✍ राजेन्द्रप्रसाद पाठक
जिउँदै जलाउन स्वदेशीलाई ।
कोर्दैछौ तिम्ले जनता सलाई ।।
देश बनाउने प्रणथ्यो तिम्रो ।
शेष बनाउन उन्मुखभो बलिन्द्रो ।।
फेराउना लागि जनताको भोट ।
फिरेन राज्य फेरिएछ कोट ।।
पटक पटक दियौ जनतामा चोट।
विश्वासमा रत्तिभर थिएन खोट ।।
त्यो सर्वहारा हमेसाका लागि ।
फेरि लुटियो जनताको खागी ।।
फेरिएन कैल्यै रैतीको मुहार ।
गुहार मागे किन बारम्बार ??
सपना देखाउन ढिडोगुन्द्रुक खायौ ।
अहिले तिमीले हेलिप्याड पायौ ।।
झुलेर आलिसान महलमा आज।
बन्यौ महाराज हराएछ लाज ।।
तिम्रै सिपाही तिमीलाई सुरक्षा ।
सन्तानका लागि माग्दैछौ भिक्षा ।
अटुट तिम्रो विरासत् बिराद्री ।
झस्किए रैती फर्कियो कालरात्री ।।
सामन्ती सोच जीनमा नै थियो ।
फेरिएन जीन जनवाद फेरियो ।।
थिएन जन्ती न थियो मलामी
पाएर बौरियौ श्रमको सलामी ।
त्यै हातले मट्ठी उचालीदिन्थ्यो ।
त्यै लातले बैरीलाई भकुर्थ्यो ।।
त्यै रैतीले तिमीलाई छोपेर हिँड्थे ।
रास्ता उघारी प्रेमले लपेट्थे ।।
अहिले भर विश्वास हराएछ हेर ।
आशा भरोसा त्यसै गएछ खेर ।।
रक्षा सुरक्षा सेना सिपाहीले घेरी ।
पर्नेछ तिमीलाई जनको खडेरी ।।
प्रतिक्रिया