शान्ति-अहिंसा प्रार्थनार्थ ‘लामा’हरु डेढ महिना गुफा बस्ने

शान्ति-अहिंसा प्रार्थनार्थ ‘लामा’हरु डेढ महिना गुफा बस्ने


काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-५ तालढुङ्गामा बौद्ध धर्मालम्बी ‘लामा’हरु गुफा (कुन्छाम्) बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा यही मङ्सिर २६ गतेदेखि करिव तीन सय लामाहरु गुफा बस्न लागेका हुन् ।

विषेशगरी शान्ति र अहिंसा प्रार्थनाका लागि लामाहरु डेढ महिना गुफा बस्न लागेको घेदुङले जनाएको छ । गुफा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट लामा आउनुहुने घेदुङका अध्यक्ष वीरबहादुर वाईवा बताउनुभयो । उहाँका अनुसार ताल्ढुङ्गामा मङ्सिर २६ गते गुफा कार्यक्रमअन्तर्गत उद्घाटन भएसँगै भोलिपल्ट लामागुरू खेन्पो सेराप ग्याल्छेनबाट ‘थुन’ सुरु हुने छ ।

शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा साँस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुद्धिष्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षित गरिने जनाइएको छ । यस्तै गुफामा अहिंसा र शान्तिमा योगदान पुऱ्याउनुका साथै बौद्ध धर्म, कला-सँस्कृतिको संरक्षण, सम्बर्द्धन र विकाससँगै समस्त लामाको हक-हीत, भाषा, लिपी, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो, एकरुपता र सरल पार्ने विषयमा बृहत छलफल हुने जनाइएको छ ।

‘तामाङ समाजमा पछिल्ला समय ‘लामा’ कम हुँदै गएकाले कुन्साम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, अध्यक्ष वाइवाले भन्नुभयो । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार खानीखोलालाई धार्मिक–पर्यटनको रुपमा विकास गर्नसमेत गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको छ ।