पत्रकार आफै बिग्रिए कि बिगारिए ?

पत्रकार आफै बिग्रिए कि बिगारिए ?


सम्झेर बोलाएपछि जानैपर्छ भन्ने मान्यताले मन ग्रसित छ । त्यसैले सम्झेर आमन्त्रण गरेका ठाउँमा पुग्ने प्रयास निरन्तर छ र हुनेछ । शुभेच्छुकको निमन्त्रणाअनुसार पेशागत धर्म पूरा गर्ने हो । यसो भनिरहँदा भजन गाउनुपर्छ भन्ने पक्षमा छैन ।

यही दिनचर्याका क्रममा गत कात्तिक २८ गते बुधबार विर्तामोडको अतिथि सदनमा साना मझौला बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभामा पुगियो । अतिथि सदनको हलबाहिर साधारणसभामा सहभागी हुन आएका शेयर सदस्यहरूको भीड थामिनसक्नु थियो । हलबाट बाहिर निस्कने र भित्र पस्नेको बीचबाट लुसुक्क छिरेर भित्र पस्दा राष्ट्रिय सहकारी बैंक विर्तामोड शाखाका प्रमुख विवेक डाँगी सहकारी संस्था बदनाम हुनुको कारण र राम्रो बनाउनका लागि गर्न सकिने उपायबारे सुझाव राख्दै थिए । आगन्तुकको स्वागत-सम्मान, उत्कृष्ट छनौट भएकाहरूको छुटेको सम्मानपत्र वितरणका साथ कार्यक्रम अघि बढ्दै गर्दा कार्यक्रमस्थलमा प्रायः कुर्सी खाली भए । खाजा र खाममा लागेको भिड हेर्न रमाइलै थियो । हो-हल्लाका बीच बन्दसत्रमा भेला हुने समयको सूचनासँगै उद्घाटनसत्र सकियो । सहकर्मीहरू बाटो लागिसकेका थिए । कार्यक्रमका अध्यक्ष, अतिथिसहित उपस्थित दिदीबहिनीसँग केही समय बित्यो, तर त्यो सुखद रहेन । मेरो पेशामाथिको टिप्पणीले मन खिन्न भयो । माफ गर्नुहोला ! यत्तिका कुरा लेखेर प्रिय पाठकजनको व्यस्त समय खर्चनु अन्याय हो । तर, विषयप्रवेशकै लागि पनि सन्दर्भ त जोड्नैपऱ्यो ।

नेपालमा व्यवसायिक पत्रकारिताको अभ्यास प्रारम्भ भएको लगभग ३५ वर्ष पुगेको छ । त्यसअघि नेपालमा मिसन पत्रकारिता चल्यो । जुन शासन व्यवस्था, नागरिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्यमा नागरिकको पहुँच, सामाजिक न्याय स्थापनाका लागि दशकौंदेखि कलमका माध्यमबाट निरन्तर भएको एकप्रकारको आन्दोलन नै थियो । २०४६ सालअघि नै रेडियो, टेलिभिजन र पत्रपत्रिकाको स्थापना भएपनि ती सरकार नियन्त्रित थिए । सरकारको पक्षपोषण बाहेक सरकारी सञ्चारमाध्यमले जनताका आवाज बोल्न पाउँदैन थिए । त्यो अवस्थामा जनताका आवाज मुखरित गर्नका लागि कडा चुनौती मोल्दै पत्रकारिताको माध्यमबाट तत्कालीन शासन व्यवस्थाविरुद्ध आवाज मुखरित गर्ने गरिन्थ्यो ।

समग्रमा भन्नुपर्दा मिसन पत्रकारिताबाट व्यवसायिक पत्रकारितामा प्रवेश गरेको नेपाली पत्रकारिता यतिबेला पेशाका रूपमा स्थापित छ । पत्रकारिता व्यवसायिक बन्दैगर्दा पेशागत धर्म भने डग्मगाएको छ । यो वास्तविकतालाई आफ्नै पेशा हो भनेर डाकछोप गर्ने हो भने नेपालको पत्रकारिता अझ बदनामीका साथ नाङ्गिएर जाने निश्चित छ ।

सहकारीको त्यही बसाइमा एकजनाले भने- ‘पत्रकारहरू पनि के !?’ यस वाक्यले मलाई प्रतिप्रश्न गर्न बाध्य बनायो र भनेँ- ‘किन.. के भो र ?’ तुरुन्तै जवाफ आयो- ‘क्यान्सरपीडितले बसपार्कमा गरेको पत्रकार सम्मेलनमा पनि २० हजार उडाइदिएछन् ।’ कुरा त्यतिमा सकिएन- ‘२० जनाले लगेको त्यो २० हजारले एकपटक केमो लगाउन त पुग्थ्यो.. के भ’का पत्रकारहरू पनि ?!’

उनको यो भनाइले पोलिरहेको छ, मन डढिरहेको छ । साधारणसभामा शेयर सदस्य र अतिथिको रुपमा उपस्थित भएपनि यसो भन्ने दिदीबहिनी कुनै न कुनै संघसंस्थाको नेतृत्वमा रहेकै थिए । उनले अझ प्रश्नै प्रश्न तेर्स्याइन्- पत्रकारहरूलाई चैँ जहाँ, जस्तामा पनि पैसै चाहिने ? पत्रकारको चैँ सामाजिक उत्तरदायित्व हुँदैन ? हुँदा-हुँदा क्यान्सरपीडितले सहयोग जुटाउन गरेको पत्रकार सम्मेलनमा पनि पैसै चाहिने ? गोपनियताको हक सुरक्षित गर्दै नाम उल्लेख गर्नु सान्दर्भिक भएन ।

पत्रकार र सञ्चारको माध्यमबाट उपचारमा परेको समस्या सार्वजनिक गर्दा सहयोगी मनहरूबाट आर्थिक सहयोग जुट्ला कि ! भन्ने अपेक्षाले पत्रकार सम्मेलन गरिएको थियो होला । तर, पत्रकारलाई नै त्यतिका पैसा खर्चनु पर्दाको पीडा एकान, दोकान हुँदै मैदान आइपुगेको हुनुपर्छ भन्ने अनुमान लगाउन कठिन थिएन । मन अमिलो भयो । प्रश्नहरू मडारिए । यो मामिलामा पत्रकारहरूले साँच्चिकै २० हजार त के २० रुपैयाँ पनि लिएको हो भने त्यो सरासर गलत हो । पत्रकारिता पेशा हो भने पत्रकार त्यही पेशा अँगाल्ने ब्यक्ति । ऊ अर्कै ध्रुवबाट आएको प्राणी अवश्य होइन । यही समाजले हुर्काएको हो । त्यसैले समाज, परिवेशसुहाउँदो व्यवहार गर्नुपर्छ । पत्रकारिता पेशा हो, जुन उसले पछि अँगालेको । पेशागत धर्म पनि हुन्छ र छ पनि । पत्रकारिता पेशाका दृष्टिले पनि उक्त लाभग्राही जो-जो थिए उनीहरूको निकृष्टता हो । पत्रकार आचारसंहिताको धज्जी उडाइएकै हो उक्त घटनामा । तर, यसो भनिरहँदा ज-जसले आज टिप्पणी गरे उनीहरूले फेरि त्यस्तै चारो छरेर ब्यापार र विज्ञापन गर्दा भने तिनै पत्रकार सर्वोत्कृष्ट ठहरिन्छन् । दुई दशक बढीको पत्रकारिता अभ्यासका क्रममा यस्ता उदाहरणहरू प्रशस्तै छन् ।

अनुभव आफ्नै पनि । दशक अवधि नाघ्यो । एकजना शिक्षक पत्रकारले विर्तामोडको भद्रपुर रोडमा कार्यालय रहेको सञ्चारमाध्यमको तल्लोतलाको कोठामा पत्रकार सम्मेलन गराउनुभयो । ठ्याक्कै नाम/थर बिर्सिएपनि त्यसले दिएको पीडा बिर्सेको छैन । बाहुनडाँगीतिर घर भएका मिर्गौलापीडितले उपचार सहयोगका लागि खर्च जुट्ने आशामा पत्रकारलाई भेला गरेर दुःख पोखेका थिए । पत्रकार सम्मेलन सकेपछि प्रतिव्यक्ति एक हजारको नोट थमाइयो । एकछिन अलमल परेँ । यो के गरेको ? पर्दैन उपचारका लागि थप्नुस् भने । तर, आफूभन्दा अग्रजले लिएको देखेपछि र उनीहरूले पनि लिनु भनेर दोहोऱ्याइ, तेहऱ्याइ भनेपछि लिएँ । पहिलोपटक संवेदित विषयमा पैसा समाएको त्यो क्षणले अहिले पनि पोल्छ । आत्मग्लानी हुन्छ । दुई दशकको पत्रकारिता यात्रामा त्यस दिनले फेरि यस्ता कार्यक्रममा जाँदा पैसा लिनुहुँदैन भन्ने कुरामा दृढ विश्वस्त गरायो । त्यही दिनदेखि गरेको संकल्पमा अडिग छु, अडिग रहने छु ।

माथिको प्रसंग संवेदनशील विषय हो । त्यसका सन्दर्भमा माथि नै उल्लेख भइसकेको छ । तर, समग्र पत्रकारितालाई हेर्ने हो भने पत्रकारलाई गलत सावित गर्न, आफ्नो नियन्त्रणमा राख्न, आफ्नो भजनमा लगाउने कार्यमा के यो समाजको दोष छैन ? के पैसा दिएर समाचार लेखाउने र लेख्ने कार्य पत्रकारिताभित्र पर्छ ? पत्रकारिताका सीमित भजनमण्डलीलाई १०/१५ हजार दक्षिणा गरेर १०/१५ लाखको विज्ञापन रकम जोगाउने कार्यमा यहीँका व्यापारी, व्यवसायी, उद्योगी, विभिन्न पेशामा रहेकाहरू नै होइनन् ?

मिसन पत्रकारिताको मिसन पूरा भएर पत्रकारिता पेशा र व्यवसायमा परिणत भएसँगै पत्रकारितामा पेशागत धर्म, मर्यादा निरन्तर अधोगतितर्फ धकेलिएको छ । पत्रकारिता भन्दा पितकारिता, अर्थकारिता, राजनीतिकारिता, खै के-के … कारिताहरू हाबी हुँदै गएको स्पष्ट देखिन्छ । जसका कारण दशक अघिसम्म पत्रकार हुँ भन्नमा जति गर्व लाग्थ्यो आज मुख लुकाएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको छ । यसका दोषी स्वयं पत्रकारमात्रै होइनन् । यो समाजलाई हाँक्ने, यो देशलाई हाँक्ने, यो देशमा अन्य पेशा व्यवसाय गर्ने सबै दोषका भागिदार हुन् । नैतिकरूपमा आफ्नो साख बचाउन, आफ्नो अस्तित्व कायम राख्न र शिर ठाडो बनाएर हिँड्नका लागि स्वयं पत्रकार आफूले आफूलाई अर्थकारिताको सीमा नाघ्नु हुँदैन । यसो भनिरहँदा प्रश्न पत्रकार बिग्रिए कि बिगारिए ? महत्वपूर्ण कुरा छ ।

स्वाभिमानको पेशा जब सम्पत्ति आर्जन गर्ने बाटोमा प्रवेश गर्छ, तब पेशाकर्मीहरू पथभ्रष्ट हुन सक्छन् ! भनिन्छ नि ‘धन देखेपछि महादेवको तीन नेत्र !’ बचाउ गर्नुपर्दा यहाँ पनि त्यो लागु हुन्छ । तर, आफू संलग्न पेशामा देखिएका विकृतिबारे नढाँटी भन्नुपर्दा केही स्थापित र केही उदीयमानको कम मेहनत, ठूलो आकांक्षा, हल्का परिश्रमबाट सम्पत्तीमोहका कारण समग्र पेशाप्रति नै नकारात्मक प्रभाव बढ्दै गइरहेको छ भने जिम्मेवारी के ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । जसका कारण इमान्दारलाई पनि एउटै टोकरीमा हालेर हेर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । जसका कारण पेशागत मर्यादाभित्रै रहेर पत्रकारिता गर्नेहरूका लागि अर्थकारिता गर्नेहरू चुनौती बनेका छन् ।

‘अर्थकारिता’का कारण आज मिडियाहाउस सङ्कटमा पुगेका छन् । किनकि, पत्रकारलाई दुई/चार हजारको चारो छरेर २/४ करोडको व्यवसाय गर्ने कार्यले न पत्रकार सधैं तपाईंको आफ्नो हुन्छ न त मिडियाहाउस मजबुत हुन्छ, न समाजले सही सूचना नै पाउँछ ! तसर्थ, बिराएको बाटो समाएर पैसा दिएर समाचार लेखाउने कार्य बन्द गर्ने प्रण गरौँ । जसले पैसा माग्छ- माग गरेको रकम र नाम सार्वजनिक गरौँ त.. ! कुनै पनि कुरा बिग्रियो भने त्यसलाई सुधार्न वा सपार्नका लागि एकपटक सबै कठोर भएर लाग्ने हो भने बाटो बिराएकाहरू फर्केर सही मार्ग समाउन बाध्य हुनेछन् ।