बहुदल ‘बौलाहादल’ हुन्छ र गणतन्त्र ‘गाँडतन्त्र’ हुन्छ अनि मुलुकको यो दुर्गति हुन्छ भनेर जानेको भए कस्सम पञ्चायतविरुद्ध घोक्रो सुकाएर आफ्नो बैंस खेर फाल्ने थिइनँ !’
✍ ज्ञानमणि भुर्तेल
तोया गड्तौलाको छोरा अनुरागले जिज्ञासा राख्यो- ‘कुन क्यामाराले खिचेको फोटो हो अंकल ? पक्कै पनि निकै महँगो क्यामाराको कमाल हुनुपर्छ ! बबाल आएको छ फोटो !’
‘मास्टर्सका विद्यार्थी लिएर संखुवासभा गुफा पोखरी घुम्न जाँदा हाम्रो स्टुडेन्ट नवीन राजवंशी भाइले खिचेको हो ! म कुन सुरमा थिएँ कुन्नी ? भाईले मौका छोपेछ ! क्यामरा त अढाई-तीन लाखको होला, फोटोको एक्सन चैँ बेहोराअनुसारकै छ । सायद कुनै विद्यार्थीलाई हप्काउँदै थिएँ होला !’
सगसगै तोयाले थप्यो- ‘साँच्चै बबाल छ फोटो ! माला झुण्ड्याउने खालको ! ठुलो बनाएर राख, पछि माला झुण्ड्याउन काम लाग्छ ।’
केहिबेवर हाँसो चल्यो !
०००
खानपिनमा औसत म बिन्दास नै हो ! औषधि खानु नपरुन्जेल ढुङ्गामाटो सबै पचाइन्छ भन्ने तुजुक ! त्यसमाथि दशैँ लाग्यो ! खानपिन अलि इस्ट्मेन कलर हुन थालेसँगै देब्रे मुटुले चसक्क हुँदै गुनासो गऱ्यो– सुन ! लिखे !! अब धेरै दौडधुप नगर ! तुजुकलाई आफ्नो थान्कामा राख ! ६२ को उमेरमा २६ को तुजुक राम्रो हैन ! ज्यान सन्ठी भैसकेको अवस्थामा फलामको तुजुक देखाउनु ठिक छैन ! अलि विचार गर है केटा !
दाहिने मुटुले यस्तै धम्की बेलाबेला दिने गरेकोमा ‘कौन पुछे खेसरिके दाल ?’ भन्दै अटेर गरी बसेकोमा दिमागले समेत पड्किने गरि हप्कायो– ‘मूर्ख मनुष्य ! तेरो देब्रे मुटुले भनेको सुनिनस् ? दाहिने मुटुजस्तो सजिलोसँग छोड्नेवाला छैन देब्रे मुटुले ! तँलाई तह लाउनु पऱ्यो भने क्षणभरमै सकिदिन्छ ! अब त म समेत थपिएको छु ! तेरो तुजुक आफ्नै खल्तीमा राखेर तुरुन्तै डाक्टर भेट !’ ओली र देउवा मिलेर लामिछाने चेप्ट्याएझैँ देब्रे मुटु र दिमागले मलाई चेप्ट्याए । बिराटनगरबाट फर्किंदै गर्दा मुटु र दिमागले अति नै किचकिच गरेपछि बाध्य भएर ॐ साई अस्पताल प्रशासनप्रमुख भाइ दीप पौडेललाई गुनासो पोखेँ– भाइ ! यो देब्रे मुटु र दिमागले सारै झर्को लाए ! के गरौँ होला ? भाइले अस्पताल आउने सुझाव दिएपछि भोलिपल्टै ॐ साई अस्पतालमा हाजिरी जनाइयो !
जिउ रहे घिउ पाइन्छ भन्ने पुर्ख्यौली कथन मनन गर्दै पैतालोदेखि टुप्पीसम्मै हेर्ने विचारले ज्यानमा भएजति हड्डी छाला केही मासु लगायत सबै जिनिसको टेष्ट गरियो । रिपोर्ट हेरेपछि डाक्टर बोले– केही छैन !
त्यसै त आत्तिएको मन झनै आत्तियो ! केही छैन भने त बितिगो नि डाक्टर ! हिजोअस्तिसम्म यही ज्यानभित्र रहेको किचकिचे मुटु, बेलाबेला गनगन गर्ने दिमाग, कलेजो फोक्सो कता हराए त ?
डाक्टर फिस्स हाँसे ! ‘त्यसो हैन दाइ ! सबै आफ्नै ठाउँमै छन् ! सबै सामान्य छन् भनेको पो त !’
अनि देब्रे मुटु चस्किनु र दिमागले किचकिच गर्नु चैँ के हो त ?
त्यो पनि सामान्य नै हो ! कहिलेकाहीँ यस्तो हुन्छ !
लौ ! देब्रे मुटु र दिमाग पनि कतै सामान्य हुन्छ त ? यी जिनिस त असामान्य हैनन र ? डाक्टरले अजिव नजरले मतिर हेरे अनि सिटिको प्लेटलाइटको बक्सामा टाँसेर केहिबेर घोरिएपछि बिस्तारै बोले– एकपटक न्युरोसँग सम्पर्क गर्नुस् ल ! प्लेटको एउटा भागमा लौरो टेकाउँदै प्रष्ट्याए– टाउकोको यो भागमा सानो सेतो दाग देखियो अनि यहाँनेर अलिकति कालो पनि देखियो ! एमआरआई गरेर हेर्दा अझ प्रष्ट हुन्छ ! एकपटक न्युरो सर्जन भेट्नुस् है !
न्युरो डाक्टर सम्पर्क गरियो ! प्लेट हेरेर उल्टै मलाई नै सोधे- सानो सेतो दाग देखिन्छ ! अर्कोतिर कालो ध्वाँसो जस्तो पनि देखियो ! अलि क्लियर हुनका लागि एमआरआई गर्ने हो त दाइ ?
गर्नैपऱ्यो नि डक्टर ! साथीहरूले फोटोमा माला झुण्ड्याउने तयारी गरिसके ! देब्रे मुटु र दिमागले समेत किचकिच गरेर हैरान पारिसके !
देब्रे मुटु र दिमाग जस्ता असामान्य जिनिससमेत सामान्य भनेपछि त डराउनै पऱ्यो नि ! एमआरआई गरौँ ! यो लाउँलाउँ खाउँखाउँ भन्ने कलिलै उमेरमा पिण्ड खानु छैन मलाई !
‘यो बहुदलदेखि गणतन्त्र नामको दलदलसम्मको अवधिमा पुलिसको सरुवा-बढुवामा दलाली गरिस् होला ! सुपारीका बोरा बोकिस् होला ! रक्तचन्दन बोकेको गाडी चढेर चाइना बोर्डरसम्म पनि पुगिस् होला ! भुटानी नेता टेकनाथ रिजाल भुटानबाट भागेर आउँदा तेरै घरमा डेरा बसेका पुराना मित्र हुन् क्यारे ! राष्ट्रिय भाउजुसँग मिलेर मान्छे पनि बेचिस् होला ! अझै पैसा छैन भनेर नाटक गर्छस् ?‘
एमआरआई गर्न पसियो ! एमआरआई गर्नुपूर्व नशामा हान्नुपर्ने एउटै इन्जेक्सनको ५००० को बिल देखेपछि देब्रे मुटुले झण्डै डिभोर्स मागेको थियो ! जेनतेन थुम्थुम्याएर राखियो ! एमआरआई गरियो ! रिपोर्ट आएकै थिएन ! तुरुन्तै काठमाडौ जानुपर्ने भएकोले रिपोर्ट पछि लिउँला भन्दै काठमाडौं उडियो ! एकहप्ते काठमाडौ बसाइपछि झापा फर्केर तिहारको रमझममा धरानबाट आएका र बिर्तामोडमा भएका बहिनीहरू दाजुभाइ अनि भान्जाभान्जी नातिनी जस्ता अर्गानिक मुटु भेटेपछि लिखुरे ज्यानभित्रका मुटुकलेजोको ध्यानै रहेन ! दिमाग पनि आफ्नै धुनमा रह्यो ! बिन्दास रहियो ! न कतै चस्किनु न कतै झस्किनु !
तिहारको रमझम सकिएसँगै सबै आ–आफ्नो गुँड पसेपछि पो झसङ्ग भइयो– लौ मैले त एमआरआई गरेको थिएँ, रिपोर्ट लिएकै छैन ! फेरि कुदियो ॐ साई पाथीभरा अस्पताल ! रिपोर्ट लिएर डाक्टर कोठामा पसियो ! न्युरो डाक्टरले रिपोर्ट हेर्दै बोले– ‘केही छैन ! सामान्य छ !’
फेरि टेन्सन भो ! मुटुमा पनि केहि छैन सामान्य छ, दिमागमा समेत केहि छैन सामान्य छ रे ! यी असामान्य जिनिस कसरी सामान्य भए ? मेरो जिज्ञासामा डाक्टरले मतिर अजिव नजरले हेर्दै टाउको कन्याए र बिस्तारै बोले– तपाईंलाई केही भएको छैन ! सबै कुरो जुन हिसाबमा हुनुपर्ने हो त्यही छ भनेको पो त ! आत्तिनु पर्दैन क्या !
केही भएको छैन भने यो देब्रे मुटु र दिमागले मलाई किन टेन्सन दिएको त ? चाडबाडका बेला त्यसमाथि पैसा नभएको समयमा अस्पताल गएर डाक्टर भेट भनेर तनाव दिन हुन्छ त ? मेरो खर्चको सोधभर्ना अब कसले गर्ने हो ?
डाक्टर झर्किदै बोले– त्यो चैँ तपाईंकै मुटु र दिमागलाई सोध्नुस् ! डाक्टरले घण्टी बजाउँदै चिच्याएर मलाई बाहिर जाने बाटो देखाउँदै अर्को बिरामी बोलाए !
म बाहिर निस्केर सोझै मुटु र दिमागको डेरामा पुगेँ ! उनिहरुको तिहार सकिएकै छैनरैछ ! दुवैजना गलैंचामाथि खुट्टा पसारेर छेउमा बियरका बोतल ठड्याएर म्यारिज खेल्दैरैछन् ! तासका गड्डी हुत्याउँदै चिच्याएँ- मलाई टेन्सन दिएर तिमिहरु यहाँ मस्ती गरेर बस्ने ? मलाई केही नभै तर्साएर अस्पताल जाने उर्दी जारी गरेर अनावश्यक खर्च गराउने तिमीहरुको के षड्यन्त्र हो ? कि अस्पतालसँग तिमीहरुको साँठगाँठ छ ? मेरो तीस हजार चिलिम भएको छ ! यो खर्च तिमिहरुले मलाई तिर्नुपर्छ ! खुरुक्क ल्याओ !
सोमहरु ‘ठिक ठिक’ भैसकेका रैछन् ! देब्रे मुटु जुरुक्क उठेर सन्कियो- म चल्न छोड्दिउँ ? ठाउँको ठाउँ ढल्छस् नि लिखे ! फोटोमा माला झुण्डेला होस गर् ! अनि दिमागतिर फर्केर बोल्यो- यो लिखेलाई सम्झाइदे ! घण्टा जस्तो डिमाण्ड गर्छ यार ! छेउको बोतल उठाएर स्वाट्ट पाऱ्यो ! एउटा चुरोट सल्काएर धुवाँ उडाउँदै भित्तातिर फर्कियो !
दिमागले मेरो कानछेउ आएर फुस्फुसायो- सुन लिखे ! यो खर्चबर्चको ठेक्का हाम्रो होइन ! ओलिबाले सबैको जिम्मेवारी लिन्छु भनेर सपथ खाएका छन् ! तेरै झापाली हुन् क्यारे उतै कुरा गर्नु ! देउवा झन् तेरो आफ्नै नेता त्यसमाथि तेरा दाजुका साथी नै हुन् क्यारे ! अझै भरपर्दो तेरो झापाली पिल्लर सिटौला छिमेकी नै हुन् ! तँलाई पैसाको के कमी ? फेरि तँ काङ्ग्रेस जन्मजातै सामन्ती ! त्यै सामन्ती पार्टीका पछि जिन्दावाद मुर्दावाद भन्दै बैंस बिताएकै हो क्यारे ! यो बहुदलदेखि गणतन्त्र नामको दलदलसम्मको अवधिमा पुलिसको सरुवा–बढुवामा दलाली गरिस् होला ! सुपारीका बोरा बोकिस् होला ! रक्तचन्दन बोकेको गाडी चढेर चाइना बोर्डरसम्म पनि पुगिस् होला ! भुटानी नेता टेकनाथ रिजाल भुटानबाट भागेर आउँदा तेरै घरमा डेरा बसेका पुराना मित्र हुन् क्यारे ! राष्ट्रिय भाउजुसँग मिलेर मान्छे पनि बेचिस् होला ! अझै पैसा छैन भनेर नाटक गर्छस् ?
नापियो ! यस्तो उपद्रो जानेको भए त उहिल्यै सांसद, मन्त्री भैहालिन्थ्यो नि ! जहाँसम्म जिम्मेवारीको शपथ उखान अंकलको उखानभित्रै खपत हुने बस्तु हो ! देउवा दाजुका साथी, आफ्नो नेता भएर के गर्नु ! उनलाई म चिन्छु उनले मलाई चिन्दैनन् ! प्राचीनकालमा भोटेबहालतिर असनको लोकल तन्काउन आउँदा चैँ चिन्थे ! अहिले वाइन तन्काउन थालेपछि उनले चिन्ने भनेको जुलिया चाङकी मितिनी र मितिनीको छोरो मात्रै हो ! अहिले उनी खोरेतग्रस्त छन् ! राष्ट्रिय खोरेत !! सिटौला छिमेकी भएर पनि कुनै भर छैन ! उनी पनि पहिले पैदल काङ्ग्रेस हुँदा चिन्थे ! अहिले पजेरो काङ्ग्रेस भएपछि उनले चिन्ने भनेको खोरेत काङ्ग्रेस मात्रै हो ! त्यसमा पनि ०४८/०४९ तिर पृथ्वीनगरमा एमाले भएर आफैंउपर ढुङ्गा बर्साउने पूर्व बामपंथीलाई मात्रै हो ! उनैलाई किचन क्याबिनेटमा राख्छन् ! महाधिवेशन प्रतिनिधि बनाउँछन् अनि राजनैतिक नियुक्ति पनि आफैंउपर ढुङ्गा बर्साउनेलाई नै दिन्छन् ! त्यसपछि चिन्ने भनेको तरुणको ‘त’समेत नबुझेको आफ्नै छोरालाई महाधिवेशन प्रतिनिधि बनाउने, तरुणदलको केन्द्रीय सदस्य बनाउने जस्ता पुरुषार्थ गर्ने मात्रै हुन् ! खै किन हो ? उनलाई अहिले माले मण्डले मशाले मात्रै मनपर्छ ! हरामी काङ्ग्रेसलाई खोरेत काङ्ग्रेसको बर्को ओढाउने उनको चरित्रलाई खोरेत काङ्ग्रेसहरू ‘विकाशप्रेमी’ विभुषण पहिऱ्याउँदै ताली बजाउन मस्त छन् !
दिमागले हस्तक्षेप गऱ्यो- तेरा गनगन आफ्नै खैनीका बट्टामा राख ! आफ्नै पार्टीका नेतालाई ब्यंग्य लेख्छस् ! अर्काको किड्नी झुण्ड्याएर बसेको उखान अंकलको उछित्तो काड्छस् ! जङ्गल छोडेर शहर पसेको सोझो बाहुनको विरोध गर्छस् ! उनलाई राष्ट्रिय ऐंजेरु भन्दै टण्ट कस्छस् ! हिजोअस्ती घण्टी बजाउदै उफ्रिने चटके पनि तँलाई ठिक लाग्दैन ! अनि तँ जस्ता छुचुन्द्रेलाई उनीहरुले किन चिन्नु ? अगाडि परेर झुकेर ‘हस मालिक, हो मालिक’ भनेर उनीहरुको आचिलाई अपुङ्गो मान्दिए सबैले माया गरिहाल्छन् नि !! सबैले चिन्छन् ! अरु जन्मिँदा मह चटाउँछन् तँलाईचाहिँ तितेकरेलाको झोल चटाएका थिए कि क्या हो ?
खै ! के चटाए कुन्नी ? आफूले थाहा पाइएन ! तर मैले नेताको विरोध गरेकै छैन न त कसैको उछित्तो काडेको छु ! पञ्चायतविरुद्ध विद्रोह सिकाउने उनीहरू नै हुन् ! बच्चैदेखि त्यही जानियो ! अहिले उनिहरुको विकृतिविरुद्ध त्यही बोलिँदैछ ! बहुदल बौलाहादल हुन्छ र गणतन्त्र गाँडतन्त्र हुन्छ अनि मुलुकको यो दुर्गति हुन्छ भनेर जानेको भए कस्सम पञ्चायतविरुद्ध घोक्रो सुकाएर आफ्नो बैंस खेर फाल्ने थिइनँ !
मेरो कुरो सुनेर देब्रे मुटु अलिक भावुक देखियो ! नजिकै आएर मलाई अंकमाल गर्दै सुस्तरी बोल्यो– तँ हामीसँग आत्तिनु पर्दैन ! दशैँमा तेरो खानपिन अलि बिन्दास भो ! तँलाई सतर्क गराउन ग्यास्ट्रिकलाई काजमा पठाइदिएका थियौँ ! हामीले तँसग हल्का मजाक गरेका थियौं तँ पनि आत्तिइस् ! अलेली खर्च भो ! अब टेन्सन त्याग ! तेरो फोटोमा तत्काल माला झुण्डिदैन ! देब्रे मुटु र दिमागले मेरो पिठ्युँमा धाप मार्दै अमरिस पुरीले काजोललाई ‘जा सिमरन ! जिले अपनी जिन्दगी’ भनेझैँ ‘जा ज्ञानमणि ! बिन्दास जिन्दगी बाँच् तर खानपिनमा चाहिँ अलिक विचार गर’ भन्दै अर्ति पस्किदिए ! म पनि अर्ति भोजनतिर लागेँ !! ढुक्क भो– तत्काल फोटोमा माला झुण्डिँदैन रे !!
प्रतिक्रिया