नेपालमा निम्बार्कीहरूको बलियो उपस्थितिका कारक प्रथम नेपालीगुरू भगवत् शरणजीलाई (स्व. २०३६) स्मरण नगर्ने हो भने नेपालमा निम्बार्क सम्प्रदाय र तिनका अनुयायीहरूप्रति अन्याय हुने छ । यस अर्थमा, भगवत् शरणजी निम्बार्क सम्प्रदायका नेपाली संस्थापक (first man) हुन् ।
✍ डा. गोविन्दशरण उपाध्याय

निम्वार्क सम्प्रदायका विनम्र अनुयायीहरूले निम्वार्क सम्प्रदायका प्रमुख संस्थापक हंस भगवानलाई माने पनि असलमा आचार्य निम्बार्क नै निम्बार्क सम्प्रदायका संस्थापक हुन् । आचार्य शङ्करले आरम्भ गरेको अद्वैतवाद बाहेक रामानुज, निम्वार्क, मध्व, बल्लभ तथा चैतन्यबाट आरम्भ भएका वैष्णव सम्प्रदायहरूको नामले नै तिनका संस्थापकको भौतिक उपस्थिति प्रमाणित गर्छ । यद्यपि धेरैजसो आचार्यहरूले विनम्रताका कारण आफ्नो सिद्धान्तको जस आफ्ना पूर्ववर्ती आचार्यहरूलाई दिएका छन् ।
हरेक वर्ष कार्तिक पूर्णिमाका दिन आचार्य निम्बार्कको जन्मजयन्ति मनाउने गरिन्छ । परम्परागत निम्बार्कीहरूले आचार्य निम्बार्कको यस पटक ५०२०औं जन्मजयन्ति मनाउँदै छन् भने दर्शनशास्त्रका इतिहासकारहरूले भने आचार्य निम्बार्कको समय १२औँ शताब्दिको अन्त्यतिर भएको जिकिर गरेका छन् । यी दुवै कुरामा एउटा समानता छ- आचार्य निम्बार्क भौतिक व्यक्ति थिए र उनले राधाकृष्णको भक्तिलाई प्रमुख बनाएर द्वैतद्वैतवाद नामक दार्शनिक सिद्धान्त प्रतिपादन गरेका थिए ।
एउटा दर्शनशास्त्रको विद्यार्थीका रूपमा पङ्क्तिकारले दार्शनिक सिद्धान्तहरूको आधुनिक उपयोगिताको तत्थ्य केलाउँदा निम्बार्कले निर्माण गरेको द्वैतद्वैतवाद बढी व्यावहारिक लाग्छ । एउटा तत्व नै परमात्मा, जीव र जडजगतका रूपमा प्रत्यक्षको विषय बनिरहेको छ । जीव र जगत् परमात्मामा आश्रित छन् तर यिनको स्वतन्त्रता परमात्मासँग जोडिएको छ । असलमा, यी तीनैवटा तत्वहरू जीवजगतको दृष्टिकोणले मनन गर्दा त्रि-सत्तात्मक छ भने परमात्माका दृष्टिकोणले प्रज्ञापित गर्दा अद्वैत छ । यसरी सत्ता द्वैतअद्वैतमय छ ।
‘सत्ता वा परमतत्वलाई अद्वैत, एक, द्वैत वा अनेको सीमाभित्र बाँध्न सकिन्न’- आचार्य निम्बार्कको यो अभिमत वर्तमान विश्वका समस्याहरूको दीगो समाधानका लागि साँच्चिकै उपयोगी छन् । व्यक्ति व्यक्तिगत परिचय (Identity) राखेर परमतत्वसँग तदात्मकताको अंगका रूपमा स्थापित हुनु महत्वपूर्ण हुन्छ । एकमा बहुलता र बहुलतामा एकताको यस्तो अप्रतिम सिद्धान्त अन्य कुनै आचार्यहरूले प्रस्तुत गरेका छैनन् । अन्य दार्शनिक अभिमतहरू एकल वा द्वी-फक्लेटे छन् ।
नेपालमा पनि निम्बार्कका अनुयायीहरूको लगभग २ लाख ५० हजारको संख्यामा उपस्थिति रहेको अनुमान गरिन्छ । निम्बार्कहरूको पूर्वदेखि पश्चिमसम्म भौतिक उपस्थिति देखिन्छ र राधाकृष्णका मन्दिरहरू, गुरूकुलहरूआदि संचालन गरेको तथा विभिन्न सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा संलग्न रहेको देखिन्छ ।
आधुनिक भारतको उदय (सन् १९४७) पूर्व नै नेपालमा निम्बार्क सम्प्रदायका अनुयायीहरूको गहिरो उपस्थिति प्रमाणित गर्नका लागि भारतीय राजस्थान राज्यको अजमेर जिल्लामा रहेक निम्बार्क आचार्यका पीठधीशहरूले काली गण्डकीमा मात्र पाइने शालीग्रामलाई निम्बार्क सम्प्रदायको प्रमुख आराध्य सर्वेश्वर भागवानका रूपमा पूजाआजा गर्दै आएकोले सिद्ध हुन्छ । उपरोक्त सर्वेश्वर (शालीग्राम) सत्ययुगमा उत्पन्न भएका ब्रह्माका मानसपुत्र सनकादि ऋषिहरूले पूजा गरेको र त्यसै आचार्य परम्पराबाट नै वर्तमान आचार्यले सेवा गरिरहेको मानिन्छ । निम्बार्कीहरू बाहेक प्रमुख आराध्यका रूपमा शालीग्रामको सेवा गर्ने अन्य कुनै आचार्य छैनन् ।
नेपालमा निम्बार्क सम्प्रदायको पहिलो आगमनको तिथिमिति र व्यक्तिबारे कुनै आधिकारिक जानकारी छैन । लिखित र भौतिक व्यक्तिको कुरा गर्दा पश्चिम नेपालको स्याङ्जा जिल्लामा वि.सं. १०६० तिर जम्मिएर भारतको वृन्दावनका हरिप्रिया शरणजीबाट निम्बार्क सम्प्रदायमा दीक्षित भई सन् नेपाल फर्किएर स्याङ्जाकै केलादीघाटलाई आफ्नो साधनाको केन्द्र बनाएर निम्बार्क सम्प्रदायको आधिकारिक आश्रम कायम गरी निम्बार्क सम्प्रदायको प्रथम नेपाली गुरूका रूपमा निम्बार्क सम्प्रदायको आधिकारिक दीक्षा दिने पहिलो व्यक्ति नेपाल भूषण भगवत् शरण (भवानीशङ्कर सिग्देल) नै भएको तत्थ्य निर्विवादित छ । यदि भगवत् शरण बाहेक कसैले आफूलाई नेपालमा पुरोधाका रूपमा प्रस्तुत गर्छ भने छल हो । असलमा, ठ्याक्कै तिथिमिति थाहा नभए पनि भवानीशङ्करले नै वि.स. १९९० ताकातिर नेपालमा निम्बार्क सम्प्रदायको जग बसालेको मान्न सकिन्छ ।
त्यसपछि नेपालमा नै रहेर निम्बार्क सम्प्रदायलाई आफ्नो आध्यात्मिक मार्ग बनाउनेहरू र सोही सम्प्रदायमा दीक्षित गर्ने गुरूहरूमा ओखलढुंगाका राधिका दास, केलादीका भगवत्शरणका शिष्य धरणी धर, तुलसीशरण, गोपालशरण, माधवशरण, रुक्मिणीशरण प्रमुख रहेका छन् । यसैगरी नेपालमा विभिन्न ठाउँमा मन्दिर वा आश्रम बनाएर भारत वा नेपालका स्वनामधन्य निम्बार्की गुरूहरूबाट दीक्षा प्राप्त गर्ने र निम्बार्क सम्प्रदायको शिक्षा अगाडी बढाउनेहरूमा लक्ष्मीशरण (पर्वत) जगन्नाथशरण, केशवशरण, खेमराज केशवशरण तथा आजभोलि चाहिँ प्रा, हरिशरण, प्रा. मुकुन्दशरण, नेपाली प्रथम जगद्गुरूका रूपमा चर्चित बालसन्त मोहनशरण, भारतको वृन्दावनमा रहेर विश्वभरि निम्बार्क सम्प्रदायको प्रचारप्रसार गर्ने गोपालशरण र उहाँका नेपाली शिष्यहरूमा नन्दकिशोर भारद्वाजआदि गौसेवाका माध्यमबाट प्रसिद्ध छन् ।
नेपालमा निम्बार्कीहरूको राम्रो उपस्थिति छ । नेपालका सबैजसो प्रमुख शहरहरूमा निम्बार्कीहरूले स्वेकीय उपासना पद्द्यतिको अवलम्बन गर्दै श्रीराधाकृष्णको उपासना गरिरहेका छन् । अनेकौँ आश्रम, गुरुकुल तथा अन्य मध्यमहरूबाट वैदिक सनातन धर्मको निरन्तरता सुनिश्चित गरिरहेका छन् । नेपालमा निम्बार्कीहरूको बलियो उपस्थितिका कारक प्रथम नेपालीगुरू भगवत् शरणजीलाई (स्व. २०३६) स्मरण नगर्ने हो भने नेपालमा निम्बार्क सम्प्रदाय र तिनका अनुयायीहरूप्रति अन्याय हुने छ । यस अर्थमा, भगवत् शरणजी निम्बार्क सम्प्रदायका नेपाली संस्थापक (first man) हुन् ।
सुदर्शनका प्रत्यक्ष अवतार आचार्य निम्बार्कको जन्मजयन्तिका अवसरमा सबैलाई हार्दिक शुभकामना !
प्रतिक्रिया