(ब्यङ्ग्योक्ति)
पुच्छर माग्ने लहडको चक्र कोग्ल्याँटो, उखान अंकल र राष्ट्रिय ऐंजेरुकै वरिपरि घुमेको देखिन्छ अनि यो पुच्छर मागकर्ताको मागलाई कार्यकर्ता नामका भेडा जमातले ताली बजाएर अनुमोदन गर्दैछन् ! घर लथालिङ्ग भएको कुनै चिन्ता छैन उनीहरूलाई !
✍ ज्ञानमणि भुर्तेल
सुदूरपश्चिमको दुर्गम गाउँमा एक दम्पती बस्ने गर्दथे । तिथिमिति गडबड भएको दिन ती दम्पतीलाई पुत्रलाभ भो । जन्मिदा उल्टो जन्मेको र अलिक कोग्ल्याँटो देखिए तापनि चिनीको लड्डु बाङ्गो भएपनि गुलियो नै हुन्छ भन्ने मान्यता पछ्याउँदै आफ्नो हैसियतअनुसार न्वारानका दिन छिमेकी बोलाएर कोदोको ‘रोटा’ तरकारी ख्वाएर खुसी मनाए !
परम्परागत चलनअनुसार चिनाटिपन बनाउने क्रममा ज्योतिष बाजे बच्चातिर हेर्दै केहिबेर टोलाए अनि सुस्तरी बोले- केटोमा राजयोग छ ! सँगसँगै मुल परेको घडीपलाले भेटेको हुनाले मुल्याहा निस्किने सम्भावना पनि उत्तिकै छ ! यो त भष्मासुरको अर्को रूप हुने भो ! दम्पती आत्तिए !! केही उपाय छैन गुरु ? जवाफमा गुरु बोले- यो आफैंमा मुल परेको कोग्ल्याँटो छ ! पछि यसकी स्वास्नी झनै खतरनाक फेलापर्ने योग देखिन्छ ! भरसक यसलाई बिहे गर्न नदिनु ! बिहे भयो भने यसकी स्वास्नीले यसलाई सक्छे ! स्वास्नीबाट जोगियो भने केटो कामलाग्ने नै त नभनौँ ‘कामचलाउ’सम्म चैँ हुनसक्छ ! ज्योतिषीको भविष्यवाणीले दम्पती चिन्तित देखिए ! जेजस्तो भएपनी आफ्नो सन्तान कसैले पनि त्याग्न नसक्ने कटुसत्यले उनिहरूलाई छोड्ने कुरै थिएन !
कोग्ल्याँटो हुर्किंदै गएसँगै स्थानीय प्राथमिक स्कुलमा पढ्न पठाइयो । उत्तारित हुँदै भएपनि कोग्ल्याँटो एसएलसी दिने भयो ! अहिलेका राजनैतिक दलले बुथ क्याप्चर गरेझैँ गाउँको सेन्टर क्याप्चर गरेर परिक्षा दिँदा पनि क्योग्ल्याटो गान्धी डिभिजनभन्दा माथि उक्लिन सकेन ! दम्पतीले आफ्नो सन्तान कोग्ल्याँटै भएपनि दुःख-सुख प्राथमिक तह पार गराएपछि कलेजका लागि लाचारी प्रकट गर्दै हल्दारको जागिर खान गरेको आग्रह उसको काठमाडौं गएर पढ्ने जिद्दीले दरपीठ गरिदियो !
कोग्ल्याँटो बसको पछिल्लो सिटको सस्तो टिकट काटेर कोदोको रोटा टोक्दै काठमाडौ उत्रियो ! देख्दा निरीह कोग्ल्याँटोलाई सबै साथिभाइले काखी च्यापे ! कसैले जुत्ता किन्दिए कसैले लुगा अनि कसैले कलेज फि तिर्दिंदै उसको पढाई चल्दैगयो ! पञ्चायतको जगजगी भएको बेला विरोधि विद्यार्थी संगठनले नारा जुलुस गर्ने क्रममा ने.वि. संघका साथीहरूसँग मिसिएर जिन्दावाद मुर्दावाद गर्दैगर्दा केटो हरेक जुलुसमा अग्रपंक्तिमा देखिन थाल्यो ! कोग्याँटो अलि फुर्के स्वभावको थियो ! पुलिसको डण्डाबाट जोगिन केटाहरू आफू पछाडि बसेर उसैलाई अगाडि सार्दिन्थे ! उ पनि फुरुक्क पर्दै अघि लाग्थ्यो ! हेर्दाहेर्दै कोग्ल्याँटो विद्यार्थी संगठनको सानोतिनो नेतामा दरिन पुग्यो ! आफू टुच्चशिक्षाको दक्ष भएतापनि जसोतसो केटाले उच्चशिक्षाको कागज हात पऱ्यो !
कागज त हात पऱ्यो तर जागिर हात परेन ! पञ्चायतइतर राजनीति गर्ने डुकुलन्ठकलाई कसले जागिर दिने ? साथीभाइको पछि लागेर कहिले असन त कहिले भोटेबहाल गर्दै निरासाग्रस्त केटो पञ्चायती पोखरीमा पौडिन डिलमा पुगिसकेको थाहा पाएपछि किशुनजीले पढ्ने बहानामा लण्डन पठाइदिनुभएपछि केही वर्ष केटो उतै अल्मिलियो । पञ्चायतविरुद्धको ज्वाला बढ्दै गएसँगै मुलुकमा जनआन्दोलन सुरु भयो ! लाखौं युवा आन्दोलनमा होमिएर जेलभित्र कोचिएका बेला कोग्ल्याँटो मुखमा ब्रेड कोचेर वाइन निल्नमा ब्यस्त थियो ! आन्दोलन सफल भएसँगै मुलुक भित्रिएर संसदीय टिकट पाएको कोग्ल्याँटोले सुदूरपश्चिमबाट १९ मध्ये १८ जिताउने श्रेय पोल्टामा परेस्वरुप महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी समेत हातपाऱ्यो !
कोग्ल्याँटो केटो त्यसबेला सम्म बुङ्गै थियो ! बुङ्गो आफैं पालिन मुस्किल समयमा स्वास्नी ल्याउने आँट गर्ने कुरै भएन । बुङ्गालाई कसैले यत्तिकै ज्वाइँ बनाउने कुरो पनि भएन । यसैबीच जुलिया चाङले बन्दुके किशानकी छोरी टिपेर ल्याइन् ! पढ्न त कति पढेकी थिइन् कुन्नी ? सर्टिफिकेट देखेरै कोग्ल्याँटो दङ्ग ! कसैले जुत्ता कसैले मोजा कसैले के कसैले के गर्दै कोग्ल्याँटोको जोडी बाँधियो ! औंठी किन्दिएको कथा त खेमराज सेढाइँजीले बताइसक्नुभएकै छ ! चिया-समोसाको ब्यवस्थापन पनि दानदातब्यबाटै भएको जगजाहेर छ ! त्यसबेलै किशुनजीले ठट्टा गर्नुभएको थियो रे- अब केटो सकियो ! यो हाम्रो रहेन ! बन्दुके किशानको ज्वाईं भो ! अब आफू पनि सकियो घर पनि सक्ने भो !! कोग्ल्याँटोले किशानपुत्री भेट्नु र कमिलाले चिनीको बोरा भेट्नु उस्तै भो ! चिनीको बोरामा कमिलो मख्ख !!
जोडीमध्ये स्वास्नी खोरेतग्रस्त चलाख ! लोग्ने कोग्ल्याँटो भएकोले हरेक कुरामा हैकम स्वास्नीकै चल्ने ! कोग्ल्याँटो झन्-झन् पसाङ्गिदै जाँदै उनीहरूको दरिद्रताबाट भावुक भएर भगवान स्वयं उपस्थित भएर बोल्नुभो- हे ! दरिद्र दम्पती !! तिमीहरूलाई यो दरिद्रताबाट सम्पन्नतामा परिणत गर्न म आफैं उपस्थित भएको छु ! तिमिहरूलाई तीनवटा वरदान दिन्छु ! माग.., के चाहिन्छ ?
स्वास्नी आवश्यकता भन्दा चलाख ! सात सालअघि बन्दुकको नालले रैती रोप्ने अमेरिका रिटर्न डिस्को विशेषज्ञ किशानपुत्री चलाख नहुने कुरै भएन ! कोग्ल्याँटोको कानमा मुख जोड्दै साउती बोलिन्- बुढा ! तीन/तीन वटा वरदान किन चाहियो ? हामीलाई एउटै काफी हुन्छ ! बल्लतल्ल भेटेको भगवानसँग हल्का टाइमपास गरौँ न ! अन्तिममा चाहिनेजति सम्पन्नता मागौंला !! स्वास्नीको बुद्धिले चल्ने कोग्ल्याँटोले स्विकार्नुको विकल्प थिएन !
स्वास्नीले हात जोड्दै मागिन्- प्रभु ! हामीलाई ‘पुच्छर’ बक्स्योस् !
तथास्तु… बालिके !
प्रभुका कृपाले हजारौँ पुच्छर उपलब्ध भो ! दरिद्र दम्पती अत्तालिए ! यत्रो विधि पुच्छर के गर्नु ?
चलाख स्वास्नीले लोग्नेको पाखुरा चिमोट्दै नबोल्ने इसारा गर्दै प्रभुसामु याचना गरिन्- प्रभु ! पुच्छर फिर्ता लगिबक्स्योस् !
यसपटकको पुच्छर फिर्ता लैजाने याचनामा प्रभुले तथास्तु भन्दा दम्पतीको समेत पुच्छर फिर्ता हुनपुग्यो ! अब आफ्नो पुच्छरबिनाको पिछवाडा छामेर रुनुको विकल्प थिएन दम्पतिसँग ! दुईवटा बरदान त खपत भैसकेको थियो ! बाँकी एउटा छ ! आफ्नो पुच्छर समेत छैन ! बाठी स्वास्नीले पुनः याचना गरिन्- प्रभु ! हाम्रो पुच्छरचाहिँ फिर्ता बक्स्योस् ! दम्पतिको पुच्छर फिर्ता भो ! प्रभुबाट प्राप्त तीन बरदान खपत भैसकेको थियो ! चौथो थिएन ! दरिद्र दम्पतिको मजाकले उनिहरू दरिद्र नै रहे ! उनिहरूको यस्तो पुच्छर माग्ने लहडको कथा लेख्दै जाने हो भने एउटा महाकाब्य नै बन्छ !
यसरी पुच्छर माग्नेको लहरमा कोग्ल्याँटो मात्र होइन उनको लहैलहैमा कुम मिलाउनेको लहर पनि लामै छ ! प्रजातान्त्रिक आन्दोलनमा लागेबापत दर्जनौं वर्ष जेलजीवन बिताएको दाबी पेश गर्ने उखान अंकलले पनि भगवानबाट बेला-बेला प्राप्त बरदानमा पुच्छर नै मागेका छन् र अहिले पनि सोही माग दोहोऱ्याउनु सिवाय सिन्को भाँचेका छैनन् ! पुच्छर माग्दा रमाइलो पाराले माग्छन्, त्यो कलाचाहिँ उनले रामनाथ दाहालकै गोठबाट सिकेको हुनसक्छ !
पुच्छर मागकर्ताको लहरमा राजनीतिका खतरनाक खेलाडी दस वर्ष जङ्गल बसेर लुटतन्त्र मच्चाउन सफल सत्र हजारमध्ये पाँच हजार हत्याको जिम्मेवारी लिन्छु भन्ने राष्ट्रिय ऐंजेरु पनि छन् ! कुनै समय दुई तिहाइको आसनमा विराजमान हुँदासमेत पुच्छर नै मागे ! समयचक्रले बेला-बेला उच्च आसनमा पुग्दासमेत पुच्छर माग्नुसिवाय अरु विकल्प देखेनन् !
मधेसवादी दल स्वयं पुच्छर हुन्, उनीहरूको चर्चा निरर्थक छ ! केही समयअघि घण्टी बजाउँदै शहर पसेको चटके भविष्यको अर्को खतरनाक पुच्छर सावित हुने लक्षण देखिन थालिसकेको छ । नागरिक समाज नामको अर्को पुच्छरको पोको कता थुप्रेको छ ? अवस्था अज्ञात देखिन्छ !
समग्रमा पुच्छर माग्ने लहडको चक्र कोग्ल्याँटो, उखान अंकल र राष्ट्रिय ऐंजेरुकै वरिपरि घुमेको देखिन्छ अनि यो पुच्छर मागकर्ताको मागलाई कार्यकर्ता नामका भेडा जमातले ताली बजाएर अनुमोदन गर्दैछन् ! घर लथालिङ्ग भएको कुनै चिन्ता छैन उनीहरूलाई !
उखान अंकलले पनि चीनसँग पुच्छर भन्दा अरु माग्ने छैनन् !
केही बचेखुचेका जनता नामका निरीह प्राणी थाप्लोमा हात राखेर घोरिन बाध्य छन् । यो पुच्छरको माग र आपूर्तिको अन्त कहिले होला ? अन्योल छ ।
प्रतिक्रिया