पूर्व प्रदेशमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

पूर्व प्रदेशमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप


अवैध रुपमा नेपाली नागरिकलाई जापान पठाउने गिरोहसँगको संलग्नताको आरोपमा प्रहरी हिरासतमा रहेका कोशी प्रदेशका पूर्वमन्त्री एवम् एमाले नेता लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ । अधिकारीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई मंगलबार (२७ कात्तिक) काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौं ल्याइएका अधिकारीलाई यसअघि आइतबार दुई दिनको म्याद थप गरिएको थियो । उनीसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेका छन् ।

यही कात्तिक १३ गते जापान जाने क्रममा त्यहाँको विमानस्थलबाट पूर्वमन्त्री अधिकारीसहितका व्यक्तिहरुलाई जापान प्रवेश गर्न नदिइ फर्काइएको थियो ।

file photo: rss