एन.डी. प्रकाश चटौतको नामबाट धनगढी विमानस्थलको नामाकरण गर्ने देउवाको प्रतिवद्धता

एन.डी. प्रकाश चटौतको नामबाट धनगढी विमानस्थलको नामाकरण गर्ने देउवाको प्रतिवद्धता


नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी विमानस्थलको नामाकरण काङग्रेसका दिवंगत नेता एन.डी. प्रकाश चटौतको नाममा गर्न पहल गर्ने बताउनुभएको छ । एन.डी. प्रकाश (नारायणीदत्त चटौत)को ९५औं जन्मजयन्तिको अवसरमा प्रकाशित ‘एन.डी. प्रकाश र उहाँका डायरी’ नामक पुस्तको विमोचन कार्यक्रममा सभापति देउवाले सो प्रतिवद्धता जनाउनुभएको हो ।

एन.डी.को नाममा धनगढी विमानस्थलको नामाकरण गर्न वरिष्ठ पत्रकार हरिहर बिरहीद्वारा राखिएको प्रस्तावप्रति सहमति जनाउँदै सभापति देउवाले भन्नुभयो- ‘यसका लागि सरकारसँग पहल गर्नेछु, तत्काल भएन भने पनि म प्रधानमन्त्री भएको बेला यो निर्णय गर्नेछु ।’

प्रजातन्त्रका लागि जीवन समर्पण गरेका एन. डी. प्रकाश चटौत (वि.सं. १९८७-२०१४) १८/१९ वर्षको उमेरमै आफ्नो पढाइ, भविष्य, र परिवारको वास्ता नगरी २००६/०७ सालमा प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएको थियो । २००७ सालको क्रान्तिताका प्रहरी दमन तथा धरपकडबाट बच्दै उहाँले जनतालाई सङ्गठित गरेर परासीमा क्रान्तिको नेतृत्व गर्नुभएको थियो । भर्खर स्थापना भएको नेपाली काङ्ग्रेसलाई औंला समातेर डोऱ्याउनुपर्ने त्यस समयमा एनडी चटौतले पार्टीको सङ्गठन विकासका लागि निर्वाह गरेको भूमिका उच्च कोटीको थियो । बीपी कोइरालाले उहाँलाई पार्टीका लागि अपरिहार्य पात्र ठानेर नै केन्द्रिय सदस्यको जिम्मेवारी दिनुभएको थियो । नेपालका तत्कालिन राजा त्रिभुवनदेखि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुसम्मको दृष्टिमा समेत ‘महत्वपूर्ण व्यक्ति’को रूपमा उचाइ बनाएका युवा एनडीको दुर्भाग्यवश २६ वर्षकै उमेरमा निधन भएको थियो ।

यस्ता ऐतिहासिक व्यक्तित्वद्वारा दैनन्दिन आफ्नै हस्तलिपीमा टिपिएका दैनिकीलाई डा. भुवनेश्वरीदत्त चटौतले सङ्कलन गरी श्रीमती मञ्जुदेवी चटौतले प्रकाशन गर्नुभएको पुस्तक ‘एन.डी. प्रकाश र उहाँका डायरी’ मंगलबार राजधानीमा विमोचन गरिएको हो । सात सय पृष्ठको अति नै गहकिलो र स्तरीय पुस्तक प्रकाशनमा ल्याउन वरिष्ठ पत्रकार हरिहर बिरही, भरत कोइराला, श्याम अधिकारी, हरि मञ्जुश्रीको अहम् भूमिका रहेको विमोचनका क्रममा बताइयो ।

ऐतिहासिक महत्वको दस्तावेज बन्न सक्ने सो पुस्तकको विमोचन समारोहमा प्रमुख अतिथि रहनुभएको शेरबहादुर देउवाका अलावा वरिष्ठ पत्रकार हरिहर बिरही, इतिहासकारद्वय रमेश ढुङ्गेल र राजेश गौतम, पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेताद्वय तारिणीदत्त चटौत र एनपी साउदले स्वर्गीय एनडी चटौतको ऐतिहासिक कर्म र जीवनीबारे प्रकाश पारेका थिए । गौशालास्थित होटल क्रिष्टल पशुपतिमा आयोजित उक्त कार्यक्रममा भरत कोइरालाले स्वागत मन्तव्य दिएका थिए भने अनिता बिन्दुले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।