नु भो । बेरोजगारीले मुलुक निख्रिसक्दा नि शासक निरो बन्दो छ । सुशासनको त कल्पनै गर्न सकिएन क्यारे । नागरिकको अनागरिक बन्ने दुष्प्रयास जारी ।
मूलभूत पक्ष भनेकै राष्ट्र , राष्ट्रियता र जनता । यही सवालमा केन्द्रित हुनुपरो नि । प्रकृतिको गीत मात्र गाएर के हुन्छ र ? भाट इतिहासकारहरूले हामीलाई छक्याएका रहेछन्- इतिहास टेढ्याएर । अङ्ग्रेज-नेपाल युद्धको वृत्तान्त उकुसमुकुस लाग्दो । गोराहरूले भारत थाम्न नसक्ने रहेछ त सुगौली सन्धि गरेर हाम्लाई किन घाटा पारेको ? जान्नँ म त पापी मोरो कुइरेको देशैमा । खोटिएको नक्सा जंगेले नयाँ मुलुक फिर्त्याएर अक्षुण्ण तुल्यायो । हाम्लाई त बेलाइतीले चुस्यो, भारतीयले लुट्दो छ- बोर्डर क्षतविक्षत, क्षेत्रफल साँघुरिंदो ।
प्रतिशोधको लाजनीति मौलाउँदो – थापा र पाँडेहरूको जस्तो । गाईजात्राले कति भन्छ ? सिस्नुपानीले कति झटारो हान्छ ? नेता भनाउँदो जन्तु ङिच्च हाँसेर व्यङ्ग्य पचाउँछ । नेपालीलाई रातो घाम कहिल्यै उदाएन । सर्वहाराको नेताहरू शासक भए; नव सम्भ्रान्त बने र पुँजीपति रहे । अरिम, रामेश, टुहुरे, जीवन र पाख्रिनहरू ओझेलमा परे । व्यक्ति हत्याराहरू राजबन्दी कहलिए; नाजायज फाइदा उठाए र लुट्नसम्म लुटे । भ्रष्टाचारमुक्त कोही रहन सकेन । भ्रष्टहरूले महावीर, रुइत र कुलमानहरूलाई भ्रष्टको विशेषण दिए भने आश्चर्य नमाने हुन्छ ।
संयुक्त परिवार संस्कारिलो । पनाति पनातिनासमेतले जिज्युबाजेबज्यैबाट असल संस्कार सिक्थे । अनुशासित समाज थियो त्यस बखत । पारपाचुके शब्दकोशमा मात्र सीमित थियो, व्यवहारमा थिएन । सात धर्ती पोलेर ल्याएकी धर्मपत्नी भनेसि छोडपत्र गर्ने कुरो थिएन । अहिले त पश्चिमा हावाले पला पलामा डिभोर्स हुँदो छ । मानमनितो छैन । तीजमा छाडा गीत गाउने नाच्ने । त्यारमा द्दौसी/ भैलो नि हिन्दी/अङ्ग्रेजी गीतमा । न सुनि साध्य न भनि साध्य न देखि साध्य । प्रेमी प्रेमिका नै हत्यारो । माल्सिरी, कर्खा, बालन अतीतका आहान भईसके । हुटेल रुङेर ट्रम्प वा हैरिस कसले बाजी मार्ला भन्दै दिन कटायो । आनीबानी सुधार्ने, अनुशासित हुने, आध्यात्मिक हुने, सभ्य/ संयमी हुने कुरोको पत्तो छैन ।बस् , परनिन्दा गर्यो नर्कमा पर्यो । बिजुली झोल नचाख्ने मान्छे रहेन । लबस्तराहरू देब्रे हातले नमस्ते गर्छन् । कुसंस्कारले कहाँ जखार्ने हो , थाहा भएन । पशुपतिनाथले त राम राम भन्ने हुन् , काँध थाप्न सक्दैनन् ।
बेकारी हुनुभन्दा त करेसाबारीको काम गरे भैहाल्यो नि ! फुर्सदमा जीवनपयोगी पुस्तक पढे जीवन सार्थक होला । अर्ती दिनै पर्दैन, सबै एकसेएक गुरू छन् । हैजाको रोकथामबारे एक शब्द बोल्न नजान्ने मनुवा राजनीतिक विषयमा घण्टौं कुर्लन्छ । विरोधाभाषी जीवन । दाम्लोमा बाँधिएको गाईवस्तु, पिंजडाको पंक्षी देख्दा उकुसमुकुस लाग्छ, स्वतन्त्रता हरण भएको महसुस हुन्छ किन्तु बुङ्गो स्वतन्त्रता ननिको लाग्छ ।
पूर्वाग्रहीले दुराग्रह पाल्छ । क्लोन मान्छे छ्यासछ्यासती । परपीडन रुचाउने । स्वार्थ पुरा नहुञ्जेल साथी, स्वार्थ पुरा भएसि कुसाथी । लठभङ्गाहरू विकासको बाधक । नकारात्मकजीवीको दिमाग केले पो सफा गर्ने हो ?
करेली शब्दहरूको तरेली लगाउन कसलाई पो रहर हुँदो हो र ? समाजलाई दिशा निर्देश गर्नु नै पर्छ । यथास्थितिमा रहन दिनु त भएन नि । परिवर्तनशील जमाना छ, यसलाई गतिशील त तुल्याउनु परो नि । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।
प्रतिक्रिया