✍ श्यामकृष्ण लम्साल
नीति बुझ्नू भन्छ
ऋषि पुज्नू भन्छ
एक्लो वृहस्पति
दिङ्गलाको काजी
नेपालवाद भन्छ !
नेपाल/नेपालीको हितको कुरा गर्छ,
आफ्नै खुट्टामा उभिएर
आफ्नै पौरखमा बाँच्नू भन्छ,
त्यसैले होला ऊ एक्लै छ,
पराधीन र परजिवीहरुको बथानमा
ऊ अलग्गै र अग्लै पनि छ,
र त्यसैले त
ऊ एक्लो वृहस्पति भएको छ,
नीति बुझ्नू भन्छ
ऋषि पुज्नू भन्छ
एक्लो वृहस्पति
दिङ्गलाको काजी
नेपालवाद भन्छ !
भुँडी र भुँडीहरु पाल्ने जमातमा
ऊ सिमको किलोझैँ
लिरिक-लिरिक हल्लिन मान्दैन,
जे हो, त्यही भन्छ,
जे सही, त्यही गर्छ,
देश र दुनियाँको उदाहरण दिँदै
ज्यान पाल्न र
धनार्जनार्थ राजनीति नगरिनू भन्छ,
नेपालको नेतृत्व नेपाली विचार बोकेर
नेपालै बुझेको हुनुपर्छ भन्दै
अपाङ्गहरुको भीडमा एक्का बनेपनि
आफैँ योग्य हुनुपर्छ भन्छ,
बनाइएको होइन
आफैं बन्नुपर्छ भन्छ,
आफ्नो स्वार्थका लागि
अरुलाई बली नचढाइ
निष्ठाका लागि आफैँ बली चढ्छ,
ऊ मो.चा. अर्थात् दाह्रीबूढो
नेता भनेको मार्गप्रदर्शक हो भन्छ,
दिङ्गलाको काजी
असत्यको क्षणिक विजय हुन्छ भन्छ,
नीति बुझ्नू भन्छ
ऋषि पुज्नू भन्छ
एक्लो वृहस्पति
साङ्राङ्को काजी
नेपालवाद भन्छ ।
पढेर मात्रै होइन,
परेर जानिन्छ भन्छ,
राष्ट्रसेवा/जनसेवा भन्छ,
हठी अवतारी
दाह्रीबूढोजस्तै
उसको दर्शनमा
गुण र कर्मका हिसाबले विभेद हुन्छ,
वर्ग अलग हुन्छ,
नीति बुझ्नू भन्छ
ऋषि पुझ्नू भन्छ
दिङ्गलाको काजी,
एक्लो वृहस्पति,
नेपालवाद भन्छ ।
- दिङ्गला, भोजपुर
प्रतिक्रिया