धाक !

धाक !


‘हैन… कुरा पनि पत्याउने गर्नुपर्छ के मान्छेले ! जे मन लाग्यो त्यही भन्ने, के सम्झेको हो आफुलाई ? हामी मूर्ख हो कि क्या हो उसले भनेको कुरामा सहि थाप्दै बस्नलाई ?’

श्रीमती एक्लै फत्फताउँदै छिरिन् कोठामा । एकछिनअगाडि फोनमा कोसँग कुरा गर्दै गरेको देखेको थिए अहिले यसरी फत्फताउन थालेको देख्दा ‘के भएछ’ भन्ने कौतुहलता जाग्यो मनमा । सोधेँ उनलाई- ‘हैन के भयो ? कसले के भन्यो ?’ एउटा अचम्मको अनुहार बनाउँदै उत्तेजित स्वरमा कराउन थालिन् उनी, ‘त्यो सरिताले के भन्ठानछे आफूलाई ! धाक लगाउने पनि सिमा हुन्छ नि । मेरो कन्पाराको रौँ तातिरहेको छ त्यसको कुराले ।’

‘कस्तो धाक लगाइछ त सरिताले.. ?’ मेरो पनि जिज्ञासा बढ्यो सुन्नलाई । आवाजमा त्यही कम्पन कायम राख्दै भन्न थालिन् उनी– ‘आउँदो चुनावमा उसको बुढाले टिकट पाउने पक्का छ रे । जित्ने पनि पक्का छ रे । त्योमात्रै कहाँ हो र… मन्त्री बन्ने पनि पक्का भइसक्यो रे । त्यसपछि उ झन्डावाल मोटर चढेर सपिङ गर्न जान्छे रे । यस्तो झोक चलिरहेको छ त्यसको कुराले के भन्नु ?!’

उनको कुरा हाँस्दै सुने पनि मलाई भित्रभित्रै चिसो महसूस भइरहेको थियो । सरिताको बुढो, बिष्णु राजनीतिक यात्रामा मभन्दा कान्छो मान्छे । अहिले नै उसले कसरी टिकट पाउन लाग्यो चुनाव लड्ने ! मैले आफूलाई लाइनमा उभ्याएर राखेको यत्रो भइसक्यो, उसले कसरी लाइन उछिन्यो । म जिल्ल परेँ ! धाक लगाएकै होला भन्दै सम्झाउने प्रयत्न गरेँ आफैलाई अनि अगाडि ठिङ्ग उभिरहेकी श्रीमतीलाई भनेँ– ‘धाक लगाउनेलाई के नै गर्न सकिन्छ र ! एक कानले सुन्ने अर्कोले फाल्दिने । उसको धाकमा तिमी किन टाउको दुखाउँछौ ?’ तर यता आफ्नै टाउको दुख्न लागेको कुराचाहिँ भन्न सकिनँ मैले ।

भूमिगत हुँदादेखि चिनेको मान्छे बिष्णु । अलिक फाइँफुट्टे त हो । यति छिटै त्यो रोग आफ्नी श्रीमतीलाई पनि सारिसकेछ । भूमिगतको बेला प्रहरीको एम्बुसमा परेर पनि बाँचेको बिष्णु आफूलाई ‘तिसमार खाँ’ नै सम्झन्छ । एम्बुसको पड्काइबाट नै त्यसको दिमागी हालत बिग्रेको पनि भन्छन् कोही–कोही । पहिले त धकौडे थिएन रे, तर अहिले त उसको हरेक वाक्यमा फुर्ति र ठुलोपना सुनिन्छ । कुरैकुरामा सिंहदरबार आफ्नै घर अनि देशको प्रधानमन्त्री आफ्नै मामा भन्नु उसको थेगोजस्तै बनिसक्यो ।

उसकी श्रीमती सरिताको कुराले ठुस्कीएकी मेरी श्रीमतीको अनुहार अझैसम्म उस्तै थियो । मलाइ भने त्यो ‘धाक’को पछाडि कहीँ कुनै सत्यता त छैन भन्ने चिन्ताले सताइरहेको थियो । यसको समाधान बिष्णुसँगै छ भन्ने ठहर गर्दै म उसलाई भेट्न निस्केँ ।

टाढाबाटै देखेँ उसलाई मैले कसैसंग फोन गर्दै गरेको । नजिकै पुगेँ । उ मलाइ नमस्ते गर्दै बोल्यो, ‘ओ हो दाइ ! भर्खर प्रधानमन्त्रीसँग तपाईंकै कुरा गरिरहेको । उमेर त लामै छ ।’ म छक्क परेँ । मेरो कुरा के नै छ र प्रधानमन्त्रीसँग गर्न ? मेरो कौतुहलता मेट्दै भन्यो उसले, ‘देशलाई तपाईंजस्तो मान्छेको खाँचो छ दाइ । तपाईं राज्यमन्त्री बन्नु पऱ्यो । चुनाव नजितिकन त्यो सम्भव छैन त्यसैले प्रधानमन्त्रीलाई अब आउने चुनावमा तपाइलाई पनि टिकट दिनुपर्छ भनेर मैले सिफारिस गरेको छु ।’

हे प्रभु ! योचाहिँ धाक नभएपनि हुन्थ्यो भन्दै पुकारा गरेँ आफ्नो इष्ट देवलाई मैले । उ भन्दै थियो, ‘हामी दुई राज्यमन्त्री भएपछि सिहंदरबार र टुँडिखेल भाग लगाउनुपर्छ है !’ मैले केही छेउटुप्पो लगाउन नसकेपछि उसले मलाइ बुझायो– ‘सिंहरबारलाई एउटा अन्तरराष्ट्रिय स्तरको पाँचतारे होटेल बनाउनुपर्छ अनि टुँडिखेलमा ठुलो सपिङ कम्प्लेक्स खोल्नुपर्छ । यति गर्न सकियो भने पुस्तौँपुस्ता सम्मलाई आराम । मन्त्री नै त्यसैको लागि बन्ने हो दाइ । यसै एम्बुस र गोलीको रिस्क लिँदै भूमिगत भएको हो र ?!’

कस्तो गजबको कुरो । म अचम्मित थिएँ । यस्तो खालको विकाशको योजनाहरुबाट देशको अनुहार पनि बदलिने अनि आफ्नो सन्तान–दरसन्तानलाई खाने जोहो हुने । धाकधक्कु नै भएपनि योचाहिँ राम्रो कुरा गर्यो है विष्णुले । मेरो मनमा ख्याली पुलाउ पाक्न थाले । ‘यत्रा ठुला काम तिमीले र मैलेमात्र गर्न सकौँला र बिष्णु ?’– मैले प्रश्न तेर्स्याएँ उसलाई । उ केही समय बोलेन । मलाई इशारामा सँगै हिँड्न भन्यो । बहुतै अनुशासित शिष्यझैँ म उसको पछि–पछि हिँड्न थालेँ । एउटा अजङ्गको बिल्डिङअगाडि पुगेर बिष्णु अडियो । चोरीऔंलाले इशारा गर्दै भन्यो, ‘थाहा छ त्यहाँ के थियो पहिले ?’ मैले मुन्टो हल्लाएर आफ्नो अनभिज्ञता जताएँ । उसले भन्यो, ‘त्यहाँ एउटा ऐतिहासिक ‘हिटी’ यानी ढुंगेधारा थियो । अहिले यत्रो आलिशान घर छ । सरकारी भूमि हुने गर्थ्यो केहि समय अगाडिसम्म । अनि त्यो चौरको दायाँपट्टि बनेका घरहरु त्यही चौरलाई मिचेर बनाइएका हुन् । त्यो सार्वजनिक चौरविशेष शहरको हरियाली जोगाउन अनि केटाकेटीहरुलाई खेलकुद गर्नको लागि उत्तम स्थान थियो तर अहिले निजी सम्पत्ति भएको छ कसैको । यस्ता उदाहरण धेरै छन् । यहाँ आफूले सकेको बेला जे गरे पनि हुन्छ । गर्न सकेन भने भोलि आफैलाई पछुतो । त्यसैले तपाईंहामी मन्त्री भएपछि मैले भनेजस्तै गर्नुपर्छ ।’

म उसको दूरदर्शीताबाट कायल नभइरहन सकिनँ । आफूलाई मात्र नभइ आउने पुस्तालाई पनि सोचेर बनाएको उसको त्यो योजनामा पूर्ण समर्थन जनाउँदै मन्त्री बन्ने सपना बुन्न थालेँ मैले पनि ।

साँझ, घर फर्केपछि श्रीमतीलाई दिनभरिको बयान गर्ने हेतु बोलाएँ नजिकै । उसको ठुस्काइ अहिलेसम्म कायमै थियो । मेरो कुरा सुनेपछि मलाइ पनि ‘धकौडे’को उपमा दिँदै लागिन् भान्छातिर ।

भोलिपल्ट एकाबिहानै ससुरालीबाट फोन आयो, ‘ज्वाइँसाहेब, बधाई छ है हजुरलाई ! चुनावमा टिकट पाउने हुनुभएछ । चुनाव जितेपछि त हजुर मन्त्री हुने पक्का छ । हाम्रो पनि गरिबीका दिनहरु सुध्रिने भए अब त !’ म छक्क परेँ । कुरा कहाँबाट कहाँ पुगिसकेछ । हिजो राति नै श्रीमतीले सुनाउन भ्याइसकेकी रहिछिन् । आखिर धाक लगाउन त उनले पनि छोडिनन् नि !