महाकविको जन्मदिनमा स्रष्टाहरू सम्मानित

महाकविको जन्मदिनमा स्रष्टाहरू सम्मानित


महाकवी लक्ष्मी प्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको अवसरमा कार्तिक २७ गते राजधानीमा एक विशेष समारोहको आयोजना गरियो । सखी प्रतिष्ठानद्वारा देवकोटा सङ्ग्रहालय मैतिदेवीमा आयोजित समारोहमा विभिन्न स्रष्टाहरूलाई सम्मानित गर्नुका साथै देवकोटाको स्मरणमा कविहरूले कविता वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई देवकोटा नियात्रा सम्मान, वरिष्ठ आख्यानकार एवम् गायिका पद्मावती सिंह लाई देवकोटा गीतकार सम्मान, वरिष्ठ कलाकार एवम् साहित्यकार नरेन्द्र बहादुर श्रेष्ठलाई देवकोटा कलाकारिता सम्मान, सूचना आयोगकी आयुक्त समेत रहनुभएकी साहित्यकार कमला ओलीलाई बाल साहित्य एवम् समाजसेवा सम्मान र डायस्पोरामा सक्रिय साहित्यकार विनोद स्पन्दनलाई देवकोटा साहित्य पुरष्कारद्वारा सम्मानित गरिएको थियो ।

ख्यातिप्राप्त सर्जक एवम् समालोचक प्रकाश सायमीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कवि मोमिलाले देवकोटामाथि लेखिएको आफ्नो निबन्ध वाचन गर्नुभएको थियो भने स्रष्टा एवम् कलाकार किशोर पहाडीले ‘कुन मन्दिरमा जान्छौ यात्री’ बोलको गीत गाउनुभएको थियो । त्यसैगरी इन्दिरा ढकाल, मथुरा प्रधान र कमला रिसालले महाकविका रचना गाएर श्रद्धा प्रकट गर्नुभएको थियो । कार्यक्रममा मुरारी सिग्देलले देवकोटाको ‘भिखारी’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने प्रदेशसभा सदस्य समेत रहनुभएकी साहित्यकर्मी मिना श्रेष्ठले कविता वाचन गरि देवकोटाप्रति सम्मान प्रकट गर्नुभएको थियो । कविहरू रीता खत्री र रेणुका भट्टराईले महाकविबारे रचना प्रस्तुत गर्नुभयो ।

नियात्राकार प्रतीक ढकाल र पत्रकार देवप्रकाश त्रिपाठीले महाकविबारे आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको समारोहमा प्रमुख अतिथी प्रकाश सायमीले देवकोटा नेपालीले गौरब महसूस गर्ने विश्वस्तरका साहित्यकार भएको स्पष्ट पार्नुभएको थियो । महाकविका सुपुत्र डा. पद्मप्रसाद देवकोटाले अङ्ग्रेजी कविता प्रस्तुत गर्दै आफ्ना पिताको सम्मानमा भब्य कार्यक्रम आयोजना गरेकोमा सखी प्रतिष्ठानप्रति धन्यवाद सहित आभार प्रकट गर्नुभएको थियो । सोही समारोहमा अनिलनाथ उप्रेतीको स्वर र सङ्गीत रहेको ‘मेरो जीवन कस्तो’ बोलको गीत पनि सार्बजनिक गरिएको थियो ।

कार्यक्रममा महाकविकी भान्जी कमला उप्रेती, अनेसास क्यानडाका संस्थापक सुरेन्द्र उप्रेती, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, कविहरू कृष्ण बाउसे, शिव अधिकारी, प्रद्युम्न जोशी, गीतकार सुवासचन्द्र ढुङ्गेल, गीतकार शिला पन्त, पत्रकार टीकाराम यात्री, कथाकार विक्रमभक्त जोशी, हरिश कल्पित, राज रजक, मिसन अधिकारी, मेधा उप्रेती, सुधीर नाथ उप्रेती र सपना उप्रेती लगायतको उपस्थिती रहेको कार्यक्रमको सन्चालन भैरवी भूगोलले गर्नुभएको थियो ।