‘सुन्नुहोला यो मेरो देशको पनि बिन्ति’

‘सुन्नुहोला यो मेरो देशको पनि बिन्ति’


मैले टेक्दा यो मेरो धर्ती मुसुक्क हाँसी दियोस् !
मैले भेट्दा त्यो मेरो हिमाल झलमलै देखियोस् !!
धर्तीको माटो नदी र नाला देशको धन सम्पत्ति !
मैले छुँदा यो मेरो बाटो खुशी भै मुस्काओस् !!

■■

मैले देख्दा यो मेरो मुलुक अनन्त समुन्नत होस् !
उद्योग धन्दा कलकारखाना प्रशस्त अब खुलोस् !!
मेरो माटो र यसको पाटो अति नै उर्वर बनोस् !
कृषिमा क्रान्ति गरेर मुलुक समृद्धशाली बनोस् !!

■■

सानो र सुन्दर यो मेरो देश धर्तीको सुन्दर टुक्रो !
विशाल हिमाल धर्तीमा विश्वकै अग्लो थुम्को !!
मेरो देश हिमाल पहाड़ तराईको संगम बुझौँ !
हिउँमा यार्सा ,जलको खेती, अन्न, धन्न रोपौँ !!

■■

नेपाली नेपालमा स्वतंत्र बनेर हाँस्न सँधै पाउन् !
काम गरी खाने लाखौँ मार्ग पनि पहिल्याउन् !!
पढ्न र लेख्न सर्वसुलभ शिक्षालय खुलुन् !
सुरक्षाका सबै आधारहरु देशका कानुन बनुन् !!

■■

कला र संस्कृति यो मेरो देशमा समुन्नत रहोस् !
कर्मचारी, पुलिस, प्रशासन सेना नि सक्रिय होस् !!
प्रकृति सुन्दर स्वच्छ र हराभरा नै बनि रहोस् !
नेपाली नेपाली माझमा भाइचारा खुब बढोस् !!

■■