वैदेशिक रोजगारले पिरोलेको यौन-जीवन : पारिवारिक पीडा बढ्दै

वैदेशिक रोजगारले पिरोलेको यौन-जीवन : पारिवारिक पीडा बढ्दै


  • द्रोण अधिकारी, झापा

वैदेशिक रोजगारले घर-परिवारमा आर्थिक उन्नति दिलाएपनि व्यक्तिगत तथा पारिवारिक जीवन निकै पीडादायक बन्दै गएको उदाहरण समाजमा प्रशस्तै देखिन थालेका छन् ।

पछिल्लो पटक झापाको हल्दिवारी-१ गोलधाप बजारमा रहेको द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भनिएकी महिलालाई मात्र उदाहरण लिने हो भने यौनजीवनको असुरक्षित खेलका रूपमा बुझ्न सकिन्छ ।

झापा प्रहरीले शिशु जन्माएर फालेको आरोपमा ती महिलालाई पक्राउ गरेको भएपनि अवैध गर्भपतन गराउने र राम्रो आम्दानीको श्रोत जुटाउने हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरहरू हरेक दिन अवैध काम गरेर मोटो रकम असुलीरहेका छन् । सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको जनाउने प्रहरीले महिलाको गर्भपतन गराउन सक्रिय हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका सञ्चालकका अवैध काम सीसीटीभी फुटेजमा देख्न सक्दैन ।

बिर्तामोड-१० घर भएको बताइएकी ती महिला एक नमूना पात्र भएपनि झापाका अधिकांश बस्तीमा वैदेशिक रोजगारका कारण यौनसुखको नाममा व्यक्तिगत र पारिवारिक जीवन भताभुङ्ग हुने महिला-पुरूषको संख्या निकै ठूलो छ । श्रीमान् वर्षौंदेखि विदेश रहँदा रसरंगको रमाइलो बैंस परपुरूषको भरमा उपयोग गर्नुको विकल्प छैन भने श्रीमती विदेश भए श्रीमानले पनि परस्त्रीको भरमा बैंसको रसरंगमा रमाउनुको विकल्प देखिएन । यौनको सुख खोज्ने क्रममा नचाहँदा नचाहँदै अपराधको बाटो लिन समाजले विवश बनाएको नमूना ती महिला हुनसक्छिन् । मृत शिशुको पोस्टमार्टम विवरणपछि ती महिलालाई प्रहरीले कारवाही प्रक्रियामा त लैजाला तर वास्तविकता भने ओझेलमा परेर अपराधका नयाँ श्रृङ्घला रहिरहने छन् ।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट आइसकेपछि बच्चा जन्माएर छोड्ने महिलामाथि कार्वाही गर्ने जनाइएको छ । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । घटना विवरणअनुसार गत शनिबार दिउँसो २.३० बजेतिर क्लिनिकको शौचालयमा मृतशिशु फेला परेको थियो । ती महिला पेट दुखेर द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरमा आएको देखिनु र शौचालयभित्रै शिशु जन्माएर फालिएको पाइनुले प्रहरीलाई उनले नै शिशु मारेको आशंका पैदा गराएको छ । ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइनु प्रहरीलाई शंका गर्ने अर्को मार्ग बनेको छ । महिला तथा बालबालिका सम्बन्धी कुरा भएकोले हाललाई पक्राउ परेकी ती महिलाको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णबहादुर चन्दले बताए । यो वैदेशिक रोजगारीका कारण समाजमा बढेको विकृतिकै एउटा रूप भएको प्रहरी प्रवक्ता चन्दको भनाइ छ ।

यी सवै घटना हेर्दा द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर जस्ता स्वास्थ्य केन्द्रका पछिल्ला आम्दानीका मूल श्रोत वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमान् वा श्रीमतीका अबैध यौनजन्य गतिविधिबाट सिर्जना भएका समस्या ठाकछोप बन्न थालेको छ । ठाकछोपमा समस्या आए अवैध कार्य गर्ने व्यक्तितिर फर्किएर आफ्ना गल्ति उत्तै फर्काइ दिने चलन पनि बढ्दै छ । औषधी पसलदेखि क्लिनिकसम्मका पछिल्लो राम्रो कमाई अवैध गर्भपतन बनिरहेको सत्य बुझेर पनि नदेखेजस्तो गरिरहेको सरकारी पक्षको चेत कहिले र कहाँ पुगेर खुल्ने हो ? वैदेशिक रोजगारबाट व्यक्तिगत यौनजीवन र पारिवारिक पीडा बढ्दै गइरहेको प्रष्ट छ ।