सल्लाहका भेरियन्टहरू !

सल्लाहका भेरियन्टहरू !


‘एउटा सल्लाह दिन्छु, मान्छौ ?’

‘के होला त्यस्तो सल्लाह, सुनौँ न !’

‘कति खान्छौ हो त्यस्तो ताल न तुलको जागिर ? छोड्देउ । मेरो सल्लाह मान, पार्टी ज्वाइन गर । काम पनि धेरै गर्नु नपर्ने अनि ताल पऱ्यो भने जागिर भन्दा दोब्बर तेब्बर कमाइ हुने ।’

‘कामचाहिँ के गर्नु पर्ने नि ?’

‘उही त हो, उपद्रो गर्ने ! सडकदेखि सदनसम्म हल्ला गर्ने । टायर बाल्ने अनि ताकेर ढुङ्गो हान्ने । त्यो ढुङ्गोले कसैको टाउको फुटाउन सक्यो भने त बोनस पनि पाइन्छ क्या ।’

मित्रको सल्लाह सुनेर एकछिन अकमक्क परेँ म । एउटै जागिरमा अल्झेर कपाल फुलिसक्दा पनि घरको लथलिङ्ग अवस्था सुध्रिन नसक्दा, मित्रको सल्लाह मान्नुपऱ्यो कि भनेर निकैबेर घोत्लिएँ । मेरो अवस्था देखेर श्रीमती अगाडि आइन् र भन्न थालिन्, ‘के झोक्राएर बसेको बुढा ? मेरो सल्लाह मान, त्यो गाउँको खेत बेचिदेउ र आएको पैसाले जे–जे गर्नुपर्छ गरेर खाडीतिर लाग । दुई पैसा भए पनि बढी कमाइन्छ । छोराछोरीको भविष्य पनि त हेर्नु पऱ्यो । कत्ति यस्तो दरिद्र तालले बस्नु !’

उनी आफ्नो सल्लाह सुनाएर गइन्, मचाहिँ दुई हात टाउकोमा राखेर दलिन नियाल्न थालेँ । सोच्न थालेँ मनमनै, मित्रको सल्लाह मान्दा आफ्नाहरूकै टाउको फुटाल्नुपर्ने अनि श्रीमतीको सल्लाह मान्दा तिनै आफ्नाहरूलाई छाडेर एक्लिनु पर्ने ! कतातिर लाग्नु, कसको सल्लाह मान्नु ? मेरो दुविधा उन्मुलन गर्न छिमेकी आइपुग्नुभयो आफ्नै सल्लाहको भकारी बोकेर, ‘बन्धु, यस्तो दोधारमा बस्ने होइन, मेरो सल्लाह मान्नुस् र आउनुस मसँगै मिलेर व्यापार गर्न । व्यापार भनेको अपार हो । यसमा कमाइको कुनै सिमा हुँदैन । मैले पनि हिजो अरुको सल्लाह मानेको भएर आज यस्तो अवस्थामा पुगेको हो । भोलि पनि सल्लाहहरू आउँछन् र त्यसलाई पनि मानेर अगाडि बढ्ने दृढ अठोट लिएको छु ।’ छिमेकी रोकिए । म उनलाई हेरिमात्र रहेँ, केहि बोलिनँ । एकपछि अर्को गर्दै सल्लाहहरू बर्सिरहेका थिए, तर मलाई कुनै पनि सल्लाहले छुन सकिरहेको थिएन ।

अकस्मात फोनको घन्टी बज्यो । उतापट्टि आफ्नै हाकिमसाहेब रहेछन् । बम्किन थाले, ‘के हो यो तपाईंको ताल, कुनै पनि काम ठिक ढङ्गले गरेको छैन । मेरो सल्लाह मान्नुस्, दुईचार दिन घरमै बस्नुस्, आफ्नो दिमागलाइ दुरुस्त बनाउनुस् अनि अफिस आउनुस् ।’ उनले आफ्नो सल्लाह दिँदै फोन राखे ।

मेरो दिमागलाई के भएछ ? सोच्न थालेँ त्यही दिमागले । अब दिमाग दुरुस्त गर्न के पो गर्नु पर्ने हो ! असमंजसमा परेँ म । कोसँग सल्लाह माग्नु ? गुगलसँग सल्लाह माग्नुपऱ्यो भनेर कम्प्युटर खोलेँ । दिमाग दुरुस्त गर्न त शुल्क तिरेर विशेषज्ञकोमा जानुपर्ने कुरो बतायो गुगलले । सल्लाह लिन पनि शुल्क तिर्नुपर्ने ? कस्तो अचम्म !

शुल्क तिर्नुपर्ने सल्लाह सुनेपछि मलाई समय, स्थान र अवस्थाअनुसार सल्लाह पनि फरक-फरक हुने रहेछन् भन्ने कुरा यकीन भयो ।

उदाहरणहरू यत्रतत्र छरिएका पाएँ मैले, जस्तै- हिजोका सल्लाह, भोलिका सल्लाह, भित्रका सल्लाह, बाहिरका सल्लाह, मित्रका सल्लाह, पराइका सल्लाह, निःशुल्क सल्लाह, सशुल्क सल्लाह आदित्यादि ।

बुझ्दै जाँदा, खोज्दै जाँदा सल्लाहका अन्य प्रकार पनि फेला पर्न थाले । तिनैमध्ये केहीका वर्णन तल गरिएको छ ।

घुसघुसे र फुसफुसे सल्लाह – अरुको खुट्टो तान्ने प्रविधि सिकाउन प्रयोग गरिने यस्तो सल्लाह कानको नजिकै फुस्फुसाएर दिने गरिन्छ भन्छन् सल्लाहका बुझक्कडहरू । यस्तो सल्लाह कम बोल्ने तर धेरै चियोचर्चो गर्दै हिँड्ने आफ्नै वरिपरिका मान्छेहरू हुने धेरैको अनुभव छ ।

गाउँ न शहर, ठाउँ न ठहरका सल्लाह – यस्ता सल्लाहविना कारण नै आइलाग्छन् । सल्लाह दिने रोगले ग्रसित सल्लाहकारहरू दिनरात जता पायो त्यतै सल्लाह बाँड्दै हिँडेको देख्न पाइनु यस्तै सल्लाहका उदाहरणहरू हुन् । न यस्ता सल्लाहहरूको कुनै अर्थ हुन्छ न त यसलाई कतै प्रयोग गर्न नै सकिन्छ ।

अलमस्ती, बलजफ्ती सल्लाह – अलमस्ती तालकालाई बलजफ्ती दिइने सल्लाह यस वर्गमा पर्छन् । अल्छीका पारखीहरूले निकै साधना गरेर पत्ता लगाएको बलजफ्ती सल्लाहहरूले अल्छीपनामा सुधार आउने उनीहरूको राय छ । अल्छीहरूलाई अल्छीहरूकै अल्छिलाग्दो सल्लाह मनपर्ने हुनाले बलजफ्ती दिइने सल्लाहहरूले कुनै जस नपाउने सल्लाहवाजहरूको निष्कर्ष चाखलाग्दो छ ।

पियक्कड, भुलक्कड सल्लाह – रक्सीले टुन्न भएर दिमागको हावा फुस्केको बेला आइलाग्ने पियक्कड सल्लाहहरू जब नशा उत्रन्छ, भुलक्कड सल्लाहमा परिणत हुन पुग्छन् । पियक्कड सल्लाहहरू गजब–गजबका हुन्छन् । संसारमै राज गर्न सकिने सल्लाहहरू दुर्भाग्यवश नशा उत्रिन साथ भुल्न पुगिने यस्तो अलौकिक गुणले गर्दा यस्ता सल्लाहहरू रक्सीको बोतल खुल्नासाथ शुरु भएर रक्सी सकिनासाथ हराउने गर्छन् ।

थामथुमे, डाँगडुङ्गे सल्लाह – यी सल्लाहहरू एकअर्काका विरोधि सल्लाहहरू हुन् । एकथरी सल्लाहले ढुंगामुढा गर्ने विधि सिकाउँछ भने अर्कोले शान्त रहने उपाय बताउँछ । सदनमा गएर कुर्सी हानाहान गर्नु अनि त्यो दृश्यलाई कुनामा बसेर स्वयम्लाई सुरक्षित राख्न खोज्नु यस्तै सल्लाहका उपज हुन् ।

भताभुंग, लथलिङ्ग सल्लाह – यस्ता सल्लाह विशेषगरी राजनीतिक वृत्तमा आदानप्रदान हुने गरेको देखिन्छ । त्यसैले होला यसमा लाग्ने प्रायः सबैको कुनै नीति हुँदैन, नियम हुँदैन । नेतादेखि झोले सबै संधै भताभुङ्ग तालमा रजाइँ गर्छन् जनतामाथि अनि जनता संधै लथालिङ्गै रहन्छन् ।

मित्रको ‘जागिर छोडीदेउ’ भन्ने सल्लाहको लर्को, यहाँसम्म आइपुग्दा महासागरको रुप लिएर एकपछि अर्को ज्वारभाटामा फरक रुप देखाउँदै, रंग बदल्दै आफूलाई प्रस्तुत गरिरहेको छ । अनि तिनै सल्लाहहरूमा रुमल्लिएको म कहिले कसैको सल्लाह मान्न खोज्छु त कहिले आफ्नै सल्लाह अरुलाई थोपर्न खोज्छु ।

सल्लाह नै सल्लाहको यो भुमरीमा आफ्नो टाउको फिरफिरे झैँ रिङ्गाउन थाल्छ । रिङ्गाएको टाउकोलाई थामथुम पार्न उही शुल्क तिर्दै विशेषज्ञकोमा जानुपर्ने सल्लाह दोहोरिन्छ पुनः । म विकल्प खोज्न थाल्छु, तर पाउँदिनँ ।

अब तपाइँहरुकै भरोसामा बसेको छु, यस्तो एउटा सल्लाह दिनुहोस् जसले भविष्यमा अरु कुनै सल्लाह को जरुरत नपरोस् ।

धन्यवाद ।