नर्क राखिरहने कि स्वर्ग बनाउने ?

नर्क राखिरहने कि स्वर्ग बनाउने ?


-वीरेन्द्रमणि पौडेल
स्वर्ग भनेको सफा हो नर्क भनेको फोहोर । सफामा बस्नेहरू स्वर्गवासी हुन् फोहोरमा बस्नेहरू नर्कवासी । सिङ्गापुर सफा छ, सुन्दर छ । त्यहाँको सडकमा कसैले फोहोर फाल्दैन मात्रै होइन कसैले थुक्दैन र कसैले चुरोट पिएर ठुटो फ्याँक्दैन । चुरोटको ठुटो फ्याँके कानुन लाग्छ । कारबाही हुन्छ । थुकेको प्रमाणित भए जरिवाना तिराइन्छ । जापानका नागरिकहरू अति सभ्य छन् । जापानका प्रत्येक चोक, गल्ली, गाउँ, सहर सबै सफा छन् । फिनल्यान्ड त्यस्तै छ स्वर्गजस्तो । आज संसारमा जति पनि मुलुक विकसित कहलिएका छन् ती सबै सरसफाइका दृष्टिले धेरै अगाडि छन् । छिमेकी मुलुक भारतको जनसङ्ख्या एक सय १७ करोड छ । नेपालको सिमाना जोडिएको बिहार राज्यमा मात्रै १६ करोडभन्दा बढी जनसङ्ख्या छ । बिहार राज्यलाई अविकसित मानिन्थ्यो सन् २००४ सम्म । बिहार २००४ देखि नै गरिबी, पछौटेपन, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य र यातायात व्यवस्थापनजस्ता विषय सुधारमा कम्मर कसेर लाग्यो । ‘गरे के सम्भव छैन’ भन्ने उक्तिलाई बिहारले चरितार्थ गरेर देखाइदियो । आर्थिक वृद्धि दर ह्वात्तै बढ्यो, भद्रगोल शासनबाट कानुनी शासनमा रूपान्तरित हुँदै गयो । चर्पीको प्रयोग नगर्नेको सङ्ख्या करोडबाट लाखमा झरेको छ । यही गतिमा बिहारले प्रगति गर्दै गए १० वर्षको अवधि नलाग्न सक्छ बिहार सिङ्गापुर बन्न । तर, दुर्भाग्य ड्डप्राकृतिक दृष्टिकोणले संसारमा सबैभन्दा सुन्दर र पवित्र मानिएको देश नेपालका सबै सहरहरू कुरूप, दुर्गन्धित र सम्पूर्ण रूपले अव्यवस्थित बन्दै गइरहेका छन् र पनि सरकार वास्ता गर्दैन । नागरिक समाज बोल्दैन । राजनीतिक दलहरू सरसफाइलाई कहिल्यै मुद्दा बनाउँदैनन् । हेर्दाहेर्दै आज काठमाडौं सहर फोहोरको डङ्गुरले पुरिन लागेको छ । सरकारले घर निर्माण र मानवबस्ती विस्तार कार्यमा सन्तुलन ल्याउन सकेन । राज्यले दिन सक्ने सुविधाभन्दा बढी मानिसको बसोबास काठमाडौंमा भयो । बाटो बढाउन सक्ने अवस्था छैन । यातायातका साधन गुड्न मुस्किल भयो । ट्राफिक जामको समस्या समाधान नै गर्न नसक्ने स्थितिमा पुग्यो । काठमाडौंका करिब ३२ लाख मानिसलाई पिउने र अन्य कामका लागि दैनिक २८ करोड लिटर पानी चाहिने बताइएको छ जब कि यतिबेला सुन्दरीजलबाट १४ करोड लिटर मात्र उपलब्ध भएको छ । मेलम्ची खानेपानी आयोजना आज पनि अलपत्रै छ । हरेक मानवले कल्पना गर्न सक्छ पानी अभावको मानवजीवन । हरेक कोणबाट आज नेपालको राजधानी काठमाडौं नर्कमय भएको छ । सुधार्नै नसक्ने गरी बिग्रिएको छ । काठमाडौंको तुलनामा नेपालका अन्य सहरहरू नर्कको रूपमा परिणत भइसकेका छैनन् । नर्कउन्मुख भने पक्कै छन् । नर्कउन्मुख नेपालका अन्य सहरहरूमध्ये एक सहर हो यातायात सञ्चालनका दृष्टिले नेपालकै मध्यभागमा पर्ने महत्त्वपूर्ण र चर्चित सहर नारायणगढ ।
नारायणगढ दिनप्रतिदिन दुर्गन्धित, अव्यवस्थित र कुरूप बन्दै गइरहेको छ । बजार क्षेत्रको रूपमा पोखरा बसपार्कदेखि पुल्चोक, पुल्चोकदेखि सहिदचोक हुँदै लायन्सचोक, बेलचोकबाट सहिदचोक हुँदै क्षयरोग निवारण संस्थासम्मको इलाकालाई नारायणगढ बजार भन्ने गरिएको छ । बजारको बाटोमा बस, ट्रक, ट्रयाक्टर, मिनीबस, टेम्पो, मोटरसाइकल, रिक्सा, ट्याक्सी, स्कुटर, साइकल, ठेलागाडा, आइसक्रिम गाडा गुड्छन् । त्यही बाटोमा बेढङ्गे पाराले मानिस हिँड्छन् । भुसिया कुकुर र छाडा गाई, भैंसी टहलिने पनि यही बाटोमा हो । नयाँ-नयाँ घर बनाउन सक्ने हैसियतवालाहरूले बाटोको ठूलो हिस्सा ओगटेर निर्माण सामग्री थुपारेकै हुन्छन् । नाङ्लामा फलफूल बिक्री गर्नेहरूले फुटपाथ पूरै ढाकेका छन् । सडकको एकातिरको भाग ट्याक्सी पार्किङले भरिएको छ अर्कोतर्फको भाग मोटरसाइकल र ठूलो सङ्ख्याको साइकल पार्किङले ओगटेको छ । थोरै बाँकी रहेको सडकको क्षेत्रफल निरन्तर सबैखाले यातायातका साधन गुडेर ओगटिएको हुन्छ । थोत्रा तीसौँ वर्ष पुराना गाडीहरूले घ्यारघ्यार र घुरघुरको आवाजसहित धुवाँको मुस्लो फ्याँकिरहेका छन् । काठमाडौंको सडकमा गुड्दा धुवाँको मुस्लो फ्याँकेर त्यहाँको मानिसको स्वास्थ्य बिगारेको आरोप खेपेर चितवन झारिएको विक्रमटेम्पोको बाक्लो धुवाँले नारायणगढवासीको स्वच्छ अक्सिजन लिन पाउने अधिकारमाथि धावा बोलेको छ । शायद चितवनका सवारी साधन चालकले हर्नसम्बन्धी ज्ञान हासिल गरेका छैनन् । जतिखेर मन लाग्यो उतिखेर हर्न बजाउँछन् । नारायणगढ हुँदै टाँडी, पर्सर्ााभण्डारा चल्ने मिनीबसले त यति लामो समयसम्म हर्न बजाउँछन् कि हर्न बज्ने अवधि उस्तैपरे पाँच मिनेटसम्मको हुन्छ । पेसेन्जर टिप्ने होडबाजीमा अगाडिको मिनीबस धेरै बेर कुर्न चाहन्छ, पछिल्लोले अघिल्लोलाई चाँडै लखेट्न हर्न बजाउँछ । धुवाँको मुस्लोभन्दा कम हानिकारक हर्नको आवाज हुँदैन भन्ने कुरा बिचरा चालकहरूलाई थाहै छैन । चिकित्सकहरू भन्छन्- गाडीको हर्नले मस्तिष्कसम्बन्धी रोग लाग्न सक्छ । स्मरण शक्ति कमजोर हुने, रिँगटा लाग्ने, रक्तचाप बढ्ने हुन सक्छ । डरलाग्दो पक्ष त हर्नको चर्को आवाजले पाँच वर्षमुनिका बालबालिकाको मस्तिष्कलाई सीधै नकारात्मक असर पुर्‍याउँछ भने त्योभन्दा डरलाग्दो पक्ष गर्भवती महिलाको पेटमा रहेको बच्चालाई स्वास्थ्यका दृष्टिले अझै बढी खतरा हुन सक्छ । कुल मिलाएर आज नेपालको केन्द्र भागमा रहेको पुरानो नारायणगढ बजार अस्तव्यस्त र सम्पूर्ण रूपले कुरूप हुन पुगेको छ । नाङ्गो आँखाले पनि छर्लङ्ग देखिन्छ- नारायणगढ सवारी नियम मिचेर हाँकिने यातायातका साधन, अव्यवस्थित पार्किङ, नाङ्लो पसल, माझबाटोमा फ्याँकिएका कुहिएका तरकारी, नारायणगढवासीले उत्पादन गर्ने फोहोरको कारण हेर्दाहेर्दै नर्कमय हुँदै छ । नर्कमय बन्दै गएको नारायणगढ सबैले देखेका छन् । बेलैमा उपचार गरे निको हुने रोगको रूपमा छ नर्कउन्मुख नारायणगढ । तर, चासो दिने फुर्सद कसैलाई छैन । प्रधानमन्त्री हुँदा प्रचण्ड चितवनको नारायणगढ आएका थिए तर नारायणगढको दुरावस्थाको विषयमा कसैले कुरा उठाएनन् । प्रधानमन्त्री भएकै बखत माधव नेपाल पनि नारायणगढ आए । फोहोर र अस्तव्यस्त नारायणगढमै आयोजित कार्यक्रमलाई सम्बोधन गरे तर नारायणगढलाई व्यवस्थित गर्ने विषय उनीसमक्ष कसैले उठाएनन् । माओवादी र एमालेका उपल्ला नेता त नारायणगढ बेलाबखत आउँछन् नै नेपाली काङ्ग्रेसका रामचन्द्र, सुशील र शेरबहादुर पनि नारायणगढ आउँछन् । सिङ्गो राष्ट्रबारे चिन्तन गर्नुपर्ने हुँदा उपल्ला नेताले हेक्का राख्न नसक्नुलाई सामान्य मान्न मिल्ला तर नारायणगढ र आसपास बस्ने आफूलाई जिम्मेवार भन्न-भनाउन रुचाउनेहरूले नर्कउन्मुख नारायणगढलाई व्यवस्थित गर्न किन आवाज उठाउँदैनन् ? साँच्चै नेपालको मुटु, चितवनवासीको गौरव नारायणगढलाई व्यवस्थित गरी सभ्यताको परिचय दिँदै सफासुग्घरसहित स्वर्गमय बनाउने अभियानमा लागौँ भने उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर नगरपालिका र जिल्लाका राजनीतिक दलहरू हातेमालो गर्न सक्छन् । एउटा सहर नारायणगढ सुध्रिए अरू सहर विकसित हुँदै जान्छ । सबै सहर, गाउँ व्यवस्थित र विकसित हुँदै गए आजको सिङ्गापुर जसलाई सरसफाइको कोणबाट स्वर्गको रूपमा व्याख्या गरिएको छ हाम्रो सिङ्गो मुलुक नेपाल सिङ्गापुरभन्दा कुनै पनि हालतमा कम हुने छैन । अब हेर्दै जाउँ- नर्कउन्मुख नारायणगढलाई सक्नेहरूले नर्कमा परिणत हुन दिन्छन् कि सकारात्मक चासो दिएर स्वर्ग बनाउँछन् ।