धार्मिकक्षेत्र बन्दै सेती बगर

धार्मिकक्षेत्र बन्दै सेती बगर


पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटमा १०८ धारासहतिको शिव मन्दिरको शिलान्यास गरिएको छ । देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दिर सन्यास आश्रमधामका पीठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराजजीले एक कार्यक्रमका बीच मन्दिरको शिलान्यास गरेका हुन् ।

दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार घाटमा शिव मन्दिरको शिलन्यास गरिएको हो । उक्त घाटमा यस पहिले शवदाहस्थल व्यवस्थित गर्न मलामीको लागि विश्राम स्थल, अन्त्यष्टिका लागि आवश्यक दाउदा र दाउदा राख्ने गोदामघर निर्माण, बृक्षारोपण र तारबार लगाइएको थियो ।

मन्दिरको शिलान्यास गर्दै धर्मगुरु गिरीले सेती नदिको किनारमा बगरको रुपमा रहेको सार्वजनिक जमिन पवित्र धार्मिक क्षेत्रका लागि उपयुक्त स्थल रहेको बताए । उनले वैदिक, सनातनी र हिन्दूको संरक्षणका लागि पाठशाला संचालन गर्न पनि सुझाव दिए ।

मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै उद्योगी कृष्णप्रसाद आचार्यले धार्मिक स्थलको संरक्षण र सम्वर्द्धद्धनमा स्थानीयले अग्रसरता लिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्दिर निर्माणमा ५ लाख रुपैया सहयोग गर्ने वचन पनि दिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य सीता विकले धार्मिक स्थालको रुपमा विकास गर्ने समितिको योजनमा साथ–सहयोग रहेको र जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बचन दिइन् ।

मन्दिर निर्माणका लागि पोखरा–२१ घर भइ हाल अमेरिका रहेका गोपाल रायमाझीले ५० हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनले यसपहिले पनि सोही स्थनाको संरक्षण र विकासका लागि १ लाख ५९ हजार रुपैयाँ दिएको र थप ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।

यस्तै अमेरिका बस्ने वसन्त रायमाझीले २६ हजार ६ सय, अष्ट्रेलिया बस्ने सोनिया रायमाझीले ३५ हजार, टेकनाथ भण्डारीले २५ हजार, काठमाडौ घर भइ हाल अमेरिकामा बस्ने सिता थापाले १३ हजार ३ सय आर्थिक सहयोग गरेको समितिका सल्लाहकार मोती गिरीले जानकारी दिए ।

मन्दिर निर्माणका लागि गोप्य दान साथै आमा समूह, टोल विकास संस्था लगायतका संघ संस्थाबाट समेत आर्थिक सहयोग प्राप्त भएको समितले जनाएको छ ।

कार्यक्रममा समितिका उपाध्यक्ष नेत्रलाल भण्डारीको स्वागत सचिव रमादेवी आचार्यले संचालन गरेकी थिइन् ।
मन्दिर शिलान्यास पहिले सेती नदि पुलदेखी घाटसम्म बाजागाजासहित कलस यात्रा निकालिएको थियो । कलय यात्रामा आमासमूह र स्थानीयहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

सेती नदीको कटानबाट बचेको एक सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने भएकाले स्थानीयको सक्रियतामा मन्दिर निर्माण थालिएको अध्यक्ष रायमाझीले बताए । उक्त क्षेत्रलाई गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए । मन्दिर, आवास भवन निर्माण गर्ने ठुलाएकादशी र शिवरात्रिमा मेला लगाउने समितिको योजना छ ।