✍ रुपा पौडेल शाम्भवी
मेरो शरीर किनेर
उपभोग गर्ने उनी
म वेश्या कहलिएँ
उनी आदर्श पुरुष ।
आदर्शवादी समाजको
खोक्रो आदर्शभित्र
परिभाषित मजस्ता वेश्याहरुको
बाध्यता र पीडा
पढ्न नसक्नेहरुले
बहिष्कार गरेको मेरो अस्तित्व
म चरित्रहीन कहलिएँ
उनी आदर्श पुरुष ।
जब–जब म हेर्छु
आफैलाई ऐनामा
ठोकिन्छन् आफ्नै अनुहारमा
समाजका प्रतिबिम्बहरु,
लुछ्न मनलाग्छ
चिथोर्न मनलाग्छ
ती नकावधारीहरुलाई
मुखौटो भित्रको मुखौटो चिरेर ।
खुलेआम घुमिरहेका छन्
भोकाएका गिद्दहरु चारैतिर
उनका भोकसँग साटिएका
मेरा बाध्यताहरु
उनका रहरसँग साटिएका
मेरा आँशुहरु
आफैसँग बिथोलिएका मेरा सपनाहरु
पल–पल चिथोरिन्छ
पल–पल मर्छ
गिद्दहरुको पन्जाले लुछेको मेरो शरीर ।
पैसासँगको सम्झौतालाई
स्विकार्न बाध्य म
सोच्दै होलाउ
पैसाले के किन्दैन भनेर ?
तर महोदय,
किन्यौ होला मेरो शरीर ?
आत्मा किन्न सक्यौ र ?
किन्यौ होला भोगका केही पल ?
जिन्दगी किन्न सक्यौ र ?
मैले बेचेका भोगका केही पल किनेर
आफूलाई शान्त पार्नेहरु
पल–पल म अशान्त रहेको
कसले देख्यो र ?
म बिक्रेता भएँ
मेरो बाध्यताको
तिमी क्रेता भयौ
तिम्रो रहरको
तर म चरित्रहीन कहलिएँ
तिमी आदर्श पुरुष कहलियौ
यही समाजको
प्रतिक्रिया