✍ श्याम लम्साल
कहीँ आफ्ना भएका भए
एउटा साथी हुन्थ्यो बोल्ने,
यो धरामा
कहीँ आफ्ना भएका भए
गाँस माग्न हुन्थ्यो खाने,
बास माग्न हुन्थ्यो बस्ने,
कोही न कोही आफ्ना भएका भए
बिसाउन हुन्थ्यो मनका वह,
दुःखका भारी,
कोही न कोही, केही न केही
आफ्ना भइदिएका भए
मन बुझाउने ठाउँ हुन्थ्यो
कोही छ मेरो पनि भन्ने,
कोही न कोही, केही न केही
आफ्नो नभइदिएका बेला
राज्य आफ्नो भइदिएको भए
अभिभावकत्वको ओत लाग्ने आश्रय हुन्थ्यो ।
- दिङ्गला, भोजपुर
प्रतिक्रिया